तीजको रहर आयो बरिलै


तीजको रहर आयो बरिलै

Photo: Google

नेपालगन्ज: बालखकालमा जनैपूर्णीमा आएपछि चाडपर्व आएको अनुभूति हुन्थ्यो । हातभरि तागो (रक्षाबन्धन) लाउने रहर बालखकालमा सायद सबैलाई हुन्छ होला ।

साथीको भन्दा आफ्नो नाडीको तागो धेरै हुँदा कम्ता गर्व महसुस हुन्थ्यो । जनैपूर्णीमा पछि विस्तारै चाडबाड आउने क्रममा ती रक्षाबन्धनले सबैलाई अलि बढी रमाइलो अनुभूति दिलाउँछ । हिजो तीज महिलाको र कृष्ण जन्माष्टमी पुरुषको भन्ने गरिन्थ्यो । तर, समयसगैं चाडबाड र यसलाई मनाउने तरिकामा पनि आधुनिकताले छोएकोछ । जसले गर्दा टोटल्ली रिमिक्स चाडबाड मनाइरहेका छौं हामी ।

हिजो
केही वर्ष पहिलेसम्म तीजको गीत महिलाले मात्र गाउने गर्थे । नाँच्न पनि महिला मात्र नाच्थे । तर, आजकल समय बदलिएको छ । तीज महिला पुरुष सबैलाई बराबर लाग्न थालेको छ । तीजमा पहिले–पहिले पुरुषले गाउन र नाच्न हुँदैन भनिन्थ्यो त्यही मान्यता थियो । आजकल तीजको गीत दोहोरीमा रुपान्तर भएको छ ।

जसका कारण वास्तविक तीजको गीत थोरै मात्र सुन्न पाइन्छ । तीजमा दाजुले बहिनी–दिदीलाई लिन जाने चलन आत्मीय चलन थियो । विवाह भएर जानुभएको दिदी बहिनी माईत आउन तीज नै पर्खनु पथ्र्याे । त्यसभन्दा पूरक समय माईत आउने अनुमति घरबाट नपाउँदा वर्ष दिनभरीको पीडा दुःख गीत मार्फत् पस्किइन्थ्यो ।

सासु, लोग्नेले गरेको हिंसा पोख्ने ठाउँ तीज रहन्थ्यो । माईती लिन नआउँदा चेलीको पीडा असह्य हुन्थ्यो । त्यसलाई उनीहरुले गीत मार्फत् व्यक्त गथे ।

वरस दिनको तीजैमा बाबा लिन आएनन्
मै चेली दुःखी कसको माईत जाऊँ ।

माईती लिन जाँदा चेली अत्यन्त खुसी हुन्थिन् । लिन आउने माईतीलाई त्यतिबेलाको स्वादिष्ट भोजन घ्यू, मासु खुवाएर स्वागत गरिन्थ्यो । चेलीलाई लिन गएर माईतीमा ल्याउँदा माईती पनि खुसी हुन्थे । टाढा –टाढाको चेलीबेटी लिन जाँदा बाटो, खोला नालाका अप्ठेरोमा परेर बगाएको दुःखद् समाचार पनि सुन्न पथ्यो ।

आजको जस्तो पुल–पुलेसा, सवारीका साधन थिएन त्यतिबेला । हिँडेरै कोसौं पर पुग्नुपर्ने थियो । यी सबै दुःख दर्दलाई गीतको भाकामा उनेर महिलाहरुले गाउँथे । समाजका कुरीति, महिला हिंसा, राजनीति, प्रेम सबै पक्षलाई तीज गीतले छुने गथ्यो । पञ्चायती शासन कालमा व्यवस्था विरोधी स्वरहरु तीजमा सुनिन्थ्यो ।

व्यवस्थाको आडमा पञ्चले गरेका शोषण दमन तीजमा उद्घोषित हुन्थ्यो। यति बेला तीजको गीत परिवर्तन भएको छ। समय सँगै गीतहरु परिवर्तन भएका छन् । फरिया र सिरफूलका कुराहरु गरेर अब तीजको माहौल तात्दैन । अहिले माईती लिन स्वयम् व्यक्ति जानु पर्दैन । प्रविधिले एक सेकेण्डमा निम्तो दिन्छ । हिजो दर खाइन्थ्यो यति बेला दरको नाममा होटलमा पुलाउ, मासु र सोमरस खाइन्छ, खुवाइन्छ ।

आजकल
तपाई मान्नुहोस् या नमान्नुहोस् तर वास्तविकता के भने आजकल तीजको धार्मिक मान्यता र मर्ममाथि प्रहार भएको छ । तीज महिला मुक्तिको पर्व हो । विशेष गरी आत्मनिर्णयको अधिकारसँग यो पर्व जोडिएको छ । विवाहको अधिकारलाई यो पर्वले सम्झाउँछ । महिलाले आफूले रोजेको ब्यक्तिसँग विवाह गर्न पाउँछन् भन्ने सन्देश तीजको पौराणिक कथाले दिन्छ ।

