सहयोगी हातको साथ, खोपीले जीविकोपार्जनका लागि सारथी पाए


सहयोगी हातको साथ, खोपीले जीविकोपार्जनका लागि सारथी पाए

नेपालगन्ज १४ असार : खोपीराम रानामगरको कम्मरदेखिमुनीको भाग चल्दैन । दिसापिसाब गरेको समेत थाहा पाउँदैनन उनी । श्रीमती अर्मिता रानामगरबीना उनको केही लाग्दैन । उनी जन्मजात यस्तो भएका भने होइनन् ।

विगत ११ वर्षदेखि यसरी नै उनको जीवन चलिरहेको छ । कहिले श्रीमती त कहिले ह्विलचियरको सहायतामा जीवन ब्यतित गरिरहेका खोपीरामको अनुहार मङ्गलबार फरक देखियो ।

बांगेसाल गाउँपालिका–२, प्यूठानका ३५ वर्षीय खोपीरामको अनुहार मङ्गलबार उज्यालो थियो । उज्यालो अनुहारमा केही आशाको त्यान्द्रो देख्न सकिन्थ्यो । सगैं रहेकी श्रीमती भावुक थिइन । मलिन अनुहारसंगै आँखाको डिलमा केही आँशुका अंश टिलपिल गरिरहेका थिए । खोपी र उनको श्रीमती अर्मिताको अनुहारले बयान गरेको यो भाव हो । ‘जीविकोपार्जनका लागि सारथी पाए’ भावसंगै खोपीका शब्दहरु प्रष्फुटन भए ।

गाडी चालाएर जीविकोपार्जन गरिरहेका खोपी श्रीमति र बच्चासहित सुखी र खुशी थिए । विडम्बना ११ वर्ष अघि २०६८ कात्र्तिक महिना उनका लागि कालो दिन भएर आयो । दाउरा काट्नेक्रममा रुखले च्यापिएर गम्भीर घाइते भएपछि खोपी जीवनभरका लागि अपाङ्ग बन्न पुगे ।

Kids Festival 2022
kanti aarogya hospital

कम्मरमुनिको भाग चल्दै नचल्ने भएका खोपी जीवनसंग त्यसै हार खानेमध्येका परेनन् । आर्थिक अवस्था कमजोर भएका खोपी जीविकोपार्जनका लागि कुखुरा पालन र तरकारी खेतीमा सक्रिय भए । त्यतीमात्र होइन आफूले उत्पादन गरेको कुखुरा र तरकारी ह्विलचियरमा राखेर टाढा–टाढा सम्म बिक्री गर्न थाले ।

ह्विलचियरमा कुखुरा र तरकारी बेच्दै गरेका खोपीलाई नेपालगन्जकी महिला उद्यमी बिन्दू चर्तीमगरले देखेपछि उनको अवस्थाबारे बुझिन् । सोक्रममा खोपीले आफूलाई स्कुटर आवश्यक परेको कुरा बताएपछि खोपी सहयोगार्थ अभियान सुरु भयो ।

शारीरिकरुपमा अशक्त भएकै कारण जीविकोपार्जन गर्न कष्टकर जीवन ब्यतित गरिरहेका खोपीलाई हेल्पिङ्ग ह्याण्डस् फ्रम नेपालगन्जले मङ्गलबार चारपाङ्ग्रे स्कुटर र एउटा ह्विलचियर प्रदान गरेको छ ।

‘खुसी लागेको छ’ स्कुटर केही परसम्म कुदाएर खोपीले मुस्कुराउँदै भने, ‘अब अलि केही सजिलो हुन्छ ।’

‘स्कुटर पाएसंगै ममा थप उत्साह र जोश आएको छ । सहयोगी हातहरुलाई धन्यबाद । यो उपकार जीवनभर भुल्नेछैन ।’ खोपी भन्छन्, ‘कहिले काहीँ त १०-१२ किलोमिटरसम्म पनि ह्वीलचियरमा सामान बिक्री गर्न हिँडेको छु ।’

