संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा


सेतोखरी सेतोखरी   ३३ मिनेट अगाडि
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानमा गरिएको व्यवस्थाले नै संविधानको समीक्षा मागेको भन्दै अब पिंधमा रहेका नागरिकलाई केन्द्रमा राखेर संविधानको समीक्षा हुने जनाएको छ। संविधान दिवसको अवसरमा शुभकामना जारी गर्दै सत्ताधारी रास्वपाका सभापति रवि लामिछानेले यस्तो बताएका हुन्। 

‘हामीलाई थाहा छ, संविधान एक जीवन्त दस्तावेज हो। यसका अन्तर्वस्तु राजनीतिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा परिष्कृत हुन सक्छन्, संशोधन हुन सक्छन्। संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ। तर, अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ’ उनले भनेका छन् ‘बेथिति र कमजोरीलाई सच्याएर लोकतन्त्र र समावेशितालाई थप बलियो बनाउने गरी विवेकपूर्ण बहस गर्ने उपयुक्त दिन नै आजको दिन हो।’ 

उनले रास्वपाको मूल सिद्धान्त नै सामाजिक लोकतन्त्र भएको भन्दै संविधानले परिकल्पना गरेका मौलक हकहरू सिमान्तकृत जनताको दैनिकी बन्नसकेमात्रै संविधानको सार्थकता हुने पनि बताएका छन्। 

‘कुनै पनि देशको संविधान अक्षरहरूको सँगालो मात्र नभई, राज्य र नागरिकबीचको पवित्र करार हो। यद्यपि, नेपालको परिप्रेक्ष्यमा आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने अभिभारा अझै पूरा हुन सकेको छैन। लोकतन्त्रको स्थायित्व र संविधानको सार्थकता तब मात्र सिद्ध हुन्छ, जब यसले परिकल्पना गरेका मौलिक हकहरू सीमान्तकृत नागरिकको दैनिक यथार्थ बन्छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक लोकतन्त्रमार्फत नै नागरिकको मुहारमा खुसी र समाजमा न्याय स्थापित गर्ने अठोट गरेको छ’ उनले भनेका छन् ‘बलियो राज्य भनेको बलिया संस्था हुन्। संविधान दिवसले हामी सबै राजनीतिक शक्ति, राज्यका अङ्गहरू र आम नागरिकलाई आआफ्नो स्वार्थभन्दा माथि उठेर बलियो नेपाल निर्माणको साझा एजेन्डामा एकताबद्ध हुन प्रेरणा प्रदान गरोस्। सबैको जय होस्।’