‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित


‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित

नेपालगन्ज २९ मंसिर : तराई/मधेसमा बाक्लो हुस्सु/कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् । भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिविलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले विशेषगरी तराई क्षेत्रका विमानस्थलमा अगामी केही दिन हुस्सु/कुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित निरन्तर हुनसक्ने उल्लेख गरे । भिजिबिलिटी कमजोर रहेकाले बिहानैदेखि तराई क्षेत्रका सबैजसो विमानस्थलमा उडान प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए ।

‘तराईका विमानस्थलमा भिजिबिलिटी कम रहेकाले बिहानैदेखि उडान प्रभावित भएको छ । उडान प्रभावित हुँदा यात्रुलाई गन्तव्यमा पुग्न सास्ती भएको छ’, उनले भने । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आज भद्रपुर र पोखराबाहेक सबै विमानस्थलको उडान प्रभावित भएको छ । बिहानैदेखि उडान प्रभावित हुँदा यात्रुमर्कामा परेका छन् ।

आन्तरिकतर्फ दैनिक करिब तीनसय उडान हुन्छन् । बुद्ध एयरको सबैभन्दा बढी दुईतर्फी करिब एक सय ५० उडान हुन्छ । यती एयरलाइन्सको दैनिक ५८ उडान हुनेगरेको छ । यस्तै आन्तरिक उडानमा श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, गुण एयरलाइन्सले पनि विभिन्न गन्तव्यमा उडान गर्छन् । आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान गर्दै आएका छन् ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेपनि तराई भूभागको केही स्थानमा हुस्सु/कुहिरो लाग्नुका साथै देशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । आज काठमाडौँको अधिकतम तापक्रम १९ डिग्री सेल्सियस र न्यूनतम् तापक्रम ७ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच, नेपालगन्जमा बाक्लो हुस्सु लागेपछि हवाई उडान प्रभावित हुन थालेको छ । बाक्सो हुस्सु लागेपछि भिजिविलिटी कम हुँदा दुई दिनदेखि राँझा विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको हो ।

दिउँसोको समयमा भने हवाई सेवा नियमित भइरहेको राँझा विमानस्थलले जानकारी दिएको छ । राँझा विमानस्थलमा हवाई उडान र अवतरणका लागि १६०० मिटर भिजिविलिटी आवश्यक पर्दछ । राँझा विमानस्थलका अनुसार मध्यान्हसम्म भिजिविलिटी ८०० मिटर मात्रै थियो ।

बुधवारदेखि बाक्लो हुस्सु लाग्न शुरु भएपछि हवाई उडान अनियमित हुन थालेको हो । बुधवार विहान सवा ११ बजेपछि मात्र विमानस्थल खुलेको थियो । बिहीबार भने दिउँसो १ बजेतिर विमानस्थल खुलेको थियो । नेपालगञ्जको न्यूनतम तापक्रम अहिले १४ डिग्री सेल्सियस छ । तापक्रम घटेसंगै दुई दिन यता चिसो बढेको छ । जसका कारण गरिखाने वर्ग समुदाय बढी समस्यामा परेका छन् ।