त्रिभुवन चोक नजिक स्थापना गरिएको दुर्गाको मूर्ति । नवरात्रभरी वैदिक विधिपूर्वक पूजापाठ गरि दशैंको भोलिपल्ट नजिकैको पोखरी तथा नदीमा लगेर विर्सजन गर्ने गरिन्छ । तस्विर: विजय मल्ल/ सेतोखरी
नेपालगन्ज १० असोज : कोरोना तथा डेंगुको कहरकाबीच नेपालीहरुको महान चाड बडादशैँ सोमबारबाट शुरु भएको छ । आज दशैंको दोस्रो दिन । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैं सोमबारबाट शुरु भएको हो ।
दशैंको पहिलो दिन हिजो(सोमबार) बैदिक विधिपूर्वक घर–घरमा घटस्थापना गरिएकोछ । यही दिनदेखि नवरात्र शुरु हुन्छ । नवरात्रमा दुर्गा स्तोत्र (सप्तसति चण्डी) पाठ गरी शक्ति स्वरुपा दुर्गाको स्तुती गरिन्छ । लिपपोत गरी चोखो गरिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरेर बालुवा मिश्रित माटोमा जौं, तिल, मकै छरेर जमरा राखी घटस्थापना गर्ने चलन छ ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाईन्छ । बडा दशैँको पहिलो दिन हिजो घर–घरमा बैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाककै दिनदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
यसदिन बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौं (यव) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ ।
जौंको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले यसदिन यव (जमरा) रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गर्नेगरिन्छ ।
जमरामा जौं बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधी नभएको धर्मशास्त्रविद बताउँछन् । कुल परम्परा र स्थान विशेषानुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ । घटस्थापनाकै दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले यसदिनलाई घटस्थापना भन्ने गरिएको हो । यसदिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ ।
दुर्गादेवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवम् आराधना गर्ने परम्परा नेपाली समाजमा छ ।
नवरात्र भनेर समेत चिनिने दशैँ विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ ।
कोरोनाका कारण दुई वर्षदेखि नवरात्रका अवसरमा नेपालगन्जको रामलिला मैदानमा १५५ वर्षदेखि गरिदैँ आएको रामायण सम्बन्धि नाटक रामलीला मञ्चन पुनः सुरु भएकोछ । यसअघि प्रतिकात्मकरुपमा विशेष पूजापाठ गरिदैं आएको थियो ।
यसबीच, सोमबार दशैंको पहिलो दिन बाँकेका विभिन्न स्थानमा दुर्गामूर्ति स्थापना गरिएकोछ । दुर्गामूर्ति स्थापनाका लागि नेपालगन्जका विभिन्न स्थानमा ब्यवसायीकरुपमा समेत दुर्गामूर्ति निर्माण गरिएका छन् ।
यसअघि फ्याट्फुट्ट स्वदेशमै मूर्ती निर्माण गरिएपनि उक्त मूर्ति प्रयाप्त नभएपछि सीमावर्ती भारतको रुपैडिहा, बाबागञ्ज लगायतका क्षेत्रबाट महंगोमा दुर्गाका मुर्ती खरिद गरि ल्याइन्थ्यो । तर, पछिल्लो समय बाँकेको नेपालगन्जसंगै विभिन्न स्थानमा यहीका मूर्तिकारले मूर्ति बनाउन थालेपछि सहजता भएकोछ ।
घटस्थापनाको साँझ बागेश्वरी मन्दिरबाट प्रज्जवलित बत्ति लगेर दुर्गामूर्ति प्रतिस्थापन गर्ने चलन रहेको बाँकेका अवध सँस्कृतिका जानकार विष्णुलाल कुमाल बताउँछन् ।
खासगरी मधेशी समुदायले नवरात्रभरी व्रत बस्ने र दुर्गा भवानीको पूजापाठ गर्ने गर्छन् । घटस्थापनाको स्थापना गरिएका मूर्ति नरवारात्रसम्म वैदिक विधिपूर्वक पूजापाठ गरि दशैंको भोलिपल्ट नजिकैको पोखरी तथा नदीमा लगेर विर्सजन गर्ने गरिन्छ ।
कोरोना भाइरस संक्रमणका कारण पछिल्लो दुइवर्षदेखि मुर्ती स्थापना गरिने कार्य प्रभावित बनेपनि यसवर्ष कोरोना भाइरस संक्रमण दर कम भएसंगै चोकचोक र टोलटोलमा मुर्ती स्थापनाको संख्यामा बढोत्तरी भएकोछ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाका लागि असोज १० गते बिहान १०ः२३ बजेको साइत र आज (असोज ११ गते) झण्डा फेर्ने साइत विहान ११ः११ बजे उत्तम रहेको छ ।
असोज १४ गते शुक्रबार पचलीभैरव यात्रा हुने भएको छ । असोज १६ गते आईतबार फूलपाती पर्व परेको छ । यसै दिन बिहान १०ः०५ बजे तुलजा भवानी यात्राको साइत जुरेको छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११ः३५ बजेको छ । असोज १७ गते सोमबार महाअष्टमी पर्व परेको छ । राति भने कालरात्रि पर्व मनाइन्छ ।
असोज १८ गते मङ्गलबार महानवमी पर्व परेको छ । यस वर्ष विजया दशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन बिहान ७ः३५ बजे तुलजा भवानी यात्राको साइत छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने ८ः४७ बजे रहेको समितिले जनाएको छ । खड्गयात्रा पनि यसै दिन परेको छ । यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ ।
असोज २२ गते शनिबार सबै बलिपूर्ति गर्नुपर्ने छ । असोज २३ गते आईतबार कोजाग्रत पूर्णिमा पर्व परेको छ । यस दिन बेलुकी घर–घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दशैँ पर्व समापन हुन्छ ।
थप समाचार
डेढ सताब्दीदेखि नेपालगन्जमा रामलीला मञ्चन
यस्तो छ जमरा उमार्ने विधी र यसको धार्मिक महत्व तथा स्वास्थ्य लाभ
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर