‘पदका लागि दल बदल्ने’ विजय : काँग्रेस, जसपा हुँदै एमालेमा प्रवेश


‘पदका लागि दल बदल्ने’ विजय : काँग्रेस, जसपा हुँदै एमालेमा प्रवेश

नेपालगन्ज १ भदौ : नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टीमा रहिसकेका बाँकेका व्यापारी तथा नेता पशुपतिदयाल मिश्र गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मुखमा एमालेमा प्रवेश गरे ।

तमलोपा राजपामा परिणत भएपछि २०७४ को स्थानीय निर्वाचनमा पार्टीमा आन्तरिक विवाद भएपछि अलग भएका मिश्र एमालेको सूर्य चिह्न लिएर उम्मेदवार बने । तर, उनी औपचारिक रुपमा भने २०७८ मंसिर १ गते मात्रै एमालेमा प्रवेश गरे । हाल उनी नेकपा एमालेको केन्द्रिय सदस्य छन् ।

२०७४ सालको चुनावमा बाँके क्षेत्र नम्बर–२ बाट संघीय संसदमा प्रतिस्पर्धा गरेका उनी सो बेला पराजित भएका थिए । प्रतिनिधि सभामा लडेर पनि हार ब्यहोरेका मिश्रलाई पद र कुर्सीको लोभले छोडेन र अन्ततः निर्वाचनको मुखमा अवसर खोज्दै दल बदलेका मिश्र स्थानीय चुनाव–२०७९ मा नेकपा एमालेबाट नेपालगन्जको मेयरमा लडे अनि फेरि हारे ।

लोसपामा हुँदा २०७२ सालमा मधेश आन्दोलन भयो, त्यसबेला मिश्रले भारतीय भूमिमा बसेर नेपालतर्फ ढुंगामुढा गरेको भन्दै निर्वाचनका बेला यस्तो व्यक्तिलाई किन भोट दिने भनेर उनी विरुद्ध चार्ज लागेपछि निर्वाचनको मतपरिणाम उल्टियो ।

Kids Festival 2022
kanti aarogya hospital

पदकै लागि कहिले काँग्रेस, कहिले एमाले र कहिले माओबादी बनेका नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका नन्दलाल वैश्य स्थानीय तह–२०७९ को निर्वाचन हुन ९ दिन मात्र बाँकी रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपामा प्रवेश गरे ।

उनी चुनाव लड्नकै लागि ४ वटा राजनीतिक दल बदल्दै अन्ततः राप्रवामा प्रवेश गरि नेपालगन्ज उपमहानगरपालिकाको मेयरका उम्मेदवार बने ।

नेपालगन्जको मेयरको टिकट नपाएको भन्दै नन्दलालले निर्वाचनको मुखमा नेकपा माओबादी केन्द्र त्यागेर राप्रपामा प्रवेश गरेपछि पदकै लागि नन्दलालले पटक–पटक दल बदल्ने गरेको बाँकेको राजनीतिक वृत्तमा चर्चा चुलियो । यद्यपी यो वैश्यका लागि नयाँ र नौलो विषय होइन् । तर, राप्रपाबाट नेपालगन्जको मेयरमा उठेका बैश्य स्थानीय तह निर्वाचन–२०७९ मा पराजित भए ।

सेतोखरीलाई प्राप्त स्रोतको सूचना अनुसार वैश्यले नेकपा एमालेको सदस्यता २०७४/७/१४ गते लिएका थिए । नेपालगन्जको सिटी प्यालेसको होटलमाथि एमाले नेता शंकर पोखरेलबाट देवराजभारको उपस्थितीमा वैश्यले एमालेका सदस्यता लिएका हुन् । कम्युनिष्ट पार्टी एकीकृत भएका बेला माओबादीतर्फ झुकाव राखेका वैश्यले गत वर्ष मात्रै औपाचरिक रुपमा कम्युनिष्ट फुटेपछि माओबादी केन्द्रमा फर्किए ।

यो अवधिसम्म वैश्यले माओबादीको सदस्यता लिएका थिएनन् । करिब ७ महिना अघिमात्र माओबादी केन्द्रको सदस्यता लिएका वैश्य माओबादी केन्द्रको नेपालगन्ज उपमहानगरपालिकाको नगर कमिटि सहसचिव थिए । उनी राप्रपा प्रवेश गरेको २४ घण्टा नबित्दै नेपालगन्जको मेयरको टिकट पाउन सफल भए ।

यी त भए गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका मुखमा पदकै लागि दल बदल्नेको अवस्था । यतिबेला हामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन उन्मुख छौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा भएसँगै चुनावसँग सम्बन्धित गतिविधि बढ्न थालेको छ । विभिन्न राजनीतिक दल र तिनका नेताहरु चुनाव तयारीमा जुटेका छन् ।

उम्मेदवार बन्न आकांक्षी देखिएका नेताहरु आफ्नो निर्वाचन क्षेत्र केन्द्रित गतिविधिमा सक्रिय हुन थालेका छन् । मतदाताले पनि आफ्नो क्षेत्रमा को–को उम्मेदवार बन्छन् भन्नेबारे चासो राख्न थालिसकेका छन् ।
चुनावकै समयमा चर्चामा आउने एउटा विषय हो ‘दलबदलु’ ।

