नेपालगन्जमा औषधी खुवाउन कठिन, कभरेज दर भेटाउन हम्मे–हम्मे

बाँकेका ६ लाख बढी नागरिकलाई औषधी खुवाउने लक्ष्य


नेपालगन्जमा औषधी खुवाउन कठिन, कभरेज दर भेटाउन हम्मे–हम्मे

सांकेतिक तस्विर

नेपालगन्ज ३ फागुनः सरकारले लाखौं खर्च गरेर वर्षेनी हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान चलाए पनि नेपालगन्ज उपमहानगरपालिकामा ठूलो संख्याले औषधि सेवन नगरिदिँदा बाँकेमा अभियान नै ‘फेल’ भइरहेको छ ।

वि.सं. २०६७ सालदेखि बाँकेमा हात्तीपाईले रोगविरुद्ध औषधी खुवाउने कार्य चल्दै आएको छ । विगत १३ वर्षदेखी निरन्तर चल्दै आएको हात्ती पाईले रोग विरुद्धको औषधी खुवाउने अभियान बाँकेमा सफल हुन सकेको छैन ।

सर्बसाधारण नागरिकले औषधी सेवन नगर्दा अभियान सफल हुन नसकेको हो । पहिलो पटक अभियान सुरु हुँदा बाँकेमा ९१ प्रतिशतले औषधी खाएका थिए । त्यसबेला नेपालगन्जमा औषधी सेवन गरेका केही ब्यक्तिको शंकास्पद मृत्यु र बिरामी भएपछि उक्त औषधीप्रति सर्बसाधारण नागरिकको गलत बुझाई हुँदा दोस्रो वर्षदेखी औषधी खानेको संख्या ह्वात्तै घटेको थियो । यद्यपी, स्वास्थ्य कार्यालयले औषधी सेवनकै कारण ति सर्बसाधारणको मृत्यु नभएको दाबी गर्दै तत्काल प्रष्टीकरण दिएको थियो ।

बाँकेको ८ पालिका मध्ये नेपालगन्ज उपमहानगरपालिकाको आम औषधी कभरेज दर निराशाजनक छ । गतवर्षको तथ्यांक अनुसार नेपालगन्ज उपमहानगरपालिकामा सबैभन्दा कम ५० प्रतिशत र जानकी गाउँपालिकामा सबैभन्दा बढी ८० प्रतिशत औषधीको ‘कभरेज’ भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

गतवर्षको कभरेज दर अनुसार सबैभन्दा बढि जानकी गाउँपालिकाको ८० प्रतिशत छ । भने खजुराको ७८ प्रतिशत, नरैनापुरको ६४ प्रतिशत, डुडुवाको ७८ तथा बैजनाथ र राप्तीसोनारीको ७३÷७३ प्रतिशत कभरेज दर रहेकोछ ।

नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर ३ र १६ का अधिकांश समुदायहरु औषधी खान मान्दैनन् । उक्त वडामा मधेसी तथा मुस्लिम समुदायको उल्लेख्य बसोबास रहेको छ ।

शिक्षित समुदायको बसोबास भएको नेपालगन्ज उपमहानगरपालिकामा कभरेज दर बढ्न सकेको छैन । यसअघि कभरेज दर बढाउन भन्दै निर्वतमान मेयर डाक्टर धवलशमशेर राणाले औषधी सेवनको कभरेज बढाउनेलाई पुरस्कृत र कम खुवाउनेलाई दण्डित गर्ने रणनीति अपनाएका थिए ।

‘जसले ८५ प्रतिशत भन्दा बढी खुवाउँछ । त्यसलाई म पुरस्कृत गर्छु । त्यसको वडामा बजेट थपिदिन्छु । जुन वडाले ६५ प्रतिशत औषधि खुवाउन सक्दैन, त्यसलाई कारबाही गर्छु’, दुई वर्ष अघि आम औषधीको कभरेज दर बढाउन रणनीति अघि सार्दै मेयर राणाले भनेका थिए, ‘औषधि खुवाएर जनतालाई बचाउन सकिँदैन भने बाटो बनाएर के गर्नु ?’ तर, मेयर राणाले अघि सारेको रणनीतिले समेत काम गरेन ।

हात्ती पाईले रोग निवारण अभियान ६ चरणमा सम्पन्न हुनुपर्नेमा कार्यक्रम प्रभावकारी नै नभएपछि १३ औं चरणसम्म आईपुगेको स्वास्थ्यकर्मी बताउँछन् । सर्बसाधारणले औषधी नै नखाँदा ६ चरणमा सम्पन्न हुनुपर्ने अभियान १३ औं चरणसम्म पनि चलाउनुपर्ने अवस्था आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताईन् ।

‘हात्ती पाईले रोग विरुद्धको औषधीप्रति कतिपय सर्बसाधारणको गलत बुझाई भइरहेको छ, जसले गर्दा अभियान प्रभावकारी हुन सकेको छैन,’ उनले भनिन् । हात्ती पाईले रोग निवारण अन्तरगत यसअघि २ प्रकारका औषधी खुवाउने गरेकोमा गतवर्षबाट ३ प्रकारको औषधी खुवाइएको जानकारी दिइन् ।

उपमहानगरपालिकाको यि दुई वटा वडामा हात्ती पाईले रोग विरुद्धको औषधी खान नमान्ने सर्बसाधारण नागरिकको बानी, ब्यवहार परिवर्तन गराउन समुदाय स्तरमा समुह निर्माण गरेर जनचेतना मुलक कार्यक्रम चलाइएको पनि प्रमुख पौडेल बताउँछिन् ।

स्वास्थ्य कार्यालय बाँकेका भेक्टर कन्ट्रोल फोकल पर्सन दुर्गा गौतमका अनुसार सरकारी मापदण्ड पुरा गर्न करिव ८० प्रतिशत नागरिकले हात्ती पाईले रोग विरुद्धको औषधी खानुपर्ने हुन्छ । तर, यसअघि ११ औं चरणसम्म पनि जिल्लाभरको ‘कभरेज’ ८० प्रतिशत पुग्न नसकेको बताइन् । ‘पहिलो पटक २०६७ सालमा मात्रै ९१ प्रतिशत कभरेज भएको थियो, त्यसपछि कभरेज घट्दै आयो,’ गौतमले भनिन् ‘गतवर्ष बाँकेमा ६८ प्रतिशत मात्रै औषधीको कभरेज भयो ।’

हात्ती पाईले रोग विरुद्धको अभियान अन्तरगत यसवर्ष पनि यही फागुन ११ गतेदेखी फागुन मसान्तसम्म औषधी खुवाउने कार्यक्रम सञ्चालन गर्न लागिएको उनले जानकारी दिइन् ।

बाँकेका कोहलपुर नगरपालिकाका एक लाख २ हजार ९०४ जना, खजुरा गाउँपालिकाका ६५ हजार ३०७ जना, जानकी गाउँपालिकाका ४७ हजार ७३३ जना, डुडुवा गाउँपालिकाका ४४ हजार १४४ जना, नरैनापुर गाउँपालिकाका ४४ हजार ८०७ जना, नेपालगन्ज उपमहानगरपालिकाका एक लाख ७० हजार ५९८ जना, बैजनाथ गाउँपालिकाका ७१ हजार ८६१ जना र राप्तीसोनारीका ६९ हजार ३४१ जना गरि कुल ६ लाख १६ हजार ६९५ जनालाई औषधी खुवाउने लक्ष्य रहेकोछ ।

‘सुरुको केही दिनसम्म नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रहरुमा औषधी खुवाइन्छ, त्यसपछि स्वास्थ्यकर्मीहरु घर घरमा पुगेर भएपनि आफ्नै निगरानीमा औषधी खुवाउँछन्,’ उनले भनिन् ।

बाँकेमा ११ औं चरणसम्म दुई थरीका औषधि खुवाइएको थियो । बाँकेले गरेको सर्वेक्षणमा लगातार पाँचौ पटकसम्म औषधि खानेको ४४ प्रतिशत मात्रै रह्यो।

हात्तीपाइले रोग निवारणका लागि बाँकेसहित ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउन लागिएको छ । तीन प्रकारका औषधि प्रयोग गरिने पाँच जिल्लामा बाँके, दाङ, कैलाली, कपिलबस्तु र मोरङ रहेका छन् । यसअघि प्रयोग भइरहेका औषधिहरु डाइथाइलकार्बामाजिन १०० एमजी र ४०० एमजीको अल्बेन्डाजोल हो । ५ जिल्लामा भने यो औषधिसँगै आइभरमेक्टिन नामक औषधि पनि थप गरिएको हो । आइभरमेक्टिन औषधि लुतोको उपचारमा पनि प्रयोग गरिन्छ ।

स्वास्थ्यकर्मीका अनुसार हात्तीपाईले रोग विरुद्धको औषधी दुई वर्ष उमेर नपुगेका बच्चा, गर्भवती, ७ दिनसम्मका सुत्केरी, सिकिस्त बिरामी, मृर्गी भएका बिरामीले भने खानु हुँदैन ।