समितिद्वारा १५ दिनको समय माग
नेपालगन्ज : सुर्खेतको कटकुवामा मारिएका गाईको घटनाको छानविन गर्नका निम्ति गठित छानविन समितिको म्याद सोमबार सकिएकोछ । तर, तोकिएको समयमा उक्त छानविन समितिले कुनै पनि खालको प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन ।
उच्च अदालत बार एशोसियसन नेपालगन्जका अध्यक्ष विकास आचार्यको संयोजकत्वमा गठित उक्त समितिले अनुसन्धानका लागि बाँके, सुर्खेत र दैलेखमा रहेका सरोकारवालाहरुसंग प्रत्येक्ष भेटेर घटनाका बारेमा जानकारी लिएको भएपनि प्रतिवेदन सार्वजनिकाका लागि रिपोर्ट तयार भइनसकेको बुझिएकोछ ।
सोमबार म्याद सकिएता पनि उक्त समितिले घटनाको सत्यतथ्य, निष्पक्ष प्रतिवेदन सार्वजनिकका लागि थप १५ दिनको समय माग गरेको संयोजक आचार्यले जानकारी दिए ।
उनले भने –‘पहिलो चरणमा तोकिएको समय भित्र प्रतिवेदन सार्वजनिक गर्न सकेनौं । यथार्थ प्रतिवेदन सार्वजनिक गर्नका लािग अब १५ दिनको समय माग गरेका छौं ।’

नेपालगन्ज उपमहानगरपालिकाले मङगलबार साँझसम्म समय थपका विषयमा कुनै पनि प्रतिक्रिया भने दिएको छैन । ‘उपमहानगरपालिकाले हामीले माग गरेको समय दिएमा १५ दिन भित्र उक्त, घटनाका बारे यथार्थ विवरण सहितको प्रतिवेद सार्वजनिक गर्ने छांै ।’ समितिका संयोजक आचार्य बताउँछन् ।
यसैविच सुर्खेतको कट्कुवामा भएको गाई मृत्युको घटनाका विषयमा सत्यतथ्य छानविन गर्न गृह मन्त्रालयले समेत छानविन समिति गठन गरेकोछ ।
गृह मन्त्रालयद्वारा गठित छानविन समितिले बाँके, सुर्खेत र दैलेख पुगेर घटनाको सत्यतथ्य बुझ्न प्रत्येक्ष सरोकारवालासंग भेट गरिसता पनि उक्त समितिले प्रतिवदन सार्वजनिक गर्न सकेको छै ।
गाई मरेको घटना छानविन गृह मन्त्रालयद्वारा गठित छानविन समितिको निस्कृयताका कारण प्रतिवेदन सार्वजनिक नभएको नागरिक समाजका अगुवा बताउँछन् ।
सुर्खेतको कट्कुवामा भदौ १२ गते विहीबार राती नेपालगन्जबाट दैलेखका लागि लगिएका करिब ३ सय गाईमध्ये २६ वटा गाई–गोरु मरेका थिए । नेपालगन्जमा रहेको काञ्जी हाउसबाट दैलेख लाने भनेर २ सय ९१ वटा गाई–गोरु जिल्ला प्रशासन कार्यालय बाँकेको सिफारिसमा ८ वटा ट्रकमा लगिएको थियो ।
वीरेन्द्रनगरभित्र कट्कुवा, ब्यूरेनी र सुब्बाकुनासहित तीन ठाउँमा २६ वटा गाई मृत भेटिएका छन् । वीरेन्द्रनगरको कट्कुवा क्षेत्रमा बेवारिसे छोडिएकामध्ये एक सय वटा गाई–गोरु नेपालगन्ज फिर्ता ल्याईएको उपमहानगरपालिकाले बताएको छ ।
सुर्खेतको वीरेन्द्रनगरभित्र कट्कुवा, ब्यूरेनी र सुब्बाकुनासहित तीन ठाउँमा २६ वटा गाई मृत भेटिएका थिए । सो क्रममा वीरेन्द्रनगरको कट्कुवा क्षेत्रमा बेवारिसे छोडिएकामध्ये एक सय वटा गाई–गोरु नेपालगन्ज फिर्ता ल्याईएको थियो ।