आज दिनभर पानी पर्ने, नेपालगन्ज जलमग्न


आज दिनभर पानी पर्ने, नेपालगन्ज जलमग्न

बुधबार परेको पानीका कारण जलमग्न नेपालगन्जको सेतुविक चोक । तस्विर/ सेतोखरी

नेपालगन्ज : मौसममा आएको परिर्वतनसंगै यतिवेला बाँके सहित देशभर वर्षा भइरहेकोछ । भदौको अन्तिम साताबाट सक्रिय भएको मौसमि प्रणालीका कारण वर्षा भइरहेकोहो ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको कारण देशभर मौसममा बदली भइरहेको छ । साथै, भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली रहेकाले पनि त्यसको प्रभावले नेपालमा पानी परिरहेको छ ।

हाल देशका अधिकांस भागहरुमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्य वर्षा भइरहेको छ ।
नेपालगन्जमा बुधबार पनि दिनभर बादल लाग्ने र पानी पर्ने मौसम तथा पूर्वानुमान साखाको पूर्वानुमान छ ।

मौसमविद्का अुनसार आज नेपालगन्जमा घाम लाग्ने सम्भावना देखिदैन । दिनभरि नै पानी पर्छ । केही क्षण रोकिए पनि एकछिनपछि फेरि पानी पर्ने छ ।

नेपालगन्जमा आज विहानै देखि परेको पानीले नेपालगन्जका अधिकांस क्षेत्रमा पानी जमेकोछ । नेपालगन्जको न्यूरोड, सेतुविक चोक, धम्बोझी चोक र घरबारी टोल लगायतका ठाँउहरु जलमग्न भएकाछन् ।

विहानै देखि परेको पानीका कारण स्कुल तथा कलेज जाने र आउने विद्यार्थीहरुलाई समस्या परेको छ भने कार्यालय ब्यवसाय सञ्चालन गर्ने समयमा परेको पानीले समस्या दिएको छ । यतिवेला नेपालगन्ज बजारमा सर्वसाधरणको उपस्थिती न्यून छ ।

मौसम तथा पूर्वानुमान शाखाले दिएको जानकारी अनुसार बुधबार देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने बताएको छ । कतैकतै भारी वर्षाको पनि सम्भावना रहेकाले पहिरो जान सक्ने, नदीहरुमा पानीको वहाब बढ्न सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

मौसमविद मञ्जु बासीका अनुसार बिहीबारदेखि भने मौसममा क्रमिक सुधार आउने छ । उनले भनिन्, ‘हिजो र आजजस्तो पानी भोलि पर्दैन । किनभने हामी मनसुनको अन्त्य अन्त्यतिर पनि छौं ।’

सामान्यतया नेपालमा जुन १० तारिखदेखि मनसुन सुरु भएर सेप्टेम्बर २३ तारिखमा सकिन्छ । यस वर्ष नेपालमा १० दिन ढिलो मनसुन भित्रिएको थियो । विगतलाई हेर्दा मनसुनको अवधि लम्बिएको छ ।

गत वर्ष अक्टुबर ५ बाट नेपालमा मनसुन अवधि सकिएको थियो भने सन् २०१३ मा त अक्टुबर १९ मा मात्र मनसुन अन्त्य भएको थियो ।

यस वर्ष पनि मनसुन लम्बिने अनुमान मौसमविदको छ । मौसमविद मञ्जु बासीले भनिन्, ‘विगतको ट्रेण्डलाई हेर्दा यस वर्ष पनि त्यस्तै हुने अनुमान गर्न सकिन्छ । यद्यपि विस्तृत विश्लेषण गर्न बाँकी नै छ ।’