File Photo
नेपालगन्ज १३ वैशाख : बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेका विद्यालयका विद्यार्थी जोखिम मोलेर दिनहुँ अध्ययनका लागि जाने गरेकाछन् । वन्यजन्तुका कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेका विद्यालयमा विद्यार्थीहरु जोखिमपूर्ण यात्रा गर्दै अध्ययन गर्न जाने गरेका हुन् ।
विहान र साँझको समयमा निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा रहेका विद्यालयमा अध्ययनका लागि आउँदा र जाँदा उनीहरुमाथि वन्यजन्तुको जोखिम बढेको छ । जसले गर्दा बालबालिकामा डर त्राससंगै विद्यालय अध्ययनका लागि जाने गरेका हुन् । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र प्राथमिक तहदेखि माध्यमिक तह गरी १८ वटा विद्यालय छन् ।
कोहलपुर नगरपालिका वडा नम्बर– १३ भरैयामा अवस्थित बाल शिक्षा माविका प्रधानाध्यापक तर्क खत्रीका अनुसार निकुञ्ज भित्रका तारबार नभएका खुला विद्यालयमा तारबार गरी त्यहाँ अध्ययनरत बालबालिकालाई सुरक्षित राख्नुपर्ने तर्फ सबैको ध्यान जानु आवश्यक रहेको बताए ।
बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको सङ्ख्या बढेसँगै मध्यवर्ती क्षेत्र भित्र वन्यजन्तुको जोखिम हुनु स्वाभाविक हो । सोही कारणले वन्यजन्तुका आनीबानी र आफू कसरी सुरक्षित हुनुपर्छ भन्नेबारेमा सर्वसाधारण आफैँ पनि सचेत हुनुपर्ने बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गहेन्द्र खड्का बताउँछन् ।
विशेष गरेर विद्यार्थी एक्लै हिँड्नुभन्दा समूह बनाएर सँगसँगै हिँडेमा सम्भावित जोखिमबाट बच्न सकिने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका संरक्षण सहायक उमेश पौडेलले बताए । उनले बालबालिकालाई वन संरक्षण अनि त्यसबाट हुने जोखिमबारे अभिभावक तथा शिक्षक दुवैले निरन्तर सिकाउनुपर्ने र जथाभाबी वनजङ्गल नजाने जानै परे समूहमा जाने सुझाव दिए ।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेका विद्यालयका विद्यार्थीको सुरक्षाका लागि स्थानीय सरकार र निकुञ्जले पहिलो प्राथमिकतामा राखेर तारबार नगरेका विद्यालयमा तारबार गरेर जीवन सुरक्षाका लागि विशेष कार्यक्रम ल्याउनु आवश्यक देखिन्छ।
यस्तै वन्यजन्तुबाट हुने सम्भावित आक्रमणबाट बच्न विद्यार्थी लगायत अन्य सर्वसाधारणलाई समूहमा हिँड्न सुझाव दिए पनि यसको दीर्घकालीन समाधानको रूपमा सरोकारवाला तत्कालै लाग्नुपर्ने स्थानीयको माग छ।