डुबान समाधान राजनीति मुद्दा, केहीबेरको पानीले नेपालगन्ज डुब्छ


डुबान समाधान राजनीति मुद्दा, केहीबेरको पानीले नेपालगन्ज डुब्छ

नेपालगन्ज ४ साउन : एकछिन पानी पर्ने बित्तिकै नेपालगन्जका अधिकाशं ठाउँ डुब्छ । नेपालगन्जको न्यूरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायत स्थानमा पानी जमेर जलमग्न हुन्छ ।

अलिकति ठूलो पानी प¥यो कि नेपालगन्जबासीले सबैभन्दा पहिले सेतु विक चोकको हालत के भयो होला ? भन्न थाल्छन् । ढलको उचित निकास नहुँदा उक्त क्षेत्र जलमग्न हुने गरेको हो ।

डुबान नेपालगन्जबासीका लागि नयाँ र नौलो विषय हुदैँ होइन तर, बर्षेनी एउटै समस्या समाधान नहुँदा यसले नेपालगन्जबाट राजनीति गर्नेलाई राम्रो ‘राजनीतिक एजेण्डा’ बनाउँछ भने नेपालगन्जबासीलाई पिरोलीरहन्छ । उही डुवान, उही आस्वासन र उही तर्क । समस्या भने ज्यूँका त्यूँ ।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनका ताका सबै राजनीतिक दलको एउटै मुद्दा थियो ‘नेपालगन्जको डुबान समस्या’ समाधान गर्ने । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधी आएपछि ‘नगरको मुहार’ फेरिनेमा थुप्रै आशाबादी थिए ।

Kids Festival 2022
kanti aarogya hospital

वर्षेनी डुबान समस्याबाट आजित बनेका नेपालगन्जबासीका सामु यो समस्या छिटै पार लागे राम्रो हुने अपेक्षा थियो । तर, पछिल्लोपटक निर्वाचित जनप्रतिनिधीको कार्यकाल सकिएर अर्को कार्यकालका लागि जनप्रतिनिधी चुनिदा पनि नेपालगन्जको डुबान समस्या समाधान भएन ।

उपमहानगरको भौगोलिक बनोटमा निर्मित संरचनाका कारण पनि वर्षेनी डुबानले नेपालगन्जबासीलाई पिरोलिरहन्छ ।

न ठोस् योजना, न दूरदर्शी सोँच, जसका कारण डुबानले आजित नेपालगन्जबासी जनप्रतिनीधि आएसंगै डुबानबाट राहत मिल्ने अपेक्षा गर्छन तर, अलिकति पानी पर्नेबित्तिकै ‘नेपालगन्ज डुब्छ’ ।

एशियाली विकास बैंक (एडीबी)ले न्यूरोडबाट बागेश्वरी मन्दिर हुँदै आउने नालीका लागि बजेट दिएको थियो । त्यसको राम्ररी सदुपयोग नभएकै कारण डुबानको समस्या ज्यूँका त्यूँ रहेको स्थानीयबासी कृष्णप्रसाद श्रेष्ठको भनाइ छ ।

‘एडीबीले नालीको दुवैतिर पक्की वाल लगाउन भनेको थियो । जनप्रतिनिधिले केही ठाउँमा दुवैतिर पक्की वाल बनाए । केही ठाउँमा पर्दैन भनेर छोडिदिए । त्यसकै प्रतिफल जहिले पनि न्यूरोड डुबानमा पर्छ,’ श्रेष्ठले भने–‘यहाँको नालीको पैसा अन्यत्र लगियो । अहिले फेरि नेपालगन्जको समस्या उस्तै भयो ।’

न्यूरोड भएर आउने मुख्य नाली कहिले अग्लो त कतै होचो छ । जसले पानी एकनासले बग्दैन । त्यसमा अहिले लामो समयदेखि खडेरी रहेकाले नाली सफा गरिएको थिएन । नाली थुनिँदा बुधबार बिहान पानी परेको एक घण्टामै न्यूरोड डुबेको थियो ।

