सांसद बन्ने रेसबाट ‘रिङ आउट’ भएपछि काँग्रेसमा चरम असन्तुष्टि

सहमतिबाटै सूची तयार भएको हो : काँग्रेस प्रवक्ता, सूची नसच्याए असहयोग गर्ने कोइराला पक्षको चेतावनी


सांसद बन्ने रेसबाट ‘रिङ आउट’ भएपछि काँग्रेसमा चरम असन्तुष्टि

File Photo

नेपालगन्ज ११ असोज : आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीका कारण नेपाली काँग्रेसमा चरम असन्तुष्टि देखिएकोछ ।

नेपाली काँग्रेसमा प्रतिनिधिसभा समानुपातिकतर्फ ११० जनाका लागि एक हजार ११६ जनाको नाम सिफारिस भएको थियो । काँग्रेसले असोज ३ गते निर्वाचन आयोगमा बुझाएको बन्दसूची अनुसार सांसद बन्ने रेसबाट एक हजार ६ जना ‘रिङ आउट’ भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा असोज २ र ३ गते बसेको संसदीय समितिको बैठकले एक हजार ११६ जनाबाट ११० जनाको नाम छनोट गरी निर्वाचन आयोगमा बुझाएको थियो ।

सूची नसच्याए निर्वाचनमा असहयोग गर्ने कोइराला पक्षको चेतावनी

Kids Festival 2022
kanti aarogya hospital

पूर्व सहमतिविपरीत संस्थापन पक्षले आफूनिकट अधिकांश नेताहरुको नाम बन्द सूचीमा राखेपछि कोइराला पक्षमा असन्तुष्टी देखिएको छ । काँग्रेसको १४ औँ महाधिवेशनपछि देखिएको गुटबन्दीको असर बढ्दै जाँदा समानुपातिक बन्द सूची नसच्चाए चुनावमा असहयोग गरेर जाने कोइरला पक्षले चेतवनी दिएको छ ।

कोइराला पक्षका प्रदेश १ का नेताहरुका अनुसार समानुपातिकको सूचीमा कम्तिमा ४० प्रतिशत आफूहरुका नेतारुको नाम राख्ने सहमति भएको थियो । ४० प्रतिशतको सहमति भए पनि कम्तिमा ३० प्रतिशत कोइराला पक्षका नेताहरुलाई सूचीमा राखिए स्वीकार गर्ने रणनीति उनीहरुको थियो । तर, सार्वजनिक भएको सूचीमा २० प्रतिशत पनि नपरेपछि कोइराला पक्षका नेताहरु असन्तुष्ट बनेका छन् ।

सार्वजनिक भएको सूचीअनुसार लिलाकुमारी राई, शिला इजम, विदुर बस्नेत, केदार बाँस्कोटा, देवराज तामाङ र चन्द्र लिम्बू मात्रै कोइराला पक्षका हुन् । ३७ जनाको बन्द सूचीमा अरु देउवा, सिटौला र विजय गच्छदारनिकट नेताहरु परेका छन् । सिटौला र गच्छदारसमेत देउवा समूहमा रहेकाले कोइराला पक्ष असन्तुष्ट बनेको छ ।

असन्तुष्ट नेता तथा कार्यकर्ताहरु सूची सच्याउन दबाब दिने उद्देश्यले काठमाडौं जाने क्रम बढेको छ ।

सहमतिबाटै सूची तयार भएको हो : काँग्रेस प्रवक्ता

नेपाली काँग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले सहमतिबाटै समानुपातिक सूची तयारी भएको जिकिर गरेका छन् । पार्टी कार्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा डाक्टर महतले समानुपातिक सूची तयार गर्दा एकलौटी गरिएको भन्ने आरोपमा कुनै सत्यता नरहेको बताए ।

उनले भने, ‘पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय बोर्डका सदस्यहरु समावेश भएर सहमतिमा सूची पेश गरिएको हो ।’ उनले एउटा पक्षलाई पक्षपोषण गरेर अर्कालाई कमजोर गर्ने केही नभएको बताए । पार्टीभित्र एकलौटी गरियो, छलफल भएन भन्ने संस्थापन इतर पक्षको आरोपमा सत्यता नभएको महतको जिरिक छ ।

समानुपातिक सूचीका विषयलाई लिएर भइरहेका विरोधहरु अनावश्यक रहेको पनि बताए । उक्त विरोध पार्टी हित र अनुशासन विपरित रहेको प्रवक्ता महतले जोड दिए ।

यसैबीच, काँग्रेसले आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूचीमा बाँकेका ११ जना समेटिएका छन् । जसमा प्रतिनिधि सभातर्फ ३ जना र प्रदेश सभातर्फ ८ जनाको नाम बन्द सूचीमा परेको हो ।

नेपाली काँग्रेसका पूर्व सभापति एवम पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाकी भाई बुहारी किरण कोइरालासहित बाँकेका तीन जनाको नाम प्रतिनिधि सभाको बन्द सूचीमा समेटिएको छ । काँग्रेस बाँकेका निवर्तमान सभापति समेत रहेकी नेतृ किरण, संविधानसभा सदस्य आशा बिक र काँग्रेस महासमिति सदस्य डाक्टर सुरेशकुमार कनोडियाको नाम बन्दसूचीमा राखिएको छ ।

