बरामद गरेको लाखौंमूल्यको लागुऔषध प्रहरीमै गायब

लागुऔषधको जालो तोड्न असफल प्रहरी


बरामद गरेको लाखौंमूल्यको लागुऔषध प्रहरीमै गायब

नेपालगन्ज : प्रहरीले लागु औषध ओसारपसारमा कडाई गरेकोछ । कडाई गरेसगैं लागुऔषध कारोबारी पनि उत्तिकै बढीरहेकाछन् । दिनहुँजसो जमुनाहा नाकामा लागु औषधसहित कारोबारीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिने गरेकोछ ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषध ओसारपसारमा संलग्न ब्यक्तिहरुमाथि निगरानी बढाएसगैं लागुऔषधसहित पक्राउपर्नेको संख्या पनि बढेकोहो । खुला सीमानाको भरपुर फाइदा उठाउदै लागुऔषध ओसारपसार हुने नेपाल–भारत सीमानाकामा प्रहरीले केही महिना अघि मात्र लागुऔषध सम्बन्धि विज्ञ कुकुरको सहारामा निगरानी बढाएको थियो । विज्ञ कुकुरको सहारामा प्रहरीले सीमानाकामा निगरानी बढाएसगैं लागुऔषधसहित धमाधम पक्राउ परे । तर, लागुऔषध ओसारपसार तथा नियन्त्रणमा प्रहरीले तदारुक्ता देखाएपनि लागुऔषध ओसारपसारमा भने कमी आएन ।

बाँके प्रहरीले केही समयको फरकमा कारोबारीहरु समात्न थालेको लामो समय बितेको छ । तर, कारोबारीहरुको सक्रियता पटक्कै घटेको छैन । यो संगठित गिरोहकै कारण सम्भव भएको प्रहरी अधिकारीहरु नै बताउँछन् । नेपाली बजारमा सहजै उपलब्ध नहुने लागुऔषधका लागि प्रयोगकर्ताहरु महंगो मुल्य तिर्न राजी हुने गरेका कारण कारोबारीहरु राम्रो आम्दानीको लोभमा जोखिम मोलेर कारोबार चलाइरहेका छन् ।

प्रहरीले नेपालगन्जको जमुनाहा नाकाबाट वर्षौं अघिदेखि लगातारजसो मान्छे समातिरहँदा पनि प्रतिबन्धित लागुऔषध नेपाल भित्र्याउने क्रम रोकिएको छैन । मान्छे पक्राउ परिरहने तर, कारोबार चाहिँ पटक्कै नघट्ने समस्याले प्रहरी आजित छ ।

Kanti Aarogya Hospital Nepalgunj

लागुऔषध नियन्त्रणमा प्रहरी आक्रमक बन्दै, कता जान्छ समातिएको लागुऔषध
नेपाल–भारत सीमा जमुनाहमा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले कुकुरको सहयोग लिएपछि लागुऔषधसहित पक्राउपर्नेहरुको संख्यामा एकाएक बढोत्तर भयो । कुकुरको सहायतामा प्रहरीले १० ग्राम ब्राउनसुगरसहित शर्मरानी गाउँपालिका–५ प्यूठानका आदिल मियाँ, दाङ घोराही उपमहानगरपालिका–३ की लक्ष्मी खड्का, नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगरकी सुमन श्रेष्ठको साथबाट एक ग्राम ब्राउनसुगर सहित उनीहरुलाई नियन्त्रणलियो ।

यस्तै नेपालगन्ज–१८ भुजईगाउँका किशोरकुमार धोवीबाट ४ ट्याब्लेट नाइट्रोजन, १० क्याप्सुल स्पासमो र एक बोत्तल अल्टोरेक्स प्रहरीले बरामद ग¥यो । यस्तै प्रहरीले कोहलपुर नगरपालिका–९ का राजेन्द्र हरिजनलाई लागूऔषध ३९ ट्याब्लेट नाइटूो भ्याट सहित नियन्त्रणमा लियो ।

असार पहिलो साता बाँके प्रहरीले साढे १८ किलो अफिमसहित चार जनालाई नेपालगन्ज पुरैनी स्थित बाबाकुट्टिबाट नियन्त्रणमा लिएको थियो । बाँकेको प्रहरी टोलीले जाजरकोट त्रिवेणी नलगाड नगरपालिकाका पृथ्वीबहादुर विक, विरबहादुर विक, राजेन्द्र विक र पूर्वी रुकुम पुथाउत्तरगंगाकी शर्मिला मगरलाईनियन्त्रणमा लिएको थियो । नेपालगन्जमा पक्राउ परेका उनीहरुले पनि केही रकमको लोभमा अफिम तस्करी गरेको बयान प्रहरीलाई दिए ।

यस्तै दुई साताअघि जाजरकोटकी काली खत्रीलाई १ किलो ८ सय ग्राम अफिम सहित भारतीय सीमा सुरक्षा बल एसएसबी र प्रहरीको संयुक्त टोलीले पक्राउ गर्यो ।
यही आईतबार ५० ग्राम लागु औषध सहित नेपालगन्ज भन्सार जमुनाह नाकाबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ बेलासपुरका उपेन्द्र कुर्मी चौधरीलाई ५० ग्राम लागु औषध सहित ईलाका प्रहरी कार्यालय जमुनाहले प्रक्राउ ग¥यो ।

पक्राउ परेका कुर्मीबाट नौहजार भारतीय रुपैयाँ र १ सयका अमेरिकी डलर २ थान तथा मोवाईल समेत बरामद ग¥यो । यसको भोलीपल्ट नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पस अगाडीबाट प्रहरीले सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ बस्ने १८ वर्षिय रोहित बुढा र कालिकोट शुभकालिका गाँउपालिका वडा नम्बर ३, भर्ता बस्ने २१ वर्षिय प्रकाश रोकयालाई जुत्ताको तलुवामुनी लुकाई राखेको १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर र पाईन्टको पछाडी गोजीबाट १० ट्यावलेट नाईट्राजेपाम सहित नियन्त्रणमा लियो ।

यसरी तथ्यांकलाई नियाल्दा प्रहरीले बाँकेका विभिन्न ठाउँबाट हरेक दिनजसो लागुऔषधसहित मानिस पक्रन्छ अनि ओसारपसारमा संलग्न रहेको अभियोगमा मुद्दा अघि बढाउँछ ।

प्रहरीले लागुऔषध बरामद गर्ने तर नष्ट नगर्ने प्रचलनले लागु औषधी कारोबारमा प्रहरीकै संलग्नता रहको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले वर्षेनी करोडौं मूल्यको लागुऔषध बरामद गर्छ तर, नष्ट गर्दैन । कहाँ जान्छ उक्त लागुऔषध यसको जवाफ प्रहरी अधिकारीसँग नै छैन् ।

सेन्टर विस्तारसगैं अड्डा परिर्वतन

जिल्ला प्रहरी कार्यालय बाँकेले पनि कारोबारीभन्दा बढी प्रयोगकर्ता नै समातिरहेको छ । प्रयोगकर्ता समात्ने तर, कारोबारीसम्म पुग्न नसक्दा लागुऔषध तस्करीको सञ्जाल बलियो हुँदै गएको हो । लागुऔषध सहजै उपलब्ध हुने भारतीय बजार र ती सामग्री पुग्ने नेपाली बजारबीचको मुख्य ट्रान्जिट बाँके हुने गरेको छ ।

पछिल्लो समयमा प्रहरीले नियन्त्रणमा लिएका कारोबारीलाई ठूला तस्करले समेत परिचालन गरेको पाइएको छ । तर, केही व्यक्ति मात्रै होइन, नेपालगन्जमा ठूलै समूह कारोबारमा लागेकाले लागुऔषध कारोबारको जालो तोड्न प्रहरी सफल हुन सकेको छैन ।

ज्यादै ठूलो र व्यवस्थित सञ्जालमार्फत भइरहेको लागुऔषध कारोबार प्रहरीले दुई–चार जना प्रयोगकर्ता समात्दैमा भत्काउन कठिन छ । लागुऔषध नियन्त्रणमा प्रहरीको सक्रियताबढेसगंै यसका प्रयोगकर्ता, व्यापारिहरुले आफ्नो अड्डालाई नै परिर्वतन गर्नुका साथसाथै सञ्जाल विस्तार समेत गरेकोछ ।

