बाँकेका एसपी सुबास बोहराले तस्करबाट यसरी उठाउँछन् पैसा 

भाग –१


दामोदर भण्डारी दामोदर भण्डारी   मंगलबार, चैत २०, २०८०
बाँकेका एसपी सुबास बोहराले तस्करबाट यसरी उठाउँछन् पैसा 

नेपालगन्ज २० चैत्र : नेपाल प्रहरीमा प्रवेश गर्दा सत्य, सेवा, सुरक्षणम्को कसम खाएर जागिर खाएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवास बोहराले त्यसको ठीक विपरित गरिरहेका छन् । प्रहरी संगठनलाई नै बदनाम गराएर एसपी बोहराले बाँकेमा चौतर्फी रुपमा अबैध तरिकाले लाखौँ रकम उठाइरहेको पाइएको छ ।

मानवअधिकारकर्मी, पत्रकार, कानून व्यवसायीसँग टाढै बस्न खोज्ने र मातहतका ईन्चार्जहरुलाई पनि धैरै नजिक नहुनु भन्ने निर्देशन दिने गरेका एसपी बोहराले मासिक रुपमा तस्करहरुबाट पैसा उठाउने गरेका छन् । बाँकेमा रहेर तस्करीको काम गर्ने विभिन्न तस्करहरुबाट एसपी बोहराले महिनावारी लाखौं रकम उठाउने गरेका हुन् ।

सेतोखरी डटकमले लामो समय लगाएर गरेको अनुसन्धान र प्राप्त थुप्रै तथ्य र प्रमाण अनुसार, एसपी बोहराले तस्करहरुबाट पैसा उठाउन स्पेशल प्रहरी नै खटाएका छन् । पैसा उठाउन खटाएका प्रहरीले ड्यूटी गर्नु पर्दैन । उनीहरुको काम भनेको तस्करसँग नजिक हुने, तस्करी गर्न लगाउने, पैसा असुल्ने र एसपी बोहरालाई पु¥याउने ।

शान्ति, सुरक्षा कायम गर्न नसकेको भन्दै एसपी सन्तोष सिंह राठौर तानिएपछि गत कात्र्तिक महिनामा जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुख भएर एसपी सुवास बोहरा आएका हुन् । उनी बाँके आएको अहिले ६ महिना भयो । आएको एक सातामै एसपी बोहराले पुरानालाई हटाएर बरीष्ठ सई सुशील रावलको कमाण्डमा पैसा उठाउन नयाँ टोली नै राखे ।

Kids Festival 2022
kanti aarogya hospital

आफू पर्दा पछाडी रहेर पैसा उठाउने टोलीलाई अगाडी सारेर बोहराले काम गर्ने गर्छन् । सरुवा भएर आए लगत्तै एसपी बोहरा पैसा कमाउने ठाउँहरुको पहिचान, विश्वासिलो र ईमान्दारीतापूर्वक पैसा उठाउने प्रहरीको खोजीमा लागे । जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत रहेकाहरु मध्ये धेरै तस्करलाई चिनेको, तस्करसँग नजिक भएको, ईमान्दारी पूर्वक पैसा उठाउन सक्ने को छ ? भन्दै पहिचान गर्न लागे एसपी बोहरा । 

अनि भेटिए प्रहरी हवल्दार निरक विक र प्रहरी जवान दीपक बोहरा । यी दुबै प्रहरीको काम भनेको कस्ले–कस्ले मालसामान तस्करी गर्छ, पत्ता लगाउने र पैसा उठाउने अनि उठाएको पैसा सम्बन्धित ठाउँमा बुझाउने ।

एसपी बोहराले तस्करबाट पैसा उठाउन राखेका प्रहरी नै दीपक र निरक हुन् । प्रहरी हवल्दार निरक र जवान दीपकले बिगत ६ महिनादेखि तस्करबाट पैसा उठाउँदै एसपी बोहरालाई बुझाउँदै आएका छन् । निरक र दीपकले उठाएको पैसा एसपीले डाइरेक्ट बुझ्दैनन् । उनले बनाएको जुन ‘कोर’ टिम छ त्यही टिमबाट क्रमश एकबाट अर्कोले बुझ्दै अन्तिममा एसपी बोहराको हाथमा पैसा जान्छ । 

सेतोखरीले संकलन गरेको प्रमाण बोल्छ ‘महिनाको ४ लाख देखि ५ लाख सम्म तस्करबाट पैसा उठाएर निरक र दीपकले एसपी बोहरालाई बुझाउँदै आएका छन् ।’ यसरी रकम उठाए बापत प्रहरी जवान निरिक र दीपकले १५ हजार देखि २० हजार रुपैंयासम्म मासिक पाउँछन् । 

‘तस्करबाट कुनै महिनामा ३ लाख, कुनै महिनामा, ४ लाख, कुनै महिनामा ५ लाखसम्म संकलन हुन्छ । यसरी संकलन गरेको रकम एसपी बोहराले प्राप्त गर्ने ठाउँमा लगेर छोडिन्छ ।’ प्रमाण अगाडी बोल्छ ‘तस्करबाट पैसा उठाए बापत कहिले १० हजार, कहिले १५ हजार त कहिले २० हजार निरक र दीपकले खल्तीमा राख्न पाउँछन् ।’

