कान्ति आरोग्य अस्पतालमा विरामीको पेट चिरियो, एपेन्डिक्स भेटिएन

१० हजार नि असुलियो, चिरिएको आलो घाउ लिएर सुमन रुँदै घर फर्किइन्


कान्ति आरोग्य अस्पतालमा विरामीको पेट चिरियो, एपेन्डिक्स भेटिएन

नेपालगन्ज २५ भदौ : नेपालगन्ज धम्बोझी चोक नजिक रहेको कान्ति आरोग्य अस्पतालमा एक जना विरामीको अनाहकमा पेट चिरिएको छ । डाक्टर रोमा बोराले सञ्चालन गरेको कान्ति आरोग्य अस्पतालमा एपेन्डीक्स भएको भन्दै चिकित्सकले एक विरामी युवतीको पेट चिरिदिए तर, एपेन्डिक्स भेटिएन ।

कान्ति आरोग्य अस्पताल नेपालगन्ज घर भएकी बालरोग बिशेषज्ञ डाक्टर रोमा बोराले सञ्चालन गरेकी हुन् । सहन नसक्ने गरी पेट दुखेर अस्पताल आएकी बर्दिया राजापुर नगरपालिका वडा नम्बर–८ निवासी ३१ वर्षीया सुमन चौधरीले यतिलामो चिरिएको आलो घाउ सहितको पेट लिएर भदौ २५ गते शनिबार दिउँसो घर फर्कनु पर्यो ।

तल्लो पेटको दाँया भाग दुखेर छटपटाइरहेकी सुमनलाई कान्ति आरोग्य अस्पतालमा चिकित्सकले ४ दिन अघि भदौ २१ गते भर्ना गरी सोही दिन नै अप्रेशन गरे । एपेन्डिक्स भएको भन्दै चिकित्सले सुमनको पेट त चिरे तर, १ घण्टा ३० मिनेटसम्म खोज्दा पनि एपेन्डिक्स भेटीएन ।

अप्रेशनका लागि आधा शरीर अचेत बनाउन सुमनको ढाडमा लगाएको इन्जेक्सनको समयावधी १ घण्टा ३० मिनेटको मात्र रहेछ । ‘एपेन्डिक्स देखिएर सुमनको अप्रेशन गरिएको हो । पेट चिरी सकेपछि डेढ घण्टासम्म खोजियो एपेन्डिक्स भेटिएन, इन्जेक्सन दिएको समयावधी सकिन थालेपछि चिरेको पेट सिलाउन बाध्य भए ।’ चिकित्सकले भने ।

Kids Festival 2022
kanti aarogya hospital

पहिलो पटक आमा बन्ने योजना बुन्दै गरेकी उनी चिरिएको पेट लिएर घर फिर्ता भएकीछन् । चिकित्सकको गम्भीर ‘लापरबाही’का कारण कान्ति आरोग्य अस्पताल नेपालगन्जमा भर्ना भएकी सुमनले अनाहकमा सास्ती भोग्नु परेकोछ ।

पेट दुखेर भर्ना भएकी सुमनलाई एपेन्डिक्सको समस्या भएको भन्दै अप्रेशन गर्नुपर्ने डाक्टर विक्रम बासुकलाले सुझाएका थिए । डाक्टर विक्रमको सुझाव तथा मेडिकल रिर्पोटमा समेत एपेन्डिक्सको समस्या भएको पाइएपछि उनको शल्यक्रिया गरियो । तर, एपेन्डिक्स भेटिएन ।

एपेन्डिक्सको समस्या भएको भन्दै सुमनको पेट चिरियो तर, एपेन्डिक्स भेटिएन । जुन समस्या लिएर अस्पताल भर्ना भएकी थिइन सुमन अहिले सो समस्या नै नभएर ब्यर्थै पेटको अप्रेशन गरिएको भन्दै तनावमा छिन् ।
एपेन्डिक्स नभेटिएपछि चिकित्सकको लापरबाहीले अनाहकमा दुःख पाएको पीडित सुमनले बताईन् । ‘पेट दुखेपछि अस्पताल भर्ना भएकी थिए । डाक्टरले एपेन्डिक्सको समस्या बताए । अप्रेसन गरेर फाल्नु पर्छ भनेपछि म राजी भए ।’ पीडित विरामीले भनिन्–‘मेरो अप्रेसन भयो तर, डाक्टरले भनेको एपेन्डिक्स नै भेटिएन । अहिले चिरिएको पेटमा टाँका लगाएर घर फर्केकी छु ।’