नेपाली काँग्रेसले संघतर्फ पेश गरेको बन्दसूचीमा बाँकेका यी तीन जना परेका हुन् । पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रिय सदस्य पदमा चुनाव लडेकी कोइराला खसआर्य महिलातर्फ परेकी छिन् भने विक दलित महिला र कनोडिया मधेशी पुरुषतर्फ बन्दसूचीमा परेका छन् ।

काँग्रेस क्षेत्रीय कार्यसमितिले उनको नाम प्रत्यक्षतर्फ क्षेत्र नम्बर–२ बाट सिफारिस गरेको थियो । तर, पार्टीले उनलाई समानुपातिकको सूचीमा राखेको छ । २०७४ मा नेपालगन्जको मेयर पदका उम्मेदवार कनोडिया समानुपातिकमै सिफारिस भएका थिए भने २०६४ सालमा पहिलो संविधानसभा सदस्य रहेकी विकको नाम क्षेत्र नम्बर–३ बाट प्रत्यक्षतर्फ सिफारिस भएको थियो । कोइराला बरिष्ठ नेता डाक्टर शेखर कोइराला पक्षकी हुन् भने विक र कनोडिया संस्थापन पक्ष अर्थात नेपाली काँग्रेस सभापति शेरबहादुर देउबा पक्षका हुन् ।

यस्तै नेपाली काँग्रेसले निर्वाचनमा आयोगमा बुझाएको लुम्बिनी प्रदेशसभा सदस्य तर्फको समानुपातिकको बन्दसूचीमा बाँकेका आठ जना परेका छन् । प्रदेश सभा सदस्यका लागि काँग्रेसबाट समानुपातिकको बन्द सूचीमा पर्नेहरु महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, प्रदेश सदस्य, पार्टी सचिव र क्षेत्रीय सभापतिसम्मको नाम समेटिएको छ ।

काँग्रेस महासमिति सदस्य माया पुन (आदिवासी जनजाती)तर्फ दोस्रो नम्बरमा अटाएकी छिन् । भने लुम्बिनी प्रदेश कार्यसमिति सदस्य अञ्जना पाण्डे (खसआर्य)को सूचीमा छैठौं नम्बरमा परेकी छन् । नेपाली काँग्रेस बाँके जिल्ला सचिव तथा कोहलपुर नगरपालिकाकी निवर्तमान उपमेयर समेत रहेकी सञ्जुकुमारी थारु (थारु क्लष्टर)मा एक नम्बरमा पर्दा महाधिवेशन प्रतिनिधि संगिताकुमारी थारु तेस्रो नम्बरमा अटाएकी छिन् ।

यस्तै काँग्रेस बाँके जिल्ला सहसचिव विनोदकुमार थारु (पुरुष थारु)तर्फ दोस्रो नम्बरमा परेका छन् भने महाधिवेशन प्रतिनिधि मिनाकुमारी बोहरा सिद्धिकी (मुस्लिम) कोटामा एक नम्बरमा परेकी छिन् । काँग्रेस क्षेत्र नम्बर–३ का सभापति नक्की खाँ (मुस्लिम) कोटामा दोस्रो स्थानमा रहँदा काँग्रेस बाँकेकी जिल्ला सदस्य सुशीला बादी नेपाली (अल्पसंख्यक) कोटामा एक नम्बरमा रहेकीछन् ।

बाँकेबाट को–को भएका थिए सिफारिस ?

काँग्रेस बाँकेबाट समानुपातिकका लागि बाँके क्षेत्र नम्बर–१ बाट नारायणप्रसाद सिग्देल, द्रौपदी ओली क्षेत्री, लुटबहादुर खत्री सिफारिस भएका थिए ।

यस्तै क्षेत्र नम्बर–२ बाट काँग्रेस केन्द्रिय सदस्य एबम संविधान सभा सदस्य मैकुलाल वाल्मिकी, संविधान सभा सदस्य अब्दुल हमिद सिद्दिकी ‘भोला’, निर्वतमान सभापति, किरण कोइराला, गजेन्द्रबहादुर हमाल, सावरा वेगम, बन्दना सिंह, त्रिलोकी गिरी, रविन्द्रमान श्रेष्ठ, डाक्टर सुरेशकुमार कनोडिया, रामु चिडीमार, राकेशबहादुर श्रीवास्तव, अजित कुमार शर्मा, रमा उपाध्याय र कमला भट्ट सिफारिस भएका थिए ।

त्यसैगरि बाँके क्षेत्र नम्बर–३ बाट काँग्रेस बाँकेका पूर्व सभापति कृष्णमान श्रेष्ठ, कृष्ण विक रसाईली, हरिभक्त उप्रेती, गगनबहादुर विक, अनिता योगी, शेरबहादुर गुरुङ, अर्जुनसिंह पाण्डे, पुष्पा सुनार र चक्रबहादुर मल्ल गरी ९ जना सिफारिस भएका थिए ।

थप समाचार

शुसील कोइरालाकी भाइबुहारीसहित बाँकेबाट तीन जना समानुपातिक सूचीमा

बाँकेबाट प्रदेश सभाका लागि काँग्रेसका ८ जना बन्दसूचीमा