भेरीमा रेबिजविरुद्धको खोप छैन, नीजि मेडिकल धाउँछन् सेवाग्राही 


सेतोखरी सेतोखरी   बुधबार, वैशाख १२, २०८१
भेरीमा रेबिजविरुद्धको खोप छैन, नीजि मेडिकल धाउँछन् सेवाग्राही 

नेपालगन्ज १२ वैशाख: भेरी अस्पतालमा रेबिजविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन् । सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप भेरी अस्पतालमा गत चैत २२ गतेदेखि सकिँदा सर्वसाधारणले चर्को मूल्य तिरेर नीजि मेडिकल धाउन बाध्य भएका छन् ।

विपन्न तथा गरिब परिवारका सर्वसाधारणले निजी मेडिकलबाट चर्को मूल्यमा रेबिजविरुद्धको खोप किन्नुपर्दा मर्कामा परेको बताएका छन् ।

‘दैनिक ज्याला मजदुरी गरेर परिवारको पेट पाल्दैआएको छु, कुकुरले टोकेपछि निःशुल्क सुई पाइन्छ भनेर यहाँ आएँ, तर यहाँ सुई छैन, किनेर ल्याउन भने ।’ कुकुरले टोकेपछि खोप लगाउन भेरी अस्पताल पुगेका नेपालगन्ज उपमहानगरपालिका –१७ परसपुरका ४१ वर्षीय यासिन अलिले भने । 

‘मजस्तो दैनिक ज्यालादारी गरेर जीवन चलाउने मान्छेलाई यति महँगोमा सुई किनेर लगाउन पर्दा मर्कामा छु’ उनले दुखेसो पोखे ।

Kids Festival 2022
kanti aarogya hospital

अलिले अस्पताल बाहिर मेडिकलबाट रेबिजविरुद्धको एउटा खोपको ६ सय २५ रुपैयाँ तिरेर किनेको बताए । निःशुल्क रुपमा सरकारले प्रदान गर्ने खोपलाई सर्वसाधारणले यति धेरै मूल्यमा किन्नुपर्दा मर्कामा परेको उनको भनाइ छ ।

त्यसैगरी राजापुर नगरपालिका–९, इश्वरीगन्ज बर्दियाका हरिलाल थारुले पनि त्यति टाढाबाट नेपालगन्ज आउँदा पनि निःशुल्क खोप नपाउँदा दुःख लागेको प्रतिक्रिया दिए । ‘२३ महिनाको यो छोरोलाई बिरालोले हातको औंलामा टोकिदियो, निःशुल्क रेबिजविरुद्धको खोप लाउन पाइन्छ भनेर त्यति टाढाबाट यहाँ ल्याएर आएँ’ थारुले भने,‘अस्पतालमा खोप सकिएको छ, बाहिरबाट किनेर ल्याउ भने, मेडिकलबाट ६ सय २५ रुपियाँमा किनेर ल्याएँ । त्यति टाढाबाट यहाँसम्म आउँदा बेकारमा दुःख मात्र पाइयो ।’

नेपालगन्जको भेरी अस्पतालको एआरभी विभागमा कुकुर–विरालाले टोकेका दैनिक एक सयभन्दा बढी सर्वसाधारण नागरिक रेबिजविरुद्धको खोप लगाउन आउनेगरेका छन् । ‘दैनिक ४० देखि ५० जना नयाँ बिरामीहरु आउँछन्, त्यति नै संख्यामा पुराना बिरामीहरु पनि आउँछन, दैनिक सयभन्दा बढी कुकुरले टोकेका बिरामीहरु यहाँ आउँछन्’ भेरी अस्पतालका एआरभी विभागका सिनियर अहेब कृष्णबहादुर बुढाथोकीले भने,‘अस्पतालमा खोप छैन, सबैलाई बाहिरबाट किनेर ल्याउन भन्छौं ।’

गत चैत २२ गतेदेखि नै अस्पतालको एआरभी विभागमा रेबिजविरुद्धको खोप सकिएको बुढाथोकीले जानकारी दिए । कुकरले टोकेपछि तीनवटा रेबजिविरुद्धको खोप लगाउनुपर्ने उनले बताए ।

अस्पतालमा रेबिजविरुद्धको खोप प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आउनेगरेको र हाल सो स्थानमा पनि मौज्दात शून्य भएको जानकारी प्राप्त भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा खोप उपलब्ध नहुँदासम्म सर्वसाधारणलाई सो सेवा प्रदान गर्न नसकिने अस्पतालले जनाएको छ ।