निर्वाचनको समयमा अवसर चहार्दै हिँड्ने ‘दलबदलु नेता’हरू पार्टी परित्याग गर्नु र प्रवेश गर्नुलाई टिकट सुरक्षित गर्ने ‘अस्त्र’को रूपमा प्रयोग गर्ने गरेका छन् । निर्वाचनको बेला राजनीतिक स्वार्थ पूर्तिका लागि मात्र पार्टी बदल्ने लहर पहिलेदेखिकै हो । बाँकेमा पालिकादेखि जिल्ला स्तरका नेताहरू एकपछि अर्को गर्दै पार्टी बदल्ने लहर नै चलेको छ ।

यसको पछिल्लो उदाहरण हो– लुम्बिनी प्रदेशका पूर्व कृषिमन्त्री विजय बहादुर यादव ।

जनता समाजवादी पार्टी(जसपा)को कारबाहीमा परेका विजयबहादुर यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । बाँकेको खजुरामा मंगलबार आयोजित कार्यक्रममा प्रमुख अतिथी समेत रहेका एमालेका केन्द्रिय उपाध्यक्ष युवराज ज्ञवालीले उनलाई प्रवेश गराएका हुन् ।

यादवलाई जसपाले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । डाक्टर अरुण कोइराला काँग्रेस बाँकेको सभापति हुँदा यादव काँग्रेस बाँकेको सचिव थिए । तत्कालिन समयमा सुशील कोइराला पार्टीको केन्द्रिय सभापति र प्रधानमन्त्री हुँदा बाँकेमा आउने हरेक बजेट यिनै यादवले चलाउने गरेका थिए ।

त्यस क्रममा काँग्रेस बाँकेको कार्यालय रहेको विपी स्मृती भवनको माथिल्लो तल्ला निर्माण गर्ने क्रममा यादवमाथी आर्थिक अनियमितता गरेको आरोप समेत लागेको थियो । आर्थिक अनियमितताका कारण उक्त भवनको माथिल्लो तला बर्षौसम्म अधुरो बन्न पुगेको थियो ।

त्यसपछि काँग्रेस छाडेर तत्कालिन संघीय समाजवादी फोरममा प्रवेश गरेका उनी २०७४ सालमा प्रदेश सभा–२ ‘क’ बाँकेबाट लुम्बिनी प्रदेशको सांसदमा निर्वाचित भएका थिए । जनता समाजवादी पार्टी(जसपा) को सांसदमा रहँदा पार्टीको नीति विपरित तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलको मन्त्री मण्डलमा कृषी मन्त्री बनेपछि उनलाई पार्टीले कारबाही गरेको थियो ।

त्यसयता कुनैपनि पार्टीमा आवद्ध नरहेका यादवले गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट बाँकेको डुडुवा गाउँपालिकामा आफ्नी धर्मपत्नीलाई अध्यक्ष पदको उम्मेदवार बनाएका थिए ।
यादव मंगलबार विधिवत रुपमा एमालेमा प्रवेश गरे । उनी प्रवेश भएपछि एमाले भित्रै रहेका कतिपय नेता, कार्यकर्ता असन्तुष्ट देखिएका छन् ।

वर्षौदेखी पार्टीमा योगदान गरेका नेता, कार्यकर्ताको अबमुल्यन गरेर अवसरवादी ब्यक्तिलाई पार्टीमा प्रवेश गराएको भन्दै उनीहरु असन्तुष्ट देखिएका हुन् । यादव आसन्न मंसिर ४ गते हुन लागेको निर्वाचनमा लुम्बिनी प्रदेशका लागि एमालेबाट टिकट फुत्काउने दाउमा छन् ।

त्यसो त यादवको कुनै ‘राजनीतिक जात’ छैन । अवसर र पदका लागि उनी कुन बेला कतातिर मोडिन्छन् स्वयम यादवलाई समेत थाहा छैन । यतिमात्र होइन आफू प्रवेश गरेको दलमा समेत उनी कटिबद्ध हुदैनन् ।

यादवकै यही चरित्रका कारण यतिबेला उनको राम्रो पकड भएको भनिएको बाँके क्षेत्र नम्बर–२ को विशेषगरि डुडुवा गाउँपालिकाको होलिया, बेतहनी, बनकट्टीमा यादव ढुलमुले र अवसरबादी नेताको रुपमा परिचित छन् ।
पद मात्र ठूलो कुरा होइन, राजनीतिप्रतिको निष्ठा पनि आवश्यकछ । कटिबद्ध हुनु पनी महत्वपूर्ण पक्ष हो ।

यादव विचारहिन, गैरजिम्मेवार, ढुलमुले र अवसरबादी ब्यक्तिको रुपमा परिचित भएकै कारण उनी जहाँ जान्छन् त्यहाँ राजनीतिक तिक्तता ल्याउँछन् । अब त्यो रोगको सामना नेकपा एमालेले गर्ने संकेत देखिसकेकोछ ।