बाँकेमा महिला र बालबालिकामाथि हुने घटना डरलाग्दो


बाँकेमा महिला र बालबालिकामाथि हुने घटना डरलाग्दो

सांकेतिक तस्विर

नेपालगन्ज २४ फागुन : बाँकेमा महिला र बालबालिकामाथि हुने घटना स्वरुप डरलाग्दो पाइएकोछ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सार्वजनिक नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ मा महिला र बालबालिकामाथि हुने घटनाको डरलाग्दो स्वरुपा देखिएको हो ।

यस वर्ष बाँके जिल्लामा मानवअधिकार उल्लङ्घनका घटनामा राज्यपक्षबाट २ जना महिला र १७ जना पुरुष तथा ज्यादतीका घटनामा अन्यपक्षबाट एक सय १५ जना महिला र १४ जना पुरुष पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)द्वारा सार्वजनिक नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ मा उल्लेख भएको पाइएकोछ ।

जसमध्ये बालअधिकार उल्लङ्घनका घटनामा ३४ जना बालबालिका तथा महिला अधिकार उल्लङ्घनका घटनामा ७३ जना महिला पीडित भएको पाइएको छ । बाँकेको एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिकामा उक्त घटना भएका हुन् ।

इन्सेकको वर्ष पुस्तक अनुसार बाँकेमा बालअधिकार उल्लङ्घनका घटना अन्र्तगत सबै भन्दा बढि बालिका पीडित भएको पाइएको छ । एक जना बालकसहीत ३४ जना बालबालिकामाथि उक्त घटना भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

वर्ष पुस्तकमा संकलित तथ्यांक अनुसार २ वटा बालिकाको बालविवाह, ४ जना बालिका बेचविखन तथा ओसारपसार, २१ जना बालिका बलात्कार तथा ६ जना बालिका र १ जना बालकमाथि यौन दुव्र्यवहारको घटना भएको पाइएको छ ।

यसैगरी महिला अधिकार उल्लङ्घनका घटनामा ४ जना महिला बेचबिखन तथा ओसारपसार प्रयास, १९ जना घरेलु हिंसा पीडित हुँदा एक जना बोक्सीको आरोपमा पीडित बन्दा बहुविवाहमा २२ जना, २४ जना बलात्कार हुँदा एक जनामाथि बलात्कार प्रयास भएकोछ । २ जना महिलाको बेचविखन तथा ओसारपसार भएको घटना उल्लेखछ ।

अभिलेखित घटनामध्ये बलात्कारका १९ घटनाका आरोपितलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको र ४ वटा घटनाका आरोपीलाई धरौटीमा रिहा गर्दा एक घटनाका आरोपित वर्षको अन्त्यसम्म प्रहरी अनुसन्धानमै रहेको पाइएकोछ ।

बलात्कार प्रयासका एक घटनाका आरोपितलाई कैद तथा जरिवाना र एक घटनाका आरोपितलाई सफाई दिएको छ । बहुविवाह घटनाका एक आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउँदा पाँच घटनाका आरोपितलाई धरौटीमा रिहा गरिएकोछ । यस्तै १२ घटनाका आरोपित वर्षको अन्तिमसम्म गिरफ्तार नभएको ईन्सेकको वर्ष पुस्तकमा उल्लेखछ ।

यस्तै महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव र दुव्र्यवहारका घटनामा यस वर्ष घरेलु हिंसा पीडित भन्दै २ सय ६० जना महिलाले जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दर्ता गराएको पाइएकोछ । जसमा कुटपिट गरी घरनिकाला गरिएका एक सय ८२, खानलाउन नदिएको ६, विवाह दर्ता, जन्मदर्ता र नागरिकता नबनाएका ४, अर्की पत्नी ल्याएर हेला गरेको एक र सामान्य घरायसी झगडाका ५३ उजुरी रहेको इन्सेक वर्ष पुस्तकमा उल्लेखछ ।

दर्ता भएका महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव र दुव्र्यवहारका घटनामध्ये प्रहरीले एक सय १८ वटामा मेलमिलाप गराएको छ भने मेलमिलाप हुन नसकेका ३६ वटा मुद्दा अदालती दर्ता प्रक्रियामा गएको र १ सय ३६ वटा घटनाका उजुरी प्रक्रियामा रहेको पाइएकोछ ।

इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतले सन् २०२१ मा भन्दा सन् २०२२ मा मानवअधिकार उल्लंघनका घट्ना बढ्नु दुःखदायी भएको बताए । मानव अधिकार उल्लंघनका घटना सरकारी निकायमा रहेकाबाट हुने र राज्यले संरक्षण गर्न नसक्दा राज्यका निकायबाहेकबाट ज्यादती हुने गरेको उनको भनाइ छ ।

संविधानमा मौलिक हकको व्यवस्था भए पनि कार्यान्वयन नहुनु, कानूनको कार्यान्वयन नहुनु, राज्यका निकाय कमजोर हुनु, संवैधानिक निकाय कमजोर हुँदै जाँदा मानव अधिकार उल्लंघनका घटना बढ्दै गएको उनको विश्लेषण छ । लुम्बिनी प्रदेशमा विभिन्न घटनामा परी २ सय ४३ बालबालिका पीडित भएको र एक हजार ६ सय २३ महिला हिंसामा परेको उक्त तथ्यांकले देखएको छ ।