तस्करबाट पैसा उठाउन राखिएका प्रहरी निरक र दीपकलाई सघाउन, तस्करहरुसँग लाईन मिलाउन (पैसाको बार्गेनिङ् गर्न) एसपी बोहराले बरीष्ठ सई सुशील रावललाई कमाण्डर बनाएर राखेका छन् । ‘मेरो काम भनेको कस्ले–कस्ले कुन खालको तस्करी गर्छ ? त्यहाँ जाने, पैसाको बार्गेनिङ् गर्ने अनि आउने हो । मेरो हातले पैसा बुझ्दिन, निरक र दीपकले तस्करबाट पैसा बुझ्छन्, एसपी साव र कहाँ–कहाँ पु¥याउँछन् उनीहरुलाई नै थाहा छ ।’ बरीष्ठ सई रावलले सेतोखरीसँग भने ‘मेरो हातमा पैसा आउँदैन सर, निरक र दीपकको कामनै पैसा उठाउने हो, सबै पैसा ती दुई जनाले उठाउँछन्, कहाँ दिनु पर्ने हो त्यही दिन्छन् ।’ 

त्यो बापत बरीष्ठ सई रावललाई २० देखि ३० हजार रुपैँया महिनाको भाग पर्छ ।  ‘मैले एसपी सावलाई भनिसकेको छु सर म यो काम गर्दिन, मलाई यो कामबाट हटाइ दिनुस् भनेर ।’ रावलले भने ‘यसले झुठ बोल्दैन, कस्ले–कस्ले तस्कर गर्छन् ? कति पैसा उठाउँछन् लगाएतका साँचो कुरा बोल्छ ईमान्दार छ भनेर एसपी सा’वले मलाई राख्नु भएको हो तर, मलाई बस्न मन छैन ।’ 

एसपी सुवास बोहरा यस्तो भन्छन्

एसपी बोहराले तस्करबाट कसैले पनि पैसा नउठाएको दाबी गरे । ‘तस्करबाट पैसा उठाउने सुरुदेखि छैन । किन भने सुरुदेखि नै जिरो टोलरेन्समा हिँडेको हो म ।’ एसपी बोहराले सेतोखरीसँग प्रतिपश्न गरे ‘बोर्डर खुल्ला छ र ?, तपाईलाई के लाग्छ ? कहीँ पनि छैन ।’

एसपी बोहराले आफुले राखेका सिभिल प्रहरीलाई आफुले कहिल्यै नभेटेको र पैसा उठाउने विल्कुल नभएको हल्का प्रतिक्रिया दिए । जबकी जिल्लामा सिभिल प्रहरी एसपीले नै राख्छ, एसपीले नै सञ्चालन गर्छ र उनीहरुको कनेक्सन डाइरेक्ट एसपीसँगै हुन्छ । कात्र्तिक महिनामा बाँके आएका एसपी बोहराले पनि आउने वित्तिकै पुरानो सिभिल प्रहरी टोलीलाई फालेर आफ्नो अनुकुल नयाँ टोली राखेका हुन् ।

‘मैले ब्यक्तिगतरुपमा रामे, श्यामे धनी हुने भनेर राखेको छैन । मैले ब्यक्तिगतरुपमा फलानो–फलानो राख्नुपर्छ अथवा तँ बस भनेर मैले राखेको छैन, तिनीसँग भेटेको पनि छैन । व्यक्तिगतरुपमा भेटेर निर्देशन पनि दिएको छैन । नितान्त टिम जस्तो बनाएर तस्करी नियन्त्रणका लागि तिमीहरुले फोकस गर्नुपर्छ भनेको हो । व्यक्ति विशेष कहिलेकाहीँ गल्ती गर्छ भने कारबाहीको भागिदार हुनुप¥यो होइन र ?’ एसपी बोहराले भने ।

तपाईका सिभिल प्रहरीले मासिक रुपमा पैसा उठाइरहेका छन्, माथिसम्म बुझाइ रहेका छन् त ? भनि प्रश्न गर्दा एसपी बोहराले जवाफ दिए– ‘नाई, नाई, सुन्नुस्, सुन्नुस् तपाईसँग त्यस्तो सूचना छ भने त्यस्ता ब्यक्तिको नामै छापेर लेख्नुस् केही फरक पर्दैन । जिल्ला प्रहरी कार्यालयको फलानो घुमुवा भन्नु भएन ।’ 

एसपी बोहराले अगाडी भने ‘अपराध अनुसन्धानमा सिभिलमा प्रहरी चाहिन्छ । नचाहिने भन्ने होइन । पछिल्लो समय के भयो भने सिभिलमा खटिने प्रहरी नराख्ने लेटर पनि आयो । त्यो दिनदेखि हामीले राखेनौं । कोही ब्यक्ति विशेषले गलत गर्छ भने त्यो कारबाहीको दायरामा जान्छ ।’