मल र पानीको अभाव : बाँकेमा ३ प्रतिशतमात्र धान रोपाइँ

पानी परेपछि किसान हर्षित


मल र पानीको अभाव : बाँकेमा ३ प्रतिशतमात्र धान रोपाइँ

नेपालगन्ज १५ असार : बाँकेमा यस वर्ष मनसुन ढिलो सक्रिय भएका कारण असार १५ गते हुँदा पनि अधिकांश ठाउँमा रोपाइँ सुरु भएको छैन । असारको मध्यसम्म ३ प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

समयमै पानी नपर्दा र मल अभाव भएकाले यस वर्ष अहिलेसम्म ३ प्रतिशत मात्रै रोपाइँ सकिएको हो । पोहोर समयमै मनसुन सक्रिय हुँदा रोपाइँ पनि छिटै सुरु भएको थियो । समयमा बर्सात नहुँदा किसानले धान रोपाइँ गर्न नसकेको कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले बताए ।

उनका अनुसार बाँकेको राप्ती नदी, मानखोला, डुडुवा खोला र किरण नाला क्षेत्रमा बाहेक अधिकांश ठाउँमा रोपाइँ सुरु भएको छैन । यी क्षेत्र बाहेक बाँकेका जमिनमा भने आकाशे पानीकै भर पर्नुपर्ने अवस्था छ ।
उनले सिक्टा सिँचाई आयोजनाको पानी सुविधा भएको ठाउँका किसानले मात्र रोपाइँ गरेको बताए ।

‘यो समयमा बाँकेमा २०–३० प्रतिशत खेतमा रोपाइँ हुने बेला हो, तर सिचाई सुविधा नभएकोले सिँचाईको पूर्वी नहरले सिञ्चित सुविधा भएका किसान बाहेकले धान लगाउन सकेका छैनन्,’ उनले भने, ‘धानको ब्याड बुढो हुन थालेपछि बोरिङको सुविधा भएका फाटफुट किसान बाहेक अन्यको खेत बाँझो छ ।’

Kids Festival 2022
kanti aarogya hospital

बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धानखेती हुने गर्दछ । धान उत्पादनमा बाँके आत्मनिर्भर रहेको छ ।

धानको ब्याड तयार भए पनि जानकी गाउँपालिका–५ बनियागाउँका आशाराम काँदूले रोपाइँ गर्न नसकेको बताए । उनले पानी नभएकोले ब्याड तयार भए पनि रोपाइँ गर्न नसकेको बताए । समयमा रोपाइँ गर्न नसक्दा ब्याड बुढो हुने चिन्ता बढेको उनले बताए ।

‘मेरो मात्र होइन अधिकांश किसानको ब्याड तयार छ । पानी नहुँदा सबैजसो खेत बाँझै छ,’ उनले भने, ‘समयमै पानी परेको भए अहिलेसम्म आधा रोपाइँ सकिन्थ्यो होला ।’

खजुरा गाउँपालिका–४ ई गाउँका दीलबहादुर घलेले पनि आफूसहित अधिकांशको खेत बाँझै रहेको बताए । उनले अहिलेसम्म कसैले पनि रोपाइँ नगरेको बताए ।

किरण नालाको पानी र बोरिङ्गको सहायतामा धानको ब्याड राखे पनि बर्सात नहुँदा रोपाइँ गर्न नसकिएको बताए । आफ्नो घरदेखि केही परसम्म सिक्टा सिचाईको शाखा नहर आएपनि उक्त नहरमा पानी छाडिएको छैन । आकाशे पानीको भर पर्दा यस वर्ष धान खेती ढिलो हुने उनले चिन्ता ब्यक्त गरे ।

सिँचाई सुविधा नभएकोले धान रोप्न नसकिएको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –२१ वसन्तपुरका राजेश गुप्ताले बताए । ‘जेठ मध्यतिर सिक्टा सिचाँईको नहरमा पानी छाडिएको थियो । त्यतीबेला पानी लगाएर ब्याड राखियो तर, बर्सातले साथ नदिएपछि धान रोपाई हुन सकेन’ उनले बताए ।

त्यसो त नेपालगन्ज वडा नम्बर २१ लगायतका क्षेत्र बाँकेमै ढिलोगरि धान रोपाई हुने ठाउँ हुन् । तर, सिचाँईको अभाव र समयमै वर्षा नहुँदा अधिकांशले धानको ब्याड राख्न सकेकाछैनन् ।

