बाँकेमा पाँच जनालाई आममाफी


बाँकेमा पाँच जनालाई आममाफी

नेपालगन्ज : बाँकेको नेपालगन्जस्थित कारागारामा थुनामा रहेकामध्ये पाँजना कैदीबन्दी थुनामुक्त भएका छन् ।

संविधान दिवसको अवसरमा नेपालगन्ज कारागारबाट पाँच जना थुना मुक्त भएका हुन् । सरकारले संविधान दिवसका अवसरमा देशभरबाट २ सय ८२ जना बन्दीलाई आममाफी दिएको छ । जसमा बाँकेबाट पाँच जना परेको जेलर भरत पाण्डे बताउँछन् ।

जेलर पाण्डेका अनुसार, ६ जनाको नाम पठाएकोमा पाँच जनाले आममाफी पाएका छन् । नेपालगन्ज कारागारबाट गौवधका ननकुने खाँ पठान र बंगुरी खाँ, नकबजनी चोरीका रुपेन्द्र चन्द, कर्तब्य ज्यानका रविन थापा र अपराधिक लाभका रमेशप्रसाद अधिकारी छुटेका छन् ।

नेपालगन्ज कारागारमा ७ सय ४६ जना बन्दी रहेका छन् । त्यसमा ५६ जना महिला रहेको पाण्डेले बताए । दुई सय पचास जनाको क्षमता रहेको कारागारमा झण्डै तेब्बर बन्दी रहेकोले एकदमै समस्या भइरहेको जेलर पाण्डेले गुनासो गरेका छन् । कारागारमा सबैभन्दा धेरै लागु औषध, जबरजस्ती करणी र कर्तव्य ज्यानका बन्दी रहेको उनी बताउँछन् ।

यसैबीच संविधान दिवसका अवसरमा उच्च अदालत वार एशोसियसन, बाँके र फत्तेबाल आँखा अस्पताल, नेपालगन्जले कारागारमा रहेका कैदीबन्दीको आँखा जाँच गरेको छ । सधै प्रभातफेरि र भाषण गरेर संविधान दिवस मनाउने प्रचलनको अन्त्य गर्दै वारले आँखा अस्पतालसँग मिलेर बन्दीको आँखा जाँच गरेको वारका अध्यक्ष विकास आचार्यले बताए ।

उक्त आँखा जाँच कार्यक्रममा उच्च अदालत तुलसीपुर नेपालगन्ज ईजलासका मुख्य न्यायाधीश रमेश पोखरेल, वारका महासचिव लिलामणि पोखरेल लगायतको सहभागीता रहेको थियो ।

मुख्य न्यायाधीश पोखरेलले बन्दीलाई औषधी दिएर निशुल्क आँखा जाँचको शुरुवात गरेको अध्यक्ष आचार्यले जानकारी दिए । आँखा अस्पतालबाट खटिएका स्वास्थ्यकर्मीले कारागारका बन्दीको आँखा जाँच गरेका हुन् ।

यस्तै संघीय गणतान्त्रिक नेपालको चौथौ संविधान दिवस बाँकेको नेपालगन्ज, खजुरा, कोहलपुर, जानकी, बैजनाथ, नरैनापुर राप्तीसोनारी डुडुवा पालिकामा पनि विविध कार्यक्रम गरी दिवस मनाईएको छ । बाँकेमा सबै स्थानीय तहमा ¥याली, सभा, सरसफाई, हाजिरीजवाफ, वक्तृत्वकला तथा दीप प्रज्वलन गरेर दिवस मनाईएको छ ।

यसैबीच संविधान दिवासको अवसर नेपाल बार एशोशिएशन, नेपालगन्ज उच्च अदालत बार एशोशिएशनको दोस्रो साधारण सभा सम्पन्न भएकोछ । बारले संविधानको प्रभावकारी कार्यान्वयनको अपील गर्दै ८ बुदेँ घोषणा पत्र समेत जारी गरेकोछ ।

संविधानतः कानूनको शासन, मानव अधिकारलाई आत्मासात गर्दै, निष्पक्ष, स्वतन्त्र र निर्भिक न्याय सम्पादन प्रणालीको अपेक्षा गर्दै बारले ८ बुदेँ नेपालगन्ज घोषणापत्र जारी गरेको हो ।

बारद्वारा जारी घोषणा पत्रमा संविधानको पूर्ण कार्यान्वयनका लागि सरोकारवालालाई गम्भीर ध्यानाकर्षण गराएको छ । यस्तै स्वतन्त्र, निष्पक्ष, जनाउत्तरदायी र पारदर्शी न्यायपालिका प्रति प्रतिबद्ध रहँदै स्वच्छ, निर्भिक, स्वतन्त्र न्याय प्रदान गरी जनताको न्यायको अधिकार प्रत्याभूतीका लागि न्यायपालिकाको गम्भीर ध्यानाकर्षण गराएकोछ ।

बारद्वारा जारी घोषणापत्रको तेस्रो बुदाँमा संविधानतः राज्य पुर्नसंरचनाका सैद्धान्तिक मान्यता र आधार भित्र तीनै तहको राज्य संरचना अन्तर्गत स्थानीय तहलाई ‘सिंहदरवारको अधिकार जनतामा’ भन्ने मान्यताको सफल कार्यान्वयन , जनअधिकार, जनसहभागिता र पारदर्शिता मुलक सुशासन र सुव्यवस्थाको लागि कृयाशिल रहन स्थानीय तहको सरकारलाई समेत ध्यानाकषर्ण गराएकोछ ।

यस्तै राज्यका सबै संबैधानिक अंगहरुले संविधान, कानून र नागरिक प्रति प्रतिवद्ध रही जनउत्तरदायी तथा विश्वसनीय वातावरणको सृजना गरी देश र जनताको हितमा कार्य गर्न,‘सम्बृद्ध नेपाल, सुखि नेपाली’ भन्ने वर्तमान सरकारको नारालाई सार्थक तुल्याउन कानूनको शासन, सुशासन, भ्रष्टचार सुन्य सहनसिलता, मानव अधिकारको प्रत्याभूती गर्दै जनताका आधारभूत आवश्यक्ताहरु परिपूर्ती गर्दै आम जनताको सरल, सहज सम्मानपूर्वक तथा शान्तिपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितता गराउने तर्फ नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको ।

नेपालगन्ज घोषणा पत्रको छैठौं बुदाँमा संविधानