कनोडियाले अदालतलाई घरबाट भारतीय रुपैयाँ प्रहरीले बरामद गरेको बताएनन्, कनोडिया परिवार भारतमा
अन्तत्:डा.सुरेश कुमार कनोडिया जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालय विरुद्धनै उभिनु पर्यो । उच्च अदालतको ढोकामा पुगेका डा.कनोडियाले प्रहरीले खानतलासी गरेर घडी लगेको त बताए तर अवैध रुपमा भेटिएको ९ लाख ६० हजार भारतीय रुपैयाँ र १५ नेपाली रुपैयाँ बरामद गरेर लगेको चाहीं निवेदनमा कहींकतै खुलाएका छैनन् ।
नेपालगन्ज : नेपालगन्ज वडा न.२ निवासी मेडिकल कलेज व्यवसायी डा.सुरेश कुमार कनोडिया अदालतको ढोका ढकढक्याउन पुगेका छन् । आफु र आफ्नो परिवारका सदस्यलाई बाँके प्रहरीले पक्राउ गर्न सक्ने शंका लागेपछि डा कनोडिया अदालत समक्ष पुगेका हुन् ।
गत शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेले डा कनोडियाको घरमा खानतलासी गरेर ९ लाख ६० हजार भारतीय रुपैयाँ र १५ लाख नेपाली रुपैयाँ बरामद गरेपछि प्रहरीले पक्राउ गर्छकी भनेर डा कनोडिया र उनको परिवार डरायको छ । उनीहरु अहिले नेपालगन्ज छोडेर भारत गएर बसेका छन् ।
कुनैपनि निकायबाट पक्राउ परिन सक्ने देखेपछि पक्राउबाट बच्न डा कनोडिया उच्च अदालत पुगेका हुन् ।
कनोडिया परिवार जिल्ला अदालत बाँके, जिल्ला सरकारी वकिलको कार्यालयय बाँके र सरकारी वकिल कार्यालयका प्रमुख अनि जिल्ला प्रहरी कर्यालय बाँके र प्रहरी प्रमुख विरुद्ध उच्च अदालत समक्ष गुहार माग्न पुगेका छन् ।
हाल भारतमा रहेका डा सुरेश कुमार कनोडिया, श्रीमती रश्मी कनोडिया, कान्छो छोरा नितेश कुमार कनोडिया र जेठि बुहारी ट्वींकल कनोडियाले नेपालगन्ज उपमहानगरपालिका वडा न.१० निवासी जगत प्रसाद गौतमको वारेस मार्फत प्रहरी, जिल्ला अदालत र सरकारी वकिल विरुद्ध उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा निवेदन पत्र दर्ता गराएका छन् ।
कनोडिया परिवारले कुनैपनि निकाएले आफुहरुलाई पक्राउ नगरिदिन उच्च अदालत समक्ष आग्रह गर्दै भयरहित वातावरणमा आफुहरु बस्न पाउनु पर्ने माग गरेका छन् । डा कनोडियाकी कान्छि बुहारी ग्रेस रौनियारलाई घरेलु हिंसा गरी घरबाट लखेटेपछि उनले कनोडिया परिवार विरुद्ध दर्जन मुद्दा दर्ता गराएकी छिन् जुन विचाराधिन छन् ।
त्यसै शिलशिलामा माइतीबाट ल्याएको आफ्ना करिब २ करोड ५० लाख मुल्यका बहुमूल्य गरगहनाहरु कनोडिया परिवारले लुकाइदिएको भन्दै चोरी मुद्दा हालेपछि गत शुक्रबार प्रहरीले कनोडियाको घर खानतलासी गरेको थियो । खानतलासीका क्रममा कनोडिया परिवारले छैन भनेका ४ थरीका सुन र हिराका गहना भेटिएभने अरु भेटिएनन् । त्यसक्रममा प्रहरी ठुलो परिमाणमा भारतीय मुद्रा र नेपाली मुद्रा बरामद गरेर लिएर गयो भने फेला परेको २ सय किलो भन्दा बढी चाँदीका समान त्यहिं छोडी दियो ।
यी लागायत थुप्रै मुद्दा लगाएर प्रहरीले पक्राउ गर्न सक्ने देखेपछि कनोडिया परिवारले अन्तरिम आदेश सहित उत्प्रेषण, परमादेश,प्रतिषेध लगायत उपयुक्त आदेश जारी गरि पाउँ भन्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा निवेदन पत्र दायर गरिएको छ ।
उक्त निवेदन पत्र मार्फत कनोडिया परिवारले आफुहरुलाई पक्राउ नगरिदिन आग्रह गर्दे उच्च अदालत समक्ष विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिदिन माग गरेका छन् ।
‘प्रस्तुत् निवेदनपत्रको अन्तिम टुंगो नलागेसम्म चोरी सम्वन्धि झुठा, बनावटी र निराधार आरोपको आधारमा हामी निवेदकलाई तत्काल पक्राउ नगर्नु नगराउनु, हामीलाई पक्राउ गर्नको लागि अनुमति नलिनु÷नदिनु, पक्राउपूर्जी जारी भइसकेको भएका खण्डमा सो पक्राउपूर्जी कार्यान्वयन नगरी यथास्थितीमा राख्नु ।’ कनोडिया परिवारद्धारा उच्च अदालतमा दर्ता गरिएको निवेदन पत्रमा अगाडी लेखिएको छ ‘हामीलाई सम्मानपूर्वक वसोवास गर्न पाउने, आवत जावत गर्न पाउने, व्यापार व्यवसाय गर्न पाउने लगायतका संवैधानिक एंव कानूनी हक अधिकारमा आघात पार्ने कुनै पनि कार्य नगर्नु नगराउनु भनी यि विपक्षीहरुका नाउमा उच्च अदालत नियमावली २०७३ को नियम ४२(१) र मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८(१)(२) बमोजिम अन्तरिम आदेश लगायत उपयुक्त आदेश जारी गरी विपक्षीहरुको काम कारवाहीबाट हामी निवेदकहरुलाई भइरहेको र हुन सक्ने अपुरणीय क्षेतिबाट बचाइ पाउँ ।’
कनोडिया परिवारले निवेदन पत्र मार्फत गरेको आग्रहलाई उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले दुवै पक्षलाई छलफलमा बोलाएको छ । उक्त मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका नम्बर २ का माननिय न्यायाधिश मुनेन्द्र प्रसाद अवस्थीले जारी गरेको आदेशमा भनिएको छ ‘निवेदकले अन्तिरिम आदेश समेत जारी गरी पाउँ भनी माग गरेको सम्बन्धमा विचार गर्दा दुवै पक्षको कुरा सुनी अन्तरिम आदेश जारी हुने नहुने भन्ने सम्बन्धमा निर्णयमा पुग्नु उपयुक्त हुने देखिएको हुँदा मिति २०८३ साउन २० गते छलफल पेशी तोकी पेश गर्नु ।’
साथै छलफल अवधीसम्म निवेदकहरुलाई धरपकड गर्ने, थुन्ने, लगायतका कार्यहरु नगर्न नगराउन, कुनै पनि किसिमको जाहेरी उजुरी निवेदन परेको भए यथास्थितीमा राख्न भनि विपक्षीका नाममा उच्च अदालतद्धारा अल्पकालिन अन्तरिम आदेश जारी भएको छ ।