कुनैबेला भारतीय सीमासंग जोडिएका केही गाँउमा मात्र सिमित लागुऔषध कारोबारीहरुको पछिल्लो समय मनोबल ढेसगैं उनीहरुले आफ्नो अड्डाको विस्तार र परिर्वतन गरेकाछन् ।

विशेषगरी नेपालगन्ज उपमहानगरपालिकाका जयसपुर, परसपुर, साईगाँउ, पिप्रहवा, हिरमिनिया, पुरैना, पुरैनी, फुल्टेक्रा, एकलैनी, न्यूरोड, धम्बोझी यी स्थानहरु पहिल्यैदेखि लागुऔषध कारोबार हुने स्थान हुन् ।

यसअघिका लागुऔषध कारोबारीमा रहेका ब्यक्तिहरु र कारोबार हुने स्थानहरु प्रहरीलाई थाहा भएपछि उनीहरुले स्थान परिर्वतन समेत गरेकाछन् । अहिले लागुऔषधको सञ्जाल बाँके जिल्लाभर फैलिदैँ गएकोछ । खजुरा, रनियापुर,उढरापुर, राँझा, हवल्दारपुर, कौशिलानगर, नौवस्ता, ढकेरी, चिसापानी तथा राप्तीपारीका फत्तेपुर,नरैनापुर तथा बैजापुर लगायतका स्थान लागुऔषध कारोबारीका मुख्य सेन्टरका रुपमा विकसित हुदै गएको हो ।

जिल्लामा सडक सञ्जाल, सामाजिक सञ्जाल र सञ्चार, यातायताको बढोत्तरीसगैं लागुऔषधको सञ्जालपनि बढ्दै गएकोछ ।

यी नाकाबाट भित्रिन्छन् लागुऔषध

प्रहरी निगरानीका वावजुद नेपाल–भारत सीमामा लागुऔषधको कारोबार घट्न सकेको छैन । बाँकेका लागुऔषधको कारोबार बढ्दै गएको प्रहरी तथ्यांकले देखाएको छ ।

पहाडी जिल्लाबाट अफिम ल्याएर नेपालगन्ज सीमामार्फत भारत लैजाने र यताबाट ब्राउनसुगर लगायतका लागुऔषध नेपालका विभिन्न भागमा लगिने गरिएको छ । लागुऔषध ओसारपसारमा सक्रिय तस्कर र प्रयोगकर्ताले प्रहरीको आँखा छल्दे जिल्लाका विभिन्न नाका भएर लागुऔषध नेपाल भित्र्याउने र यताबाट भारत पु¥याउने गरेकाछन् ।

विशेषगरि खुला सीमानाको भरपूर फाइदा उठाउँदै तस्करहरुले मुख्यरुपमा जमुनाहा नाका भएर लागुऔषध नेपाल भित्र्याउने र भारत पु¥याउने गरेकाछन् । भारतीय सीमासंग जोडियाका विभिन्न पालिकाका गाँउबाट लागुऔषध नेपाल–भारत ल्याउने र पु¥याउने गरेको पाइएको हो ।

जिल्लाका जयसपुर, साईगाँउ, पिप्रहवा, हिरमिनिया, होलिया, कालाफाँटा, कटकुइँया लगायत विभिन्न नाकाबाट लागुऔषध ओसारपसारमा सक्रिय व्यक्तिहरुले सहजै लागुऔषध ओसारपसार गर्ने गरेकाछन् । यी नाकामा रहेका गाँउका स्थानीय तस्करहरुको साथ र सहयोगले लागुऔषध नियन्त्रणमा प्रहरीलाई ठूलो चुनौती दिएकोछ ।

नेपालका विभिन्न जिल्लाबाट ल्याइएका लागुऔषध यी क्षेत्रमा भण्डार गरिन्छ र सही समयको मौका छोप्दै यी क्षेत्रबाट नेपाल र भारतमा लागुऔषध ओसारपसार भइरहेका हुन्छन् ।