तर, आजकल धार्मिक मान्यता एकातिर तीजको संस्कार अकोर्तिर भएको छ । तीज आफ्ना आत्मीय माईतीको घरमा होइन होटल रेष्टुरेण्टमा मनाउन थालिएकोछ । बदलिँदो समयमा यो संस्कारलाई पनि हामीले स्वागत गर्नुपर्ने हो कि ? व्यस्त जीवनशैलीमा हामी मान्छेहरुलाई घरमा खाना पकाउन फुर्सद नहुँदा अब बिहान बेलुकाको छाक पनि होटलमा खानुपर्ने अवस्था आउँदैछ ।

यतिबेला होटल, पार्टीप्यालेसमा विभिन्न संघसंस्थाले दिदी बहिनीहरुलाई दर होइन पुलाउ, मासु र सोमरस खुवाउँदै छन् महिला दिदीबहिनीहरु महङ्गो सारी र पहेँलो धातुमा सजिएर नाँच्दै हुनुहुन्छ । दर खाने जमघटमा कसले कति हजारको सारी लगायो ? कसले कति तोलाको गहना लगायो यतातिर महिलाको ध्यान जान्छ । यतिबेला तीज देखासिकी तडकभडक तथा गरगहनाको प्रदर्शनमा रुपान्तरण भएको छ । तीजको नाममा अनावश्यक खर्च, भड्किलो व्यापारिक दृष्टिकोणले दिन दुःखी महिलाहरुलाई खुसी होइन पीडा दिएको छ । हिजो आज तीज धार्मिक भावनाले भन्दा मनोरञ्जनको भावनाले बढी मनाइन्छ ।

धार्मिक पक्ष
तीजको धार्मिक पक्ष हिन्दू धर्मसँग जोडिएको छ । भगवान शिवको अर्धाङगनी पार्वतीले पतिको सु–स्वास्थ्यको कामा गरेर व्रत बसेको किम्बदन्ती छ । त्यसैगरी अको पक्ष राजा हिमालयले आफ्नो छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन दिए रे । यता पार्वतीको पहिले देखि नै शिवसँग अगाढ प्रेम सम्बन्ध थियो । सर्पको माला लगाएर भाङ धतुरो खाने बाघको छाला ओछ्याएर मस्त भएर हिड्ने शिव पार्वतीको बाबुलाई मन पर्दैन्थ्यो ।

आफ्ना बाबुले शिवलाई दिएको थाहा पाएपछि पार्वतीले व्र्रिोह गरेर शिवसँग विवाह गर्न मानिन् । बरु उनलाई साथीहरुले हरेर वन लगे । वनमा पार्वतीले शिव पति पाउँ भनेर कठोर तपस्या गरिन् । पार्वतिले तपस्या गरेको वर्षौं वर्ष पुग्दा पनि फल प्राप्त नभएपछि उनले जंगलमा शिवलिड्ड स्थापना गरी पानी पनि नखाएर व्रत बसिन् रे ।

उनको कठोर तपस्याका कारण भगवान शिव प्रकट भएर चिताएको पुगोस् भनेर आशिर्वाद पाए रे । अनि भाद्र शुक्ल तृतीयाको दिन शिव र पार्वतीको विवाह भयो । त्यसैले यो दिनलाई उत्सवको रुपमा मनाउन थालियो । महिलाले पुरुषप्रति गरेकार अगाध प्रेम र आफूले रोजेको पुरुषसँग विवाह गर्न पाउने अधिकारसँग जोडिएको पर्व तीज हो। तीज मनाउने अरु कारण पनि हुन सक्छन् । तर भरपदो कथा शिव र पार्वतीको प्रसङ नै मानिँदै आएको छ ।

तीज पर्व महिलाहरुको हर्ष र उल्लासको पर्व भनिन्छ। पतिको दीर्घायुको लागि निराहार व्रत बस्ने शास्त्रीय परम्परा छ। भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाउने यो पर्वमा पञ्चमीका दिन ३६५ वटा दतिवन टोक्ने चलन छ। दतिवन दाँत र पाठेघर सम्बन्धी रोग निको पार्ने आर्युवेदिक औषधी मानिन्छ। हरेक दिन दतिवनले दाँत माझ्ने गर्दा दाँत स्वस्थ रहन्छन् । त्यसैको साटो वर्षको ३ सय ६५ वटा दतिवन एकै दिन टोक्ने चलन चलाइयो,। यसलाई परिमार्जन गर्नु जरुरी छ। अब एकै दिन यतिका दतिवन टोक्ने होइन । दैनिक एउटा दतिवनले दाँत माँझे हुन्छ। अविवाहित महिलाले तीजमा व्रत बसेर सुयोग्य पति पाउने होइन। सामाजिक सञ्जालका प्रलोभनमा नफसे, आफू सचेत रहे हुन्छ। तीजको मौलिकता जोगाउने भनेको महिला अधिकारको लडाइँ हो । हिजो तीजमा पीडा, वेदना र गुनासो मात्र सुनिन्थ्यो अब महिलाको जन्मसिद्ध अधिकारको माग स्थापित गरेर तीज मनाउनु पर्छ। 

आफ्नो दक्षता र आर्थिक अवस्थाले पुग्ने गरि तीज मनाउनुहोस् । अरुको देखसिखी र लहडमा मनाइने चाडबाडबाट ऋणी हुनुभन्दा कम खर्च गर्नु नै उचित हुनेछ । हरितालिका तीजका अवसरमा सेतोखरी टिमको तर्फबाट सम्पूर्ण महिला दिदीबहिनहरुमा हार्दिश शुभकामना ।