ठेकेदारले सेनालाई बुझायो होल्डिङ सेन्टर
File Photo
नेपालगन्ज १४ साउन : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १४, भवानीयापुरमा बनेको होल्डिङ सेन्टर ठेकेदार कम्पनीले नेपाली सेनालाई हस्तान्तरण गरेको छ । ठेकेदार कम्पनी हनुमान कन्ट्रक्सनले श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी उत्तम विष्टलाई होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरण गरेको हो ।
२०७८ साउनमा सम्झौता भएर निर्माण थालिएको होल्डिङ सेन्टर पटक–पटक म्याद थप्दै सम्पन्न गरिएको थियो । होल्डिङ सेन्टर एक हजार बेडको रहेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१५ भवानीयापुर स्थित ४ विघा ८ धुर क्षेत्रफलमा होल्डिङ सेन्टर निर्माण गर्न नेपाली सेनाले ‘श्री हनुमान कन्स्ट्रक्सन’ कम्पनीलाई जिम्मा दिएको थियो । उक्त कम्पनीसँग २०७८ साउन २४ गते २९ करोड ३८ लाख २० हजार ८९ रुपैयाँमा ठेक्का स्वीकृत भएर काम अगाडी बढाइएको हो ।
होल्डिङ सेन्टरको निर्माण नेपाली सेनामार्फत नै ठेकेदारलाई दिइएको थियो । ठेकेदारले काम सम्पन्न गरेर नेपाली सेनालाई हस्तान्तरण गरेको छ । सेनाले उक्त संरचना नेपाल सरकारलाई बुझाउने तयारी गरेको छ ।
श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी उत्तम विष्टले संरचना तयार भइसकेकाले अब स्थानीय निकाय वा प्रमुख जिल्ला अधिकारी कसलाई हस्तान्तरण गर्ने हो, माथिबाट त्यसको आदेश आएपछि नेपाली सेनाले हस्तान्तरण गर्ने बताए ।
सीमावर्ती जिल्ला भएको र सुरुवाती दुई चरणको कोरोना कालमा बाँके ‘हटस्पट’ बनेर विरामी राख्ने ठाउँ नभएपछि होल्डिङ सेन्टरको निर्माण गरिएको हो ।
यद्यपि, अहिले कोरोना संक्रमण व्यापक नभएकाले त्यो संरचना के का लागि प्रयोग हुन्छन्, त्यसको टुंगो लागिसकेको छैन । बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक प्रकोपका समयमा पनि भविष्यमा यो भवनलाई प्रयोग गर्न सकिन्छ ।
सरकारले २०७७ वैशाख ५ गते नेपाल–भारत सीमा नजिक एक–एक हजार जना क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । वैशाख १३ मा होल्डिङ सेन्टर बनाउने जिम्मा नेपाली सेनालाई दिइएको थियो ।
यसअघि कोरोना भाइरस संक्रमणले गाँजिरहँदा निर्माणाधिन होल्डिङ सेन्टर सञ्चालनमा ल्याउनुको साटो सम्बन्धित निकायले अनुगमन र निरीक्षणमै ९ महिना विताएका थिए । तर, पटकपटक गरिएको वाचा पुरा हुन सकेको थिएन ।
नेपालगन्ज उपमहानगरपालिका–१५ पिप्रहवामा नेपाली सेनाले होल्डिङ सेन्टर निर्माणलाई तीब्र पारेको भन्दै गत वर्ष पुष मसान्त भित्र सञ्चालनमा ल्याउने गरि कार्यलाई तीव्रता दिइएको बताइएको थियो तर, माघ १५ गते मात्र पुनः बाँकेमा निर्माणाधिन होल्डिङ सेन्टरको निरीक्षण गरिएको थियो । सो समयमा निर्माणाधिन उक्त होल्डिङ सेन्टरको नेपाली सेनाका उपरथी निरञ्जन कुमार श्रेष्ठसहितको टोलीले निरीक्षण गरेको थियो ।
थप समाचार
होल्डिङ सेन्टर सञ्चालनमा ल्याउनुको साटो निरीक्षण र अनुगमनमै ९ महिना वित्यो