बाँकेका ९ हजार २३ जनाले एसईई परीक्षा दिदैँ

३३ वटा परीक्षा केन्द्र, ६ जना दृष्टिविहीन र २४ जना बालसुधार गृहका विद्यार्थी


बाँकेका ९ हजार २३ जनाले एसईई परीक्षा दिदैँ

File Photo

नेपालगन्ज १६ चैत्र : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बाँकेका ९ हजार २३ जना सहभागि हुँदैछन् । शिक्षा विकास तथा समन्वय एकाई बाँकेका अनुसार एसईई बाँकेका ३३ वटा परीक्षा केन्द्रबाट विद्यार्थीले परीक्षा दिदैँछन् । जसका लागि ३३ जनालाई परीक्षा केन्द्राक्ष तोकिएकोछ । जसमा दुई जना महिला केन्द्राक्ष रहेकाछन् ।

बाँकेको एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिकाका एक सय ९१ विद्यालयबाट विद्यार्थी परीक्षामा सम्मलित हुँदैछन् । समन्वय एकाईका प्रमुख भगवान पौडेलका अनुसार परीक्षाका लागि सम्पूर्ण तयारी पुरा भइसकेकोछ । बाँकेका ९८ वटा सामुदायिक विद्यालय र ९३ वटा संस्थागत विद्यालयका ९ हजार २३ जना विद्यार्थी परीक्षामा सहभागि हुँदैछन् ।

बाँकेका ९८ वटा सामुदायिक विद्यालयका ६ हजार ४ सय ५५ जना र ९३ जना संस्थागत विद्यालयका २ हजार ५ सय ६८ जना विद्यार्थीले एसईई परीक्षा दिदैँछन् ।

पौडेलका अनुसार दृष्टिविहीन विद्यार्थी अध्ययनरत बाँकेको एक मात्र विद्यालय मङ्गल प्रसाद उमाविबाट ६ जना विद्यार्थीले एसईई परीक्षा दिदैछन् । मङ्गलको परीक्षा केन्द्र नेपालगन्ज गणेशपुरस्थित एविसी रेजिडेन्टियल उमाविमा राखिएकोछ । दृष्टिविहीन ६ जना विद्यार्थीका लागि लेखन सहयोगी समेत सिफारिस भइसकेको शिक्षा विकास तथा समन्वय एकाई बाँकेका प्रमुख पौडेलले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

पौडेलका अनुसार जयन्दु बाल सुधार गृहबाट यस वर्ष २४ जना बालकले एसईई परीक्षा दिदैँछन् । बाँकेका १३ जना र बाँके बाहिरका ११ जना विद्यार्थी गरि कुल २४ जनाले परीक्षा दिन लागेका हुन् । उनीहरुका लागि उपकेन्द्र कायम गरि परीक्षा लिइँदैछ । बाँकेको नेपालगन्ज स्थित एबीसि रेजिडेन्टियल हाई स्कुल र कोलपुरको त्रिभुवन माविमा महिला केन्द्राक्ष रहेकाछन् ।

तस्बिर र भिडियो लिन निषेध

पौडेलले विद्यार्थीलाई कुनै डरत्रास नलिई ढुक्क भएर परीक्षा दिन आग्रह गरेकाछन् । परीक्षा केन्द्रमा परीक्षामा लैजान नहुने कुनै पनि बस्तु लगेको पाइएमा र जबरजस्ती गर्न खोजेमा वा केन्द्रमा खटिएका कर्मचारीबाट कुनै गलत गतिविधि भएका प्रचलित कानून अनुसार कारबाही हुने उनले बताए ।

पौडेलका अनुसार जिल्लामा एसईई परीक्षा मर्यादित र शान्तिपूर्ण सम्पन्न गर्नका लागि प्रमुख जिल्ला अधिकारी, बाँके प्रहरी प्रमुख र शिक्षा विकास तथा समन्वय एकाई प्रमुखबाट ३३ वटै केन्द्राक्षलाई कडाईका साथ आवश्यक निर्देशन दिइएकोछ ।

परीक्षा केन्द्रमा अत्यन्तै सीमित, आवश्यक र तोकिएका व्यक्ति परीक्षा समितिको अनुमति लिएर मात्रै अनुगमन गर्न पाइने भएको छ । परीक्षा हलभित्र कुनै पनि तस्बिर र भिडियो लिन नपाइने भएको छ । यस पटक सञ्चारकर्मीलाई पनि परीक्षा केन्द्रका बाहिरको गतिविधिहरूको तस्बिर लिन पाइने तर, परीक्षा सुरु भएपछि परीक्षा हलभित्र गएर तस्बिर र भिडिओ लिन नपाइने व्यवस्था गरेको पौडेलले जानकारी दिए ।

