निर्वाचन लक्षित नेपालगन्जमा ठूलो मात्रामा हतियार भित्रियो, हतियार खोज्दै प्रहरी


निर्वाचन लक्षित नेपालगन्जमा ठूलो मात्रामा हतियार भित्रियो, हतियार खोज्दै प्रहरी

File Photo

नेपालगन्ज १६ कार्तिक : निर्वाचनलाई लक्षित गर्दै भारतबाट नेपालगन्जमा ठूलो मात्रामा हतियार र विस्फोटक पदार्थ भित्रिएको बताइएकोछ । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन आउन जम्माजम्मी १८ दिन बाँकी रहँदा ठूलो मात्रामा हतियार भित्रिएपछि निष्पक्ष, भयरहित र शान्तिपूर्ण निर्वाचन हुनेमा प्रश्न खडा भएकोछ ।

‘निर्वाचनलाई लक्षित गरि नेपालगन्जमा ठूलो मात्रामा हातहतियार भित्रिएकोछ’ सेतोखरीसंग कुरा गर्दै उच्च स्रोतले भन्यो–‘निर्वाचनको मुखमा ठूलो मात्रामा हातहतियार नेपालगन्ज भित्रिएपछि यहाँको शान्ति सुरक्षामाथि प्रश्न खडा भएकोछ ।’

उच्च स्रोतका अनुसार निर्वाचनमा आफ्नो प्रभाव जमाउन र निर्वाचनको परीणाम उल्टाउन नेपालगन्ज भित्रिएका ती हातियार प्रयोग हुनसक्ने भन्दै सुरक्षा चुनौती बढेको हो । गृह मन्त्रालयले पनि बाँकेलाई सुरक्षा दृष्टिकोणको हिसाबमा उच्च प्राथमिकतामा राखेकोछ ।

नेपाल–भारत सीमासँग जोडिएको सहर नेपालगन्जमा ठूलो मात्रामा हतियार भित्रिदाँ समेत बाँके प्रहरी बेखबर बनेकोछ । खुला सीमानाका कारण अपराधिक गतिविधि गरेर सहजै उम्कन सक्ने भएकाले पनि नेपालगन्ज सधैं उच्च सुरक्षाको जोखिममा रहँदै आएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

निर्वाचनकै मुखमा विभिन्न नाका भएर फरक–फरक समयमा ठूलो मात्रामा हतियार नेपालगन्ज भित्रिएपछि नेपालगन्जमा ठूलै दुर्घटना हुनसक्ने देखिएकोछ । जानकारहरु दुर्घटना हुन नदिन प्रहरी र प्रशासनले उच्च सर्तकता अपनाउनु पर्ने बताँउछन् ।

निर्वाचन लक्षित भारतबाट ठूलो मात्रामा हातहतियार नेपालगन्ज भित्रिएको विषयमा गम्भीर भएको इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जका संयोजक भोला महत बताउँछन् ।

सेतोखरीसँग कुरा गर्दै संयोजक महतले भने–‘प्रहरीले आफ्ना संयत्रहरुलाई चुस्त दुरुस्त राखि परिचालन गर्नु प¥यो । सीमा नाकामा कडाई गर्दै साना हातहतियार भित्रिनसक्ने अवस्थालाई निगरानी गरि निस्तेज गर्नुपर्छ ।’

‘साना हातहतियारले निर्वाचनलाई प्रभावित पार्न सक्ने देखिएकाले यसतर्फ प्रहरी र प्रशासन चनाखो हुनुपर्छ । जनताको शान्ति, सुरक्षा र भयरहित बाँच्न पाउने अधिकार प्रति सम्बद्ध सरोकार गम्भीर बन्नुपर्छ।’ महतले थपे ।

पछिल्लो समय नेपालगन्जमा निर्वाचनको सरगर्मी चुलिदैँ गएकोछ । निर्वाचनको सरगर्मी चुलिदैँ गएपछि निर्वाचनको विषय लिएर हुनसक्ने अपराधिक गतिविधिमा समेत सर्वसाधरणको ध्यायन केन्द्रित भइरहेका बेला ठूलो मात्रामा हतियार नेपालगन्ज भित्रिनुले यहाँको सुरक्षामाथि प्रश्न उब्जिएकोछ ।

