मदुवाघाट पक्की पुलले जोड्यो बिनौना र कचनापुरलाई

नेपालगन्ज र कोहलपुरको दूरी घट्यो


मदुवाघाट पक्की पुलले जोड्यो बिनौना र कचनापुरलाई

File Photo

नेपालगन्ज २५ साउन : बाँकेको राप्ती नदीपारिका क्षेत्रलाई केही समय पहिलेसम्म जिल्लाको सबैभन्दा पिछडिएको र अविकसित क्षेत्र मानिँदै आएको थियो तर, सो क्षेत्रमा विकास निर्माणका विभिन्न काम हुँदै गएपछि अहिले सो क्षेत्रले क्रमशः कोल्टे फेर्दै गएको छ ।

बाँकेको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने राप्तीसोनारी र नरैनापुर गाउँपालिका क्षेत्रमा जनप्रतिनिधिको आगमनसंगै सडक, विद्युत्, पुल, तटबन्ध र सिँचाइलगायत स्वास्थ्य र शिक्षाका क्षेत्रमा धेरै काम गरिएकाले सो क्षेत्र पनि सुगम बन्दै गएको हो ।

राप्तीसोनारी गाउँपालिका –२ र ५ को सीमानामा पर्ने राप्ती नदीको मदुवाघाटमा पक्की पुल बनेपछि दुई गाउँबासीको सिधा सम्बन्ध जोडिनुका साथै सो क्षेत्रका बासिन्दाका दैनिकी समेत फेरिएकोछ ।

बाँकेको राप्तीसोनारी गाउँपालिकाको मदुवाघाटमा पक्की पुल निर्माण भएपछि सर्वसाधरणलाई आवागमनमा सहजता भएको छ । यसअघि पक्की पुल अभावमा ती गाउँका स्थानीयबासीले डुङ्गाको सहारामा राप्ती नदी वारपार गर्ने गर्दथे ।

Kids Festival 2022
kanti aarogya hospital

राप्तीसोनारी गाउँपालिका –२ र ५ को सीमानामा पर्ने राप्ती नदीको मदुवाघाटमा पाँच सय ५० मिटर लामो पक्की पुल निर्माण भएपछि वडा नम्बर– ५ बिनौना र वडा नम्बर– २ कचनापुरवासीको सिधा सम्बन्ध र सम्पर्क जोडिएको छ ।

पुल नहुँदा वर्षाद्को समयमा आवागमन ठप्प हुने र हिउँदका महिनामा जोखिम मोलेर डुङ्गामार्फत नदी वारपार गर्नुपर्ने बाध्यताको अब अन्त्य भएको बिनौनास्थित भुवरभवानी माध्यमिक विद्यालयका शिक्षक रुद्र डाँगीले बताउँछन् ।

राप्ती नदीवारी कचनापुर निवासी शिक्षक डाँगीलाई नदीपारी बिनौनास्थित विद्यालय पुग्न वर्षाद्को समयमा कठिन हुने गर्दथ्यो । अहिले पुल बनेपछि बिनौना र कचनापुरवासीलाई आवागमनमा सहज भएको उनको भनाइ छ ।

पुल नहुँदा कचनापुर र बिनौनावासीलाई सवारी साधनमार्फत नदी वारपार गर्न करिब २५ किलोमिटर टाढा अगैया पुग्नुपर्ने बाध्यता रहेको थियो । तर, पक्की पुल बनेसंगै अब भने यो बाध्यता सधैंका लागि हटेर गएकोछ ।
पुलको निर्माण कार्य सम्पन्न भएर सवारीसाधन चल्न थालेपछि कचनापुर र बिनौना क्षेत्रका हजारौं सर्वसाधारणले राहात महसुस गरेको राप्तीसोनारी गाउँपालिका–२ कचनापुरका वडाध्यक्ष ज्ञानेन्द्र ओली बताउँछन् ।

‘महेन्द्र राजमार्गबाट कोहलपुर हुँदै नेपालगन्ज जानुपर्दथ्यो, हाम्रा लागि यो रुट लामो र समय पनि बढि लाग्ने गर्दथ्यो’ राप्तीसोनारी टिकुलीपुरकी सुशीला खत्रीले भनिन्–‘यहाँबाट कोहलपुर पुग्दासम्म हामी मदुवाघाट भएर लगभग नेपालगन्ज पुगिसक्छौं । पुल बनेपछि समयको बचत मात्र भएन नेपालगन्जसम्मको दूरी छोटो समेत भएकोछ ।’

सुशीला जस्तै विनौना चिलहरियाकी स्मृति डाँगीलाई पनि यो पुलले उनको यात्रा छोटो बनाइदिएकोछ । उनी भन्छिन्–‘कोहलपुर जानुपर्दा कि अगैया भएर जानुपथ्र्यो कि त नेपालगन्ज पुगेर कोहलपुर जानुपर्दथ्यो ।’
विगतलाई सम्झदैँ उनले अगाडी थपिन्–‘नेपालगन्ज पुगेर कोहलपुर पुग्दासम्म यो बाटोबाट हामी एकैछिनमा कोहलपुर पुग्छौं । उता अगैयासम्म जानुपर्ने झन्झट अब रहेन ।’

विसं २०७४ बाट निर्माण सुरु भएको उक्त पक्की पुल ५ वर्षभित्र गत असार मसान्तमा निर्माण सम्पन्न गर्ने सम्झौता अनुरुप कम्पनीले पुलको निर्माण कार्य सम्पन्न गरेको छ ।

तुँण्डी रसुवा कुमार श्रेष्ठ जेभीले रु ७३ करोडको लागतमा सो पुलको निर्माणको ठेक्का पाएको थियो । ११ वटा पिल्लर रहेको उक्त पक्की पुल ७.५ मिटर चौडाइ पिच र पुलको दुवै साइडमा १ः७५ मिटरको पैदल यात्रुका लागि बाटो गरी जम्मा ११ मिटर पुलको चौडाइ रहेको छ ।

पुलको निर्माण कार्य समयमै पूरा भई सञ्चालनमा आएपछि आवागमनमा जनतालाई निकै सहज भएको राप्तीसोनारीका स्थानीय नागरिक अगुवा रामदास थारु बताउँछन् ।

त्यसो त जनप्रतिनिधिको प्रयास र राज्यले समेत ग्रामीण विकासलाई प्राथमिकतामा राखेर थालेको विकास निर्माण र सुधारको कार्यले ग्रामीण भेगको मुहार फेरिदैँ गएकोछ ।

वर्षौंदेखि झेल्दै आएको विद्युतीकरणको समस्या समाधानसंगै राप्तीसोनारी र नरैनापुर क्षेत्रमा सञ्चार, ईन्टरनेट पुगिसकेकोछ । यस्तै राप्तीसोनारी गाउँपालिकाको मोरङ्गा खोलामा निर्माण भइरहेको ठूलो पुल र राप्तीपारिको फत्तेपुरबाट बिनौना हुँदै भुवरभवानी नजिकबाट निस्कने हुलाकी सडक निर्माणको कार्य सम्पन्न भएपछि सो क्षेत्र सुगममा परिणत हुनेमा दुइमत छैन ।