हुन त, बिहान ठूलो पानी परेको थियो । न्यूरोड मात्रै होइन, गणेशपुर, धम्बोझी, बेलासपुर, इदगाहरोड, बिपीचोक आसपासमा पानी जमेको थियो । नेपालगन्ज उपमहानगरपालिकाले पानीको निकासका लागि न्यूरोड, बिपीचोक आसपासमा जेसीभीलगाएर नाली खुलाएको थियो ।

वर्षाले किसानलाई राहत

लामो समय पश्चात् वर्षा भएपछि बाँकेका किसानहरु खुशी भएका छन् । पानी नपर्दा बाँकेमा रोपाइँ प्रभावित भएको थियो । धानको ब्याड छिप्पिन थालेपछि किसानहरु तनावमा थिए ।

यस्तै रोपिएको धान पनि सुक्न थालेको थियो । खेतमा धाँजा फाटेको थियो । असार सकिँदा ४६ प्रतिशत मात्रै रोपाइँ भएको थियो । लामो समयपछि पानी परेपछि किसानहरु हर्षित भएका छन् । उनीहरु बाँकी रोपाइँ पूरा हुने भएपछि खुसी भएका हुन् । मानो खाएर मुरी फलाउने किसानले आकाशमै हेरेर दिन बिताएका थिए ।

कुलो, बोरिङ र सिक्टा नहरको पानी आउने ठाउँका किसानले धान रोपाइँ गरिसकेका छन् । बाँकेमा ठूलो भूभागमा आकाशे पानीको भरमा खेती गरिन्छ ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले साउनको ३ गतेसम्म आइपुग्दा मुस्किलले ४६ प्रतिशत रोपाइँ भएको बताए । बुधबार विहानैदेखि वर्षा शुरु भएकाले अब धमाधम रोपाइँ शुरु हुने उनको विश्वास छ ।

बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धान खेती हुन्छ । राम्ररी पानी परेको बेलामा पनि यहाँको प्रतिकठ्ठा उत्पादन डेढ क्वीन्टल हाराहारीमा छ ।

यो वर्ष समयमा पानी नै नपरेकाले धान उत्पादन घट्ने निश्चित जस्तै भएको ढकालको भनाई छ । बाँकेमा असार १५ गते राम्ररी पानी परेको थियो । त्यसपछि अलिअलि पानी परे पनि रोपाइँ नै हुने गरी पानी परेको थिएन ।

बाँकेमा देशभरमै सर्वाधिक वर्षा

बाँकेमा बुधबार देशभरमै सर्वाधिक वर्षा भएको मापन गरिएको छ । बुधबार विहानैदेखि बाँके लगायतका जिल्लामा अत्याधिक वर्षा भएको हो । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाँकेका अनुसार बुधबार बाँकेको खजुरामा देशभरकै सर्वाधिक वर्षा भएको छ ।

मौसम पुर्वानुमान शाखाका अनुसार खजुरा क्षेत्रमा बुधबार विहान ३ घण्टाको अवधिमा १५५ मिलिमिटर पानी परेको मापन गरिएको छ । यो यस वर्ष देशभरमै परेको सबैभन्दा धेरै वर्षा हो । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार बाँके जिल्लाका केहि स्थानमा सामान्य डुवान भएपनि क्षतिका विवरण आएको छैन ।

उनले भने, ‘नेपालगन्ज लगायतका केहि स्थानमा सामान्य डुवान भएको छ । तर, धेरै क्षति भएको छैन । नदिको बहाव पनि सामान्य नै छ । मनसुन सक्रिय भएकोले सर्तक भने रहनु पर्ने अवस्था छ ।’

यसैगरी नेपालगन्जमा बुधबार विहान १ घण्टाको अवधिमा ८६ मिलिमिटर र कोहलपुरको ढकेरीमा ९६ मिलिमिटर पानी परेको मापन गरिएको सूचना अधिकृत ज्ञवालीले जानकारी गराए ।

मौसम पुर्वानुमान शाखाका अनुसार देशभर सामान्य बदली रही गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भू–भागहरु र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।
बाँके, बर्दिया जिल्लाका केही स्थानमा भारी वर्षा पनि भैरहेको हुनाले सतर्कता अपना मौसम विभागले सूचना दिएको छ ।