बर्सातले किसान हर्षित

मङ्गलबार मध्यरातबाट बर्सात भएपछि बाँकेका किसान हर्षित भएका छन् । पानी अभावमा धान रोप्न नपाएका यहाँका किसानहरु बर्सात भएपछि राहतको महशुस गरेका छन् ।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीका अनुसार, बाँकेमा १५० मिलिमिटर वर्षा मापन भएको छ ।

वर्षाका कारण नदीमा पानीको सतह बढ्दै गएको छ । बुधबार दिउँसो २ बजे राप्ती नदीमा पानीको सतह ४ दशमलव ०९९ मिटर रहेको छ । बुधवार दिनभरि मध्यम वर्षात भइरहेकाले राप्ती नदीमा पानीको सतह बढ्न सक्ने उनले बताए ।

असार मध्यसम्म पनि बर्सात नहुँदा मङ्गलबार राती भएको बर्सातले ठूलो राहत दिएको बैजनाथ गाउँपालिका १ चिसापानीकी दिलसरा बुढाले बताए । उनले धानको ब्याड तयार भइसकेकोले बर्सातसंगै धान रोपाइँ सुरु गर्ने बताइन् ।

‘पानी नभएर छटपटाहट भएको थियो । मध्यरातबाट परेको बर्सातले ठूलो राहत दिएको छ । अब धान रोपाइँ सुरु गर्छौँ,’ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१९ कण्ठीपुरकी मिना केसीले बताईन ।

यस्तै खजुरा गाउँपालिका वडा नम्बर–६, नयाँबस्तीकी आशिष विकले बर्सातले धेरै ठूलो राहत दिएको बताए । ‘पानीको अभावमा सुक्न लागेको धानको ब्याडलाई ठूलो राहत मिलेकोछ, खेत जोतेर रोपाई गर्न मिल्ने पानी भरिएको छ ।’ उनले अगाडी थपे–‘पानीको पखाईमा थियौं, अब एक–दुई दिनपछि धान रोप्छौं ।’

मल नपाउँदा समस्या

रोपाइँ ढिलो हुनुको अर्को कारण कृषकले समयमा मल नपाउनु पनि हो । कतिपय किसानले बिउ तयार भइसके पनि रासायनिक मल नहुँदा रोपाइँ सुरु गर्न सकेका छैनन् ।

यो वर्ष युरिया मलको चरम अभाव छ । जसका कारण बाँकेका किसानले धानको ब्याडमा चाहिने मलका साथै रोपाइँपछि आवश्यक पर्ने युरिया र डिएपी मल हालसम्म सहजरुपमा पाउन सकेका छैनन् ।

ब्याडमा हाल्ने रासायनिक मल खरिदका लागि दैनिक सयौँ किसान नेपालगन्जस्थित कृषि सामग्री कम्पनी लिमिटेड पुग्ने गरेका छन् । तर, उनीहरू रित्तो हात घर फर्किन बाध्य छन् । बीउमा हाल्ने मल नपाएपछि यतिबेला किसान भारतीय बजार धाउन बाध्य छन् । भारतबाट मल लिएर आउँदा सुरक्षाकर्मीले नियन्त्रणमा लिएर जफत गर्दा किसानलाई ठूलो सास्ती खेप्नु परेकोछ ।

मुख्य बाली धानको ब्याडमा मल हाल्न नपाउँदा किसान चिन्तित बनेका छन् । भने उत्पादन घट्ने भन्दै सहजरुपमा मल उपलब्ध गराउन उनीहरुले माग गरिरहेकाछन् ।

कृषि सामग्री कम्पनी लिमिटेडमार्फत किसानलाई वितरण गरिने अनुदान सहुलियतको मल पर्याप्त आउन सकेको छैन । बाँकेमा धान खेतीका लागि एक हजार २०० मेट्रिक टन डिएपी, तीन हजार मेटिक टन युरिया र ५० मेट्रिक टन पोटास मल आवश्यक पर्छ ।

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार हाल ३३५ टन डिएपी मल प्रदेश कार्यालय भैरहवाबाट प्राप्त भएको र सोहीअनुसार आउने क्रममा रहेको छ । युरिया तथा पोटास धान रोपाइँको समयमा आउने प्रदेश कार्यालयले जनाएको छ । कार्यालयले बाँकेका १०७ सहकारी संस्थामार्फत किसानलाई मल वितरण गर्दै आएको छ ।