बडादशैं : घरघरमा घटस्थापना, चोक–चोकमा दुर्गामूर्ति


बडादशैं : घरघरमा घटस्थापना, चोक–चोकमा दुर्गामूर्ति

त्रिभुवन चोक नजिक स्थापना गरिएको दुर्गाको मूर्ति । नवरात्रभरी वैदिक विधिपूर्वक पूजापाठ गरि दशैंको भोलिपल्ट नजिकैको पोखरी तथा नदीमा लगेर विर्सजन गर्ने गरिन्छ । तस्विर: विजय मल्ल/ सेतोखरी

नेपालगन्ज १० असोज : कोरोना तथा डेंगुको कहरकाबीच नेपालीहरुको महान चाड बडादशैँ सोमबारबाट शुरु भएको छ । आज दशैंको दोस्रो दिन । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैं सोमबारबाट शुरु भएको हो ।

दशैंको पहिलो दिन हिजो(सोमबार) बैदिक विधिपूर्वक घर–घरमा घटस्थापना गरिएकोछ । यही दिनदेखि नवरात्र शुरु हुन्छ । नवरात्रमा दुर्गा स्तोत्र (सप्तसति चण्डी) पाठ गरी शक्ति स्वरुपा दुर्गाको स्तुती गरिन्छ । लिपपोत गरी चोखो गरिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरेर बालुवा मिश्रित माटोमा जौं, तिल, मकै छरेर जमरा राखी घटस्थापना गर्ने चलन छ ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाईन्छ । बडा दशैँको पहिलो दिन हिजो घर–घरमा बैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाककै दिनदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

यसदिन बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौं (यव) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ ।

Kids Festival 2022
kanti aarogya hospital

जौंको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले यसदिन यव (जमरा) रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गर्नेगरिन्छ ।

जमरामा जौं बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधी नभएको धर्मशास्त्रविद बताउँछन् । कुल परम्परा र स्थान विशेषानुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ । घटस्थापनाकै दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले यसदिनलाई घटस्थापना भन्ने गरिएको हो । यसदिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ ।

दुर्गादेवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवम् आराधना गर्ने परम्परा नेपाली समाजमा छ ।

नवरात्र भनेर समेत चिनिने दशैँ विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ ।

कोरोनाका कारण दुई वर्षदेखि नवरात्रका अवसरमा नेपालगन्जको रामलिला मैदानमा १५५ वर्षदेखि गरिदैँ आएको रामायण सम्बन्धि नाटक रामलीला मञ्चन पुनः सुरु भएकोछ । यसअघि प्रतिकात्मकरुपमा विशेष पूजापाठ गरिदैं आएको थियो ।

यसबीच, सोमबार दशैंको पहिलो दिन बाँकेका विभिन्न स्थानमा दुर्गामूर्ति स्थापना गरिएकोछ । दुर्गामूर्ति स्थापनाका लागि नेपालगन्जका विभिन्न स्थानमा ब्यवसायीकरुपमा समेत दुर्गामूर्ति निर्माण गरिएका छन् ।

यसअघि फ्याट्फुट्ट स्वदेशमै मूर्ती निर्माण गरिएपनि उक्त मूर्ति प्रयाप्त नभएपछि सीमावर्ती भारतको रुपैडिहा, बाबागञ्ज लगायतका क्षेत्रबाट महंगोमा दुर्गाका मुर्ती खरिद गरि ल्याइन्थ्यो । तर, पछिल्लो समय बाँकेको नेपालगन्जसंगै विभिन्न स्थानमा यहीका मूर्तिकारले मूर्ति बनाउन थालेपछि सहजता भएकोछ ।

घटस्थापनाको साँझ बागेश्वरी मन्दिरबाट प्रज्जवलित बत्ति लगेर दुर्गामूर्ति प्रतिस्थापन गर्ने चलन रहेको बाँकेका अवध सँस्कृतिका जानकार विष्णुलाल कुमाल बताउँछन् ।

नेपालगन्जको सदरलाईनबाट लैजादै गरिएको दुर्गाको मूर्ति । तस्विर : विजय मल्ल सेतोखरी

खासगरी मधेशी समुदायले नवरात्रभरी व्रत बस्ने र दुर्गा भवानीको पूजापाठ गर्ने गर्छन् । घटस्थापनाको स्थापना गरिएका मूर्ति नरवारात्रसम्म वैदिक विधिपूर्वक पूजापाठ गरि दशैंको भोलिपल्ट नजिकैको पोखरी तथा नदीमा लगेर विर्सजन गर्ने गरिन्छ ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो दुइवर्षदेखि मुर्ती स्थापना गरिने कार्य प्रभावित बनेपनि यसवर्ष कोरोना भाइरस संक्रमण दर कम भएसंगै चोकचोक र टोलटोलमा मुर्ती स्थापनाको संख्यामा बढोत्तरी भएकोछ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाका लागि असोज १० गते बिहान १०ः२३ बजेको साइत र आज (असोज ११ गते) झण्डा फेर्ने साइत विहान ११ः११ बजे उत्तम रहेको छ ।

असोज १४ गते शुक्रबार पचलीभैरव यात्रा हुने भएको छ । असोज १६ गते आईतबार फूलपाती पर्व परेको छ । यसै दिन बिहान १०ः०५ बजे तुलजा भवानी यात्राको साइत जुरेको छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११ः३५ बजेको छ । असोज १७ गते सोमबार महाअष्टमी पर्व परेको छ । राति भने कालरात्रि पर्व मनाइन्छ ।

असोज १८ गते मङ्गलबार महानवमी पर्व परेको छ । यस वर्ष विजया दशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन बिहान ७ः३५ बजे तुलजा भवानी यात्राको साइत छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने ८ः४७ बजे रहेको समितिले जनाएको छ । खड्गयात्रा पनि यसै दिन परेको छ । यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ ।

असोज २२ गते शनिबार सबै बलिपूर्ति गर्नुपर्ने छ । असोज २३ गते आईतबार कोजाग्रत पूर्णिमा पर्व परेको छ । यस दिन बेलुकी घर–घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दशैँ पर्व समापन हुन्छ ।

थप समाचार

डेढ सताब्दीदेखि नेपालगन्जमा रामलीला मञ्चन

आजबाट बडादशैँ शुरु

यस्तो छ जमरा उमार्ने विधी र यसको धार्मिक महत्व तथा स्वास्थ्य लाभ