फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू

काठमाडौं। भोटेकोशीका सहायक नदी खोलाको संगमस्थलमा बनेको अस्थायी ताल फुट्न थालेको भन्दै सचेत र सतर्क रहन रसुवा जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ। 

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको जानकारी चिनियाँ पक्षले गराएको हो। यो नदी तिब्बती पठारको उच्च हिमाली हिमनदी निस्किएर भोटेकोशीमा मिसिने यी दुई नदी र खोला मिसिने ठाउँ रसुवागढीबाट केही किलोमिटर उत्तर तिब्बती क्षेत्र हो। त्यसपछि मात्रै दुई खोलानदी सँगसँगै भएर भोटेकोसी नदी प्रणालीमा मिसिन्छन्। 

लाङटाङ लिरुङ हिमश्रृङ्खलाको तिब्बततर्फको भेगमा विशाल हिउँ र चट्टानको पहिरो खसेपछि छोछेन खोला र पुरेपू त्साङ्पोको सङ्गमस्थल नजिकै नदीको बहाव थुनिएर नयाँ अस्थायी ताल बनेको चिनियाँ पक्षले पत्ता लगाएको थियो।

चिनियाँ वैज्ञानिक तथा भू(उपग्रह विश्लेषण अनुसार उक्त थुनिएको तालमा लाखौँ घनमिटर पानी जम्मा भएको छ। छोछेन र पुरेपू त्साङ्पोको सङ्गममा बनेको यो प्राकृतिक बाँध फुटेमा वा यसबाट अकस्मात् पानीको ठूलो मात्रा बाहिर निस्किएर रसुवागढी, स्याफूबेँसी हुँदै र त्रिशूलीसम्मै पुग्नेछ। 

‘अस्तिको बाढीपछि फेरि हिँउका चट्टानहरू फुटेर त्यहाँ अस्थायी ताल बनेको छ भन्ने खबर थियो। चिनियाँ पक्षले आज बिहानैदेखि उक्त तालको पानी बाहिरिन थालेको भन्ने सूचना दिएको छ’ प्रमुख जिल्ला अधिकारी परियारले भने ‘हामीले नदी किनाराबासीहरूलाई सुरक्षित रहन र सुरक्षाकर्मीहरूलाई खबर दिइसकेका छौं।’ 

नेपाल प्रहरी तथा राष्ट्रिय विपद जाेखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले पनि भाेटेकाेशीमा लेदाेसहितकाे पानीकाे बहाव बढ्न थालेकाे भन्दै सचेत रहन भनेका छन्। 

यही जोखिम बढेपछि चिनियाँ पक्षले तिब्बततिरको उद्धार कार्य रोकिसकेको छ।