कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले


सेतोखरी सेतोखरी   ५६ मिनेट अगाडि
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले

काठमाडौं। केही दिनअघि सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई संसद बैठकमा आउँदा कालो चस्मा नलाउन भनेका थिए। संसदीय कार्यव्यवस्था समितिको बैठकले बनाएको निमयअनुसार औपचारिक बैठकमा उपस्थित हुँदा कालो चस्मा लगाउन नपाइने भएको हो।

त्यसपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकै कतिपय सांसदहरूले ‘मैले त कालो चस्मा खोलें’ भन्नेजस्ता ब्यंगहरू सामाजिक सञ्जालमा अभिव्यक्त गरेका थिए। 
गत साता सांसदहरूलाई जवाफ दिन भनेर सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरे। त्यहीअनुसार प्रधानमन्त्री बालेन शाह बुधबार संसद बैठकमा उपस्थित भएर सांसदहरूको जवाफ दिनेछन्। 

तर उनले कालो चस्मा भने फुकाल्ने छैनन्। अर्थात् बालेनको ‘ब्रान्ड’ बनिसकेको कालो चस्मा लगाएरै उनले सांसदहरूको सवालको जवाफ दिनेछन्। 
उनले कालो चस्मा किन लगाइरहनपर्छरु त्यसको जवाफ उनले संसद सचिवालयमा पठाइसकेका छन्। सैनिक अस्पताल छाउनील तयार गरेको उक्त स्वास्थ्य प्रतिवेदनले उनले संसदलाई पठाएका हुन्। 

केही दिनअघि उनले सैनिक अस्पतालमा आँखा जाँच गराएका थिए। त्यसपछि त्यहाँका डाक्टर लेफ्टिनेट कर्णेल सचित ढकालले प्रमाणित गरेको आँखा परीक्षण रिपोर्टअनुसार प्रधानमन्त्री शाहलाई उज्यालोमा हेर्न कठिन हुन्छ भने आँखा सुक्खा हुने भएकोले बेलाबेला आइड्रपको प्रयोग गरिराख्नुपर्ने हुन्छ। त्यसैले उनले कालो चस्मा लगाइरहनुपर्ने भएको हो। 

परीक्षण प्रतिवेदनअनुसार उनले गत साउन २२ गते आँखा परीक्षण गराएका थिए।