नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाका डुवानको समस्या नयाँ होइन् । सरकारी तहबाट नगरको डुवानका लागि वर्षेनी प्रयास नगरेको भने होइन् । तर, डुवानको समस्या ज्यूँका त्यूँ छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८, स्थित रहेका दुई मुख्य प्रहरी कार्यालयहरु वर्षेनी डुब्ने गरेकाछन् । वर्षातका समयमा डुवानको समस्या झेल्दै आएका यी प्रहरी कार्यालयहरुको समस्या समाधानमा भने चासो दिएको पाइदैन ।
बुधबार परेको अविरल वर्षाका कारण नेपालगन्ज जलमग्न भयो । त्यसका साथसाथै उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदो स्थित सशस्त्र प्रहरी गुल्म सुर्खेत, हाल नेपालगन्ज स्थित कार्यालय र कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र डुवानमा परे ।
डुवानको सवैभन्दा ठूलो असर सशस्त्र प्रहरी गुल्मलाई प¥यो । दक्षिणपूर्व लग्दाहवा गाँउ जाने पक्की बाटो र उत्तरपश्चि नेपालगन्ज–सुर्खेत रोडका कारण पानीको निकास सहज भएन ।

पानीको सहज निकास नभएपछि डुवानको समस्याले गुल्मका प्रहरीले सास्ती भोग्नुप¥यो । वर्षाको पानी गुल्मको भान्साकोठा, स्टोर रुम, सुत्ने कोठा सम्म पस्यो । डुवानका कारण प्रहरीले पानीमा उभिएरै ड्युटि गर्नुप¥यो । डुवानका कारण गुल्मको काम समेत प्रभावित बन्यो । अझ यता कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रको मैदानमा जमेको पानीका कारण प्रहरीलाई समेत सास्ती दिएकोछ । पानीमा डुवेको मैदानमै प्रहरीले अभ्यास समेत गरिरहेकाछन् ।
प्रहरी नै डुवानमा परेको सामाजिक सञ्जालमा गुल्म डुवानको तस्विर पोष्ट भएपछि पानीको निकासका लागि विहीबार नेपालगन्ज उपमहानगरपालिकाको जेसिभीले पानी हटाउने काम गरेकोछ ।
गुल्मको उत्तरपश्चिम यूरो वेवी जोन अगाडीबाट जेसिभीले नाला खनेर जमेको पानी निकासको काम गरेकोछ । यद्यपी गुल्मभित्र भरिएको पानीको मात्रा धेरै भएकाले अझै घट्न सकेकोछैन ।

जेसिभीको सहायताले गुल्ममा भरिएको पानी निकास गराउँदा त्यसवरपरको स्थान जलमग्न समेत बनेकोछ । चारलेनको सडक निर्माणका क्रममा सरोकारवालाले पानी तथा ढल निकासका लागि नाला नबानाइनुले यस्तो समस्या भएको स्थानीयबासी बताउँछन् ।