सञ्चारमा सुरक्षित कार्यस्थल निर्देशिका मस्यौदा हस्तान्तरण


सञ्चारमा सुरक्षित कार्यस्थल निर्देशिका मस्यौदा हस्तान्तरण

काठमाडौं ४ साउन : सञ्चार क्षेत्रका लागि कार्यस्थलमा हुने लैङ्गिक हिंसाबारे निर्देशिकाको मस्यौदा तयार पारिएको छ ।

सञ्चार प्रतिष्ठान र मिडियाको समग्र क्षेत्रको कार्यस्थललाई सुरक्षित गर्न संयन्त्रको आवश्यकता महसुस गरेर प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासङ्घ र यस क्षेत्रमा कार्यरत सङ्घसंस्था एवं विज्ञहरूबिच छलफलसहित निर्देशिकाको मस्यौदा तयार भएको हो ।

मिडिया एडभोकेसी गु्रप (म्याग), सहयोगी संस्था सोलिडारिटी सेन्टर नेपालले संयोजनमा विभिन्न प्रदेशमा भएको अन्तक्रियासहित तयार मस्यौदालाई बुधबार काउन्सिल र महासङ्घलाई बुझाइएको हो ।

म्यागका निर्देशक बबिता बस्नेतले उक्त मस्यौदा काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत र महासङ्घ अध्यक्ष विपुल पोखरेललाई हस्तान्तरण गरे ।

Kids Festival 2022
kanti aarogya hospital
add

उक्त मस्यौदामाथि दुवै संस्थाबीच थप छलफल र गृहकार्य गरी कार्यान्वयन तहमा लैजाने अध्यक्ष बस्नेतले जानकारी दिए ।

यसअघि काउन्सिलका अध्यक्ष बस्नेत, महासङ्घका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महसङ्घका पूर्वअध्यक्ष डाक्टर महेन्द्र विष्ट, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्का, मिडिया एड्भोकेसी गु्रपका अध्यक्ष अनिता बिन्दु र निर्देशक बबिता बस्नेत रहेको निर्देशिका मस्यौदा समिति गठन भएको थियो ।

समितिको तर्फबाट प्रारम्भिक मस्यौदा तयार भई सातै प्रदेशलाई समेट्ने गरी विराटनगर, जनकपुर, चितवन, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा छलफल भयो ।

प्रदेशस्तरीय छलफलमा आएका सुझावहरूलाई समेत समेटेर काठमाडौँमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सञ्चार सचिव डाक्टर वैकुण्ठ अर्याल, काउन्सिलका अध्यक्ष, महासङ्घका अध्यक्षसहित सञ्चार गृहका व्यवस्थापन तथा सम्पादकीय प्रमुख र यस क्षेत्रका विज्ञसमेतको सहभागितामा राष्ट्रिय तहको छलफल कार्यक्रम गरिएको थियो ।

यी सबै कार्यक्रम र समितिमा भएको गहन छलफलपश्चात सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थल निर्देशिका, २०७९ को अन्तिम मस्यौदा तयार भएको हो ।

प्रस्तावना, सात खण्ड र १७ बुँदा रहेको संलग्न मस्यौदामा परिभाषा, निर्देशिकाको उद्देश्य, निर्देशिकाको क्षेत्र, कार्यस्थलमा हुने हिंसा र दुव्र्यवहार, हिंसा तथा दुव्र्यवहारबाट संरक्षण तथा रोकथाम, तालिमको व्यवस्था, गुनासो सुनुवाई, गुनासो सुनुवाई समिति, गुनासोकर्ताको संरक्षण, गुनासो सुनुवाई सम्बन्धी कार्यविधि, निरीक्षण, अनुगमन तथा कारवाहीलगायतको व्यवस्था रहेको छ ।

प्रतिवेदन बुझाउँदै म्यागका निर्देशक बबिता बस्नेतले कार्यस्थलमा हुने लैङ्गिक हिंसाबारे खुलेर बोल्न र आगामी दिनमा हिंसा रोक्न यो निर्देशिकाले सहयोग पुग्ने विश्वास राखे ।

महासङ्घका अध्यक्ष विपुल पोख्रेलले नेपाली पत्रकारिता जगतमा एउटा महत्वपूर्ण कामले आकार लिएको भन्दै पत्रकार महासंघले यसलाई कार्यान्वयनमा लैजाने सन्दर्भमा आवश्यक समन्वय गर्ने बताए ।


मस्यौदा लेखनको संयोजन समेत गर्नुभएका महासङ्घका पूर्व अध्यक्ष डाक्टर महेन्द्र विष्टले म्याग र सोलिडारीटी सेन्टरलाई धन्यवाद दिँदै मिडिया क्षेत्रमा जो कोहीपनि कार्यस्थलमा सुरक्षित हुनुपर्छ भन्ने ध्येयका साथ यो निर्देशिका तयार भएको बताए ।

काउन्सिल अध्यक्ष बस्नेतले छोटो अवधिमा यति महत्वपूर्ण दस्तावेज तयार हुने रहेछ भन्ने उदाहरण निर्देशिका रहेको भन्दै यसलाई चाँडै अन्तिम रुप दिइने जानकारी दिए । उनले यसको कार्यान्वयनले कार्यास्थलमा हिंसा रोक्ने मात्र नभई मिडियाका कन्टेन्टमै सुधार ल्याउने समेत बताए ।