एपेन्डिक्स नै नभेटिएपछि अप्रेशन शुल्क सहित सबै खर्च तिर्न अस्पतालले सुमनको परिवारलाई शनिबार निकै दवाव दियो । कान्ति आरोग्य अस्पतालले सुमनको अनाहकमा पेट चिरेर २४ हजार नतिरे सम्म घर जान समेत दिएन । यो कुरा बाहिर आएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले सञ्चालक डाक्टर रोमा बोरालाई भनेपछि छुट त गरे तर, १० हजार जति रकम अस्पतालले लगि छाड्यो ।

आर्थिक अवस्था कमजोर रहेका थारु दम्पत्ती एकातिर ब्यर्थमै पेट चिरिदिएको कारण तनावमा छ भने अनाहकमा अस्पतालले पैसा लगिदिएकोमा झनै तनावमा छ ।

‘जुन समस्या हो भनेर डाक्टरले उपचार गरे, त्यो समस्या नभेटिएपछि शुल्क किन तिर्नु’ पीडित विरामीका परिवारले भने–‘डाक्टरको लापरबाहीका कारण हाम्री सुमनको ज्यान गएको भए को जिम्मेवार हुनेथियो ? आफै गल्ती गर्ने अनि शुल्क तिर्न दवाव दिने ।’

अस्पताल प्रशासनले शुल्क नतिरेपछि विरामी डिस्चार्ज नगर्ने भन्दै दावाव दिन थालेपछि उक्त घटना बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री समक्ष पुगेको थियो । प्रमुख जिल्ला अधिकारी खत्रीले घटनाका विषयमा चासो लिएपछि अस्पताल प्रशासनले विरामीलाई डिस्चार्ज गरेको हो ।

‘एपेन्डिक्सको उपचार विधि अप्रेशन र औषधी सेवन गरेर हुन्छ । म कहाँ यो केस भदौ २१ गते दिउँसो आएपछि ‘डाइगोनिसस’ गरियो । एपेन्डिक्सलाई संकेत गर्ने गरि विरामीको लक्षण पनि थियो । पेट छाम्दा त्यस्तो फिल पनि भयो । रगत रिर्पोट र भिडियो एक्सरेले समेतले एपेन्डिक्स नै भएको देखायो ।’ विरामीको निदानात्मक उपचारका लागि गरिएको डाइगोनिससका बारेमा जानकारी दिदैँ डाक्टर विक्रमले भने–‘ प्रेगनेन्सी नेगेटिभ छ । बच्चाको प्लान गरिरहनुभएको रहेछ । उहाँको सम्पूर्ण रिर्पोटले एपेन्डिक्स कै समस्या भएको संकेत गरेपछि सोही दिन साँझ (भदौ २१गते) अप्रेसन गरिएको हो । करीब डेढदेखि दुई घण्टासम्म चलेको अप्रेसनमा एपेन्डिक्स खोज्दा भेटिएन ।’ डाक्टर बिक्रम नेपाली सेनाका बाहालवाला डाक्टर हुन् ।

‘अप्रेसनका दौरान एपेन्डिक्स नभेटिएपछि बेहोस गरेर अप्रेसन गर्नुपर्ने भन्दै विरामीको श्रीमानसँग परामर्श गरियो । उहाँहरुले मान्नु भएन ।’ डाक्टर विक्रमले भने–‘दुई चार दिन इन्जिेक्सन र एन्टिबायोटिक चलाउने भन्दै डिस्चार्ज गरिएन । आज(शनिबार) मात्र डिस्चार्ज गरिएको हो ।’

यता कान्ति आरोग्य अस्पतालकी सञ्चालक एवम वरीष्ठ बाल तथा नवजात शिशु डाक्टर रोमा बोराले विरामीको पेट चिर्दा एपेन्डिक्स नभेटिएको पुष्टि गरिन् ।

‘भर्ना भएकी विरामीको शल्यक्रिया गर्दा एपेन्डिक्स भेटिएन, तर यो गम्भीर लापरबाही होइन ।’ चिकित्सक र अस्पतालको बचावट गर्दै डाक्टर बोराले भनिन्–‘मेरा लागि यो सिकाई भएकोछ । यस्ता समस्या नयाँ र नौलो होइन । कतिपय अवस्थामा एपेन्डिक्सको समस्या देखिएपनि अप्रेसन गर्दा एपेन्डिक्स नभेटिन सक्छ । यो त्यही केस मध्येको एक हो ।’

निकट भविष्यमा यस्ता घटना दोहरिन नदिन आफू प्रतिबद्ध भएको बताउँदै डाक्टर बोराले भनिन–‘हामीले विरामी र उनको परिवारलाई शुल्क तिर्न कुनै दवाव दिएनौं । हामीले त बेड चार्ज, ओटी चार्ज सबैमा छुट दिएका छौं । शल्यक्रिया गर्दा प्रयोग भएको मेडिसिन खर्च मात्र लिएका हौं ।’