खोपीकी श्रीमति अर्मिता पनि मुस्कुराउँदै भन्छिन्, ‘अब तरकारी बेच्न सजिलो हुन्छ । अलि टाढा–टाढासम्म ब्यापार गर्न सकिन्छ ।’

खोपीको परिवारमा बुबाआमा, श्रीमति, दुई छोरी र एक छोरा छन् । अन्य कुनै स्थायी आम्दानीको श्रोत नभएका खोपी तरकारी खेती र कुखुरा पालनबाट घर खर्च टार्ने गरेको बताउँछन् ।

स्वदेश तथा विदेशमा रहेका सहयोगी हातहरुको साथ र सहयोगले यतिबेला खोपी दम्पत्तीमा नयाँ पालुवा पलाएकोछ । जीविकोपार्जनमा खोपी परिवारलाई चारपाङ्ग्रे स्कुटर प्राप्त भएकोछ ।

स्वदेश तथा विदेशमा रहेका ५८ जना सहयोगी हातहरुमार्फत प्राप्त रकमबाट खोपीको परिवारमा मुस्कान छाएको छ । खोपीलाई सहयोग गर्ने भन्दै ती सहयोगी हातहरुबाट २ लाख १४ हजार ६ सय ६५ रुपैयाँ संकलन भयो ।

स्कुटर खरिद, स्कुटरमा सर्पोटर जडान, प्युठानबाट नेपालगन्ज र नेपालगन्जदेखि प्युठानसम्म खोपी परिवार र उलाई सहयोग गरिएको स्कुटर पु¥याउने खर्च गरि कुल २ लाख २ हजार ५१८ रुपैयाँ खर्च भएको हेल्पिङ्ग ह्याण्डस् फ्रम नेपालगन्जकी संयोजक समेत रहेकी नेपालगन्ज उपमहानगरपालिकाकी निर्वतमान उपमेयर उमा थापा मगरले जानकारी दिइन् ।

निवर्तमान उप–प्रमुख थापामगरले खोपीको जीविकोपार्जनमा केही सहयोग होस् भनेर आर्थिक संकलन अभियान थालनी गरेको बताउँछिन् । उनले भनिन्, ‘हाम्रो उद्देश्य खोपी मगरलाई सहयोग गर्ने भन्दा पनि उनलाई प्रेरित गर्ने हो । उनलाई हिँड्डुँल गर्न र आफूले उत्पादन गरेका सामानहरु सहज तरिकाले बिक्री गरि जीविकोपार्जन गर्न मद्दत पुगोस् भनेर सहयोग संलकन अभियान थालेका हौं ।’

नेपालका विभिन्न जिल्लासहित कतार, साउदी, अमेरिका, तान्जेनिया लगायतका विभिन्न देशमा रहेका नेपालीहरुले खोपी सहयोग अभियानमा साथ दिएको भन्दै महिला उद्यमी समेत रहेकी अभियन्ता विन्दू चर्तीमगरले धन्यबाद दिइन् ।

उनले भनिन्–‘ अझै मानवता हराएको छैन । यो हाम्रो समाजको एउटामात्र घटना हो जसले आज पनि मानवता हाम्रो समाजमा जिउँदै भएको पुष्टि गर्छ ।’

२०७२ सालको विनासकारी भूकम्प जाँदा नेपालगन्जका युवाहद्वारा हेल्पिङ्ग ह्याण्ड्स फ्रम नेपालगन्ज सञ्चालनमा ल्याएका थिए । मानवीय सेवाका लागि भन्दै स्वस्फूर्त नेपालगन्जका यूवाद्वारा स्थापना गरिएको यो समुहले विनासकारी भूकम्पपछिको क्षतीमा नेपालगन्जबाट नगद र जिन्सी गरि ५० लाख बराबरको सहयोग गरेको थियो ।