पानी अभावमा रोपिएको धान खेत सुक्न थाले

असार मसान्तमा बाँकेमा ४३ प्रतिशत रोपाई, राप्तीसोनारी र बैजनाथमा बढि रोपाई


पानी अभावमा रोपिएको धान खेत सुक्न थाले

File Photo

नेपालगन्ज ३२ असार : बाँकेमा धान रोपेको खेत सुकेको छ । लामो समयदेखि पानी नपर्दा बाँकेमा रोपेको धानको खेत सुकेको हो । करिब तीन साताभन्दा बढि समयदेखि पानी नपर्दा बाँकेमा रोपेको धान सुक्दा धान रोपेको गरामा धाँजा फाटेको छ । जसले गर्दा बाँकेका किसान चिन्तित भएका छन् ।

जिल्लामा असार सकिँदा ४३ प्रतिशत हाराहारीमा मात्रै रोपाइँ भएको छ । भने ५७ प्रतिशत रोपाइँ हुन बाँकी छ । गत वर्ष मात्रै यो अवधिमा ८५ प्रतिशत रोपाई सकिएको थियो । सिचाईँ अभावमा बाँकेका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएकाछन् । मौसममा आएको परिर्वतनले असार दोस्रो सातासम्म केही सामान्य वर्षा भएपनि सोही वर्षाका बेला अधिकांश किसानले धान रोपाई गरेका थिए ।

यतिबेला प्रयाप्त सिँचाई ब्यवस्थाप नहुँदा सिँचाई गरि रोपिएको धानका खेत समेत सुकेर चिराचिरा परेकाछन् । यस्तो बेला रोपाई गरिसकेको धानलाई आवश्यक पानी र मल समेत किसानले दिन पाएका छैनन् ।

कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालले असार ३२ गतेसम्म बाँकेमा ४३ प्रतिशत हाराहारीमा रोपाइँ भएको जानकारी दिए । उनका अनुसार, यो वर्ष बाँकेमा ढिलोगरी धान रोपाइ भएको हो ।
उनका अनुसार यसपालि असारको सुरुमै परेको पानीमा किसानले बीउ राख्न र रोप्न समेत भ्याए । त्यसपछि पानी पर्न रोकियो । जसका कारण यतिबेला धान रोपार्इँ भएको खेत सुकेर चिराचिरा परेकोछ । धान मर्न थालेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

बाँकेमा अबको केही दिनभित्रै पानी परेन भने ठूलो क्षेत्रमा गरिएको धान खेती बर्बाद हुने अवस्थामा पुगेकोछ । भने रोपाई हुन बाँकी ५७ प्रतिशत खेतमा समेत रोपाइँ प्रभावित हुनेछ ।

कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले रोपेको धानमा गाँज हाल्ने र बढ्ने बेलामा पानी नपरेकाले उत्पादनमा समेत असर पर्ने बताए । असार १५ गते अघिसम्म बाँकेमा पानी परेको थिएन । किसानले आकाशेपानीले धानको बीउ (ब्याड) राख्न पाएका थिएनन् । बोरिङ, ह्याण्डपम्प चलाएर बीउ राखिएको थियो । कतिपय किसानको बीउ अझै रोप्ने बेला नै भएको छैन । अलि पहिला बीउ राखेका किसानले यतिबेला रोपाइँ गरिरहेका छन् ।

ढकालका अनुसार जिल्लामै सबैभन्दा बढि राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकामा रोपाई भएकोछ । भने सबैभन्दा कम नेपालगन्ज र डुडुवा गाउँपालिकामा रोपाई भएकोछ । सिचाई अभावका कारण यसक्षेत्रमा रोपाई कम भएको हो ।

बाँकेको खजुरा, नरैनापुरमा औषतमा राम्रो रोपाई भएकोछ । भने कोहलपुर र जानकीमा समेत रोपाई राम्रो हुन सकेको छैन ।

बाँकेमा यो वर्ष राम्ररी पानी पर्न सकेको छैन । असार १५ गतेयता हल्का–हल्का वर्षा भएको छ । गौरवको आयोजना सिक्टाले पानी छोडेको छ । सिक्टाले अझै किसानको खेतमै पानी पु¥याउने गरी संरचना बनाइसकेको छैन ।
सिक्टाको पानी खोलानालाहरूमा छोडिएको छ । त्यहाँबाट किसानले पम्पसेट लगाएर पानी खेतमा पु¥याइरहेका छन् ।

बाँकेमा प्रतिहेक्टरमा ४.३ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । जिल्लाको कुल ३६.५ हेक्टरमा धान उत्पादन हुने गर्छ । सिक्टा सिँचाइ आयोजनाले पश्चिम नहरमा पानी छाडेकाले त्यस भेगका किसानले पानी पाएका छन् । तर, मुल नहरदेखि शाखा नहर समेत नबनेकाले सिचाई नहरकै पेरिफेरीका खेत बाँझै अनि सुक्दै गएकाछन् ।

सिक्टा नहर पूर्णरूपमा सञ्चालन हुँदा बाँकेको ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा हुने अनुमान छ । तर, अझै सबै ठाउँमा पानी पुग्ने गरी छाडिएको छैन । बाँकेमा यो वर्ष ढिलोगरी धान रोपाइँ सुरु भएको छ । आकाशेपानीकै भर पर्नु पर्ने भएकाले धानखेती राम्रो हुन सकेको छैन ।

गतवर्ष समयमै धान रोपाइँ भए पनि कात्तिकमा आएको बेमौसमी बाढीले धानमा ठूलो क्षति पु¥याएको थियो । त्यो क्षतिले गर्दा बाँकेमा उत्पादन ह्वात्तै घटेको छ । धानमा आत्मनिर्भर रहेको बाँकेमा समयमा पानी नपर्दा उत्पादन घट्ने, पानी परेर समयमै रोपेपनि पछि बाढीले क्षति पु¥याउने गरेको छ ।

जिल्लाका राप्ती नदी तदीय क्षेत्रका बासिन्दाको धान बर्सेनि नदीले बगाउनु सामान्यजस्तै भइसकेको छ । भारतले राप्ती नदीमा एकतर्फी लक्ष्मणपुरमा बनाएको बाँध, कलकलवा तटबन्ध र दशगजामै बनाइएको सडकजस्तो नेपालबाट बग्ने पानीको प्राकृतिक बहावलाई रोक्ने गर्दछ । जसले गर्दा बर्सेनि डुवान र कटान र हुने गरेको हो ।

सन् २००३ मै भारतले नदीको दुवैतर्फ २८ किलोमिटरमा पक्की तटबन्ध बनाइदिने बताए पनि अहिलेसम्म भारतले सहयोग गरेको छैन । न त नेपालले सम्झौताअनुसार छिटो काम गर्नुप¥यो भनेर दबाब नै दिन सकेको छ ।