उनले भने,‘अनुगमन तथा तस्बिर लिने नाममा परीक्षा हलभित्र मानिस पस्दा विद्यार्थीको मनोबल गिर्छ, परीक्षार्थीलाई अवरोध हुने गरी तस्बिर लिँदा, विद्यार्थी टोलाउने, को आयो भनेर हेर्दा लेखिरहेको उत्तर पनि बिग्रने सम्भावना र गुनासा आएकाले यसवर्ष परीक्षा हलभित्र तस्बिर दिन नपाइने व्यवस्था गरेका छौँ ।’

विद्यार्थीका लागि एक मिनेट, एक सकेण्डको पनि महत्व हुने भएकाले परीक्षा हलभित्र तोकिएको व्यक्ति र परीक्षा समिति तथा सम्बन्धित निकायको व्यक्ति बाहेक पसेर अन्यलाई अनुगमन तथा तस्बिर लिने नाममा जथाभाबी परीक्षा हलमा नपठाइने भएको हो ।

‘परीक्षा हलभित्र विद्यार्थीलाई मोबाईल, साइन्टिफिक क्यालकुलेटरसहित कुनै पनि इलेक्ट्रिक सामाग्री लान निषेध गरिएकोछ । मर्यादित र शान्तिपूर्ण परीक्षा सम्पन्न गर्न हामी सबै लागि परेकाछौं’ पौडेलले भने ।

यस्तो छ परीक्षा कार्यतालिका

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिका अनुसार एसईई परीक्षा आगामी चैत्र २९ गतेसम्म हुनेछ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन चैत १७ गते शुक्रबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने र सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अङ्ग्रेजीको परीक्षा हुँदैछ ।

यस्तै चैत्र १९ आईतबार अनिवार्य गणित, २० गते सोमबार अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीका लागि अङ्ग्रेजीको परीक्षा हुनेछ । चैत २२ बुधबार अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परीक्षा हुने भएको छ भने चैत २३ बिहीबार अनिवार्य सामाजिक अध्ययन तथा प्राविधिकतर्फ फार्म म्यानेजमेण्ट एण्ड माकेर्टिङ, इञ्जिनियरिङ ड्रइङ, कम्प्युटर रिपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने भएको छ ।

यसैगरी चैत्र २४ गते शुक्रबार अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रमतर्फ कर्मकाण्ड, फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, प्राविधिकधारतर्फ जलीय कृषि तथा मत्स्यपालन, इलेक्ट्रिकल म्यानेजमेण्ट एण्ड इन्स्टल्मेण्ट, कम्प्युटर नेटवर्किङ, इञ्जिनियरिङ सर्भेइङ्ग र म्युजिक अफ नेपालको परीक्षा हुनेछ । साथै चैत्र २५ शनिबार साधारण तथा संस्कृततर्फ ऐच्छिक प्रथमपत्रका सबै विषय, वेदविद्याश्रमतर्फ वेद तथा नीति शास्त्र र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुनेछ । चैत्र २६ गते आईतबार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयपत्रका विषय, वेदविद्याश्रमतर्फ ऐच्छिक द्वितीयपत्रका सबै विषय, प्राविधिक धारतर्फ भेजिटेवल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी एण्ड डेरी प्रडक्सन, युटिलाइजेसन अफ इलेक्ट्रिक इनर्जी, डाटावेस म्यानेजमेण्ट सिष्टम, बिल्डिङ कन्स्ट्रक्सन, म्युजिक टेक्नोलोजीको परीक्षा हुनेछ ।

त्यसैगरी चैत्र २७ गते सोमबार प्राविधिक धारतर्फ क्रप प्रोडक्सन, स्मल रुमेण्ट प्रोडक्सन एण्ड म्यानेजमेण्ट, इलोक्ट्रिोनिक्स डिभाइस एण्ड सर्किट, वाटर रिसोर्सेस इञ्जीनियरिङ र इन्स्ट्रुमेण्ट किबोर्डको परीक्षा हुनेछ । चैत्र २८ गते मङ्गलबार प्राविधिक धारतर्फ इण्ड्रष्ट्रियल इन्टोमोलोगी एण्ड मसरुम, एनिमल हेल्थ, इलेक्ट्रिकल मेसिन, माइक्रो प्रोसेस, हाइवे इञ्जीनियरिङ, म्युजिक विजनेश एण्ड प्रोग्राम म्यानेजमेण्टको परीक्षा हुनेछ ।

परीक्षाको अन्तिम दिन चैत्र २९ गते बुधबार प्राविधिकतर्फ नै फ्लोरिकल्चर एण्ड नर्सरी म्यानेजमेण्ट, भेटेरेनरी ल्याव्रोटरी टेक्निक, इण्ड्रष्ट्रियल इन्स्टलेसन एण्ड मेन्टिनेन्स, अब्जेक्ट ओरेण्टेड प्रोग्रामिङ, इष्टिमेटिङ कस्टिङ एण्ड सुपरभिजन र ऐच्छिक विषयको गायन, सङ्गीत, वाद्यवादन र नृत्यको परीक्षा हुने छ ।