यसैबीच, निर्वाचन लक्षित ठूलो मात्रामा हतियार नेपालगन्ज भित्रिएको विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले सेतोखरीसँग कुरा गर्दै भने–‘हतियार भित्रिन सक्छ । सीमानाका कडाई गर्दागर्दै कहीकतैबाट भित्रिएको छ भने पनि हामी त्यसको भेरीफाइ गर्छौं ।’

‘नेपालगन्जमा हतियार भित्रिएको सूचना ठिक हो तर ठूलै मात्रामा भन्ने होइन’ प्रहरी उपरीक्षक अधिकारीले भने–‘हतियार भित्रिसकेको छ भने खोजतलास गर्ने काम हाम्रो हो । यसमा आम सर्वसाधरणले पनि हामीलाई गोप्य रुपमा सूचना दिएर सहयोग गर्नुपर्छ ।’

‘पहिले नै निर्वाचन लक्षित सुरक्षा योजना अनुरुप हामी अघि बढिरहेकाछौं । हामीलाई आउने सूचनाको विश्लेषण गरेर भेरिफाई गर्छौं’ प्रहरी उपरीक्षक अधिकारीले अगाडी थपे–‘आतिहाल्ने, सशंकित भइहाल्ने भन्ने होइन । निष्पक्ष, भयरहित निर्वाचनका लागि हामी कटिबद्ध छौं ।’

हातहतियार खरखजाना ऐन, २०१९ ले सुरक्षा चुनौतिका आधारमा इजाजत लिएर सर्वसाधारणले पनि हतियार राख्न पाउने व्यवस्था गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार कानूनीरुपमा हातियार राख्न पाउने ब्यवस्था अनुरुप बाँकेका ५ सय ५५ जना ब्यक्तिले हतियार राख्न लाइसेन्स(इजाजत) लिएकाछन् ।

यसरी इजाजत लिने कतिपय ब्यक्तिसंग दुई वा तीन वटासम्म हतियार र लाइसेन्स रहेकोछ । बाँकेका कति जनालाई हतियारको इजाजत दिइएको छ भन्ने चाहिँ बाँके प्रशासनसँग यकिन विवरण छैन । यद्यपी हालसम्म नियमित नविकरण गराइरहेका ब्यक्तिहरुको तथ्यांकलाई आधार मान्दा बाँकेमा ५ सय ५५ जनाले कानूनीरुपमा हतियार राख्न अनुमति लिएकाछन् ।

त्यही तथ्यांकलाई आधार मान्दा ५ सय ५५ जना ब्यक्तिसंग करिब एक हजार बढिको आसपासमा हतियार रहेको बाँके प्रशासनले बताउँछ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत हरिषचन्द्र शर्माका अनुसार बाँके प्रशासनबाट ५ सय ५५ जना ब्यक्तिसंग इजाजत प्राप्त हतियार रहेकोछ । ‘धेरै पहिलेदेखि ढड्डामा विवरण राखिएका कारण यकिन तथ्यांक निकाल्न गाह्रो छ,’ सेतोखरीसंग कुरा गर्दै प्रशासकीय अधिकृत शर्माले भने, ‘बाँकेमा ‘बडाहाकिम’का पालादेखिका इजाजत प्राप्त हतियार छ । यकिन तथ्यांक नभए पनि सबै हतियार प्रशासन कहाँ बुझाउन भनेका छौं ।’

‘तत्कालिन सशस्त्र विद्रोहको सुरुवातीकालमा बाँके प्रशासनमा भएको आगलागिबाट सबै लिखित दस्तावेज जलेर नष्ट भयो’ प्रशासकीय अधिकृत शर्माले भने–‘२०५३/२०५४ सालमा इजाजत प्राप्त हतियारको तथ्यांक अध्यावधिक गर्ने गरियो । सोबेलाका तथ्यांकलाई आधार मान्दा बाँकेमा ५ सय ५५ जनाले हतियारको इजाजत लिएको पाइएकोछ ।’

‘बाँकेबाट हतियार राख्न इजाजत लिएका ५ सय ५५ जनामध्ये कतिपयको लगत कट्टी गरि सम्बन्धि जिल्लामा पठाइएकोले संख्या कम हुन आएको हो ।’ शर्माले अगाडी थपे–‘कुल ५ सय ५५ जना मध्ये ४३ जना बाँके बाहिर ठेगाना भएका ब्यक्तिसंग हतियारको इजाजत रहेकोछ ।’ प्रशासकीय अधिकृत शर्माका अनुसार तथ्यांकगत हतियारको इजाजत लिनेको संख्या सबैभन्दा बढि बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा रहेकोछ ।

बाँकेबाट हतियार राख्ने इजाजत प्राप्त ब्यक्ति बाँके, बर्दिया र दाङका धेरै रहेकाछन् । भने पेस्तोल, रिभल्वर वा मिनिएचर राइलफल, टोटावाल बन्दुक, भरुवा बन्दुक, हावादारी र बाह्रबोरका बन्दुकहरु रहेकाछन् ।

हातहतियार खरखजाना (दशौं संशोधन) नियमावली, २०७८ अनुसार इजाजत प्राप्त ब्यक्तिको मृत्युसंगै पेस्तोल र रिभल्वरको नामसारी वा किनबेच गर्न पाइदैन । सेमी अटोमेटिक, अटोमेटिक र पेस्तोलको नामसारी हुँदैन ।

प्रत्येक दुई/दुई वर्षमा हतियार राख्ने लाइसेन्स नविकरण गर्नुपर्ने व्यवस्थाछ । पछिल्लो कानूनी व्यवस्थाले नयाँ इजाजत प्रदान गर्न बन्द गरेकोछ । कतिपय इजाजत प्राप्त ब्यक्ति बसाइसराई गरिए अन्यत्र गएपनि त्यसको रेकर्ड बाँकेमा देखिएको हो । बाँकेबाट इजाजत लिएको तर, हतियार ब्यक्तिसंगै बसाइसराइमा गएको पनि हुनसक्ने प्रशासनको दावि छ ।

बाँके प्रशासनका अनुसार इजाजत प्राप्त हतियार राख्नेहरु मूलतः तीन वर्गका छन् । पहिलो, एलिट (पद, पैसा, शक्ति र प्रभाव भएका ब्यक्तिलाई एलिट वर्गका रुपमा ब्याख्या गरिएकोछ) वर्गका मानिसहरुले सौखका लागि यस्ता हतियारको लाइसेन्स लिएका छन् ।

उनीहरुले बुबा–बाजेको पालाबाटै हतियार राखेका छन्, मृत्युपछि परिवारका अन्य सदस्यले नामसारी गर्दै हतियार राख्ने गरेका छन् । जानकारहरुका अनुसार यस्ता हतियारबाट समाजमा खासै सुरक्षा चुनौति पनि हुँदैन । दोस्रो वर्ग भनेको शिकारमा रुचि भएका व्यक्तिहरुले हतियारको लाइसेन्स लिएका छन् । जस्तो ढोरपाटन र बर्दियामा निकुञ्जलाई शिकार प्रयोजनका लागि खुला गरिएपछि उनीहरुले निजीरुपमा हतियार राख्न इजाजत लिएका थिए ।
अर्को भनेको व्यवसायी र विभिन्न आवरणमा गुण्डागर्दीमा संलग्न व्यक्तिले लाइसेन्स प्राप्त हतियार लिएका छन्, उनीहरु तेस्रो वर्ग हुन् । उनीहरुले त्यस्ता हतियारको चरम दुरुपयोग गर्ने गरेको पछिल्ला घटनाक्रमले समेत पुष्टि गरेकोछ ।

जस्तो की लाइसेन्स प्राप्त हतियारलाई ठेक्कापट्टा कब्जा गर्ने अस्त्रको रुपमा प्रयोग गर्नु प्रहरी रेकर्डले समेत देखाएकोछ । बाँके प्रशासनका अनुसार इजाजत प्राप्त ब्यक्तिहरुको रेकर्ड हेर्दा ५० देखि एक सय वर्ष पुरानो इजाजत समेत रहेकोछ ।