भरियामात्र पक्रदै प्रहरी

लागुऔषध नियन्त्रणमा सक्रिय रहेको प्रहरीले दिनहुँजसो लागुऔषध प्रयोगकर्ता र ओसारपसारमा सक्रिय ब्यक्तिहरुलाई पक्रदै आएकोछ । प्रहरीले लागुुऔषध नियन्त्रणका घटनामा सफलता पाएपनि प्रहरी अधिकांश घटनामा प्रयोगकर्ता वा भरियासम्म मात्रै पुगेको देखिन्छ ।

जबकी, उनीहरुलाई ज्याला दिएर प्रतिबन्धित लागुऔषध नेपाल भित्र्याउन लगाउने गिरोहसम्म प्रहरी पुग्न सक्दैन । लागुऔषधका भरियामात्रै होइन, यसका मुख्य कारोबारी, स्थानीय एजेण्टलाई समेत पक्राउ प्रहरीले अझै पक्रन सकेकोछैन ।

प्रहरीले लागुऔषधको कारोबार बढेको भन्दा पनि प्रहरी चनाखो हुँदै जाँदा पक्राउ पर्ने र मुद्दाको संख्या बढ्दै गएको बताइरहेकोछ । तर, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार त्यसरी पक्राउ पर्नेमध्ये अधिकांश ‘भरिया’ मात्रै हुन्छन्, जसलाई आफूले बोकेर ल्याइदिएको सामान के हो भन्ने सुइँको पनि हुँदैन । यो क्रम लगातार बढ्दोछ ।

प्रहरीले पक्राउ गरेका कारोबारीको बयान तथा अनुसन्धानबाटै पनि यो तथ्य खुल्छ । एकजना पक्राउ परे त्यही काम अर्कोलाई लगाउने, ओसारपसार गरिदिएबापत निश्चित रकम र सुविधामा काम लगाउने गरेको पाइएको छ । लागुऔषध नियन्त्रणमा खटिएका प्रहरीका अनुसार कारोबारीहरुले गृहिणीलाई समेत लागुऔषध बोकाएको भेटिएको छ ।

‘सागसब्जी र खाद्यान्न खरीद गर्न भारतीय बजार पुग्ने गृहिणीलाई पनि लागुऔषध बोकाएको पाइएको छ,’ प्रदेश ५ लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जका प्रमूख प्रहरी निरीक्षक वीरबहादुर थापाले बताउँछन् ।

उनले भने –‘यसरी उनीहरुले नयाँ–नयाँ उपाय लगाएर कारोबार चलाएका छन् । यसले जालो तोड्न गाह्रो भएको छ ।’ खुला सीमानाका कारण लागुऔषधको प्रयोग तथा ओसारपसारको अवस्था भयावह छ । सबैको सहकार्य र सहयोगले मात्र यसलाई नियन्त्रण गर्न सम्भव हुने लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जका प्रमुख वीरबहादुर थापाले तथ्याङ्कलाई हेर्दा प्रदेशमै बाँके जिल्लाको अवस्था निकै डरलाग्दो भएको बताउँछन् ।

उनले लागुऔषधको दलदलमा चिकित्सकदेखि समाजका सबै वर्ग फसेकाले सचेतनाको खाँचो औंल्याएका छन् । लागुऔषधविरुद्ध प्रहरीको सक्रियता बढाएको बताउँदै थापाले सबैको सहकार्यले मात्र लागुऔषधविरुद्धको अभियान सफल हुनेमा जोड दिए ।

जमुनाहा नाकाबाट भित्रिने लागुऔषध पश्चिम नेपालका धेरै सहरहरु हुँदै काठमाडौं, पोखरा लगायतका जिल्लामा पुग्ने गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले हालसम्म बाँकेमा बैशाख महिनामा मात्र २२ मुद्दा चलाउदै २९ जनालाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएकोछ । ब्यूरो अन्र्तगत बाँकेमा १० जनाको टोली लागुऔषध नियन्त्रणमा सक्रिय छ । नियन्त्रणमा लिइएका अधिकांस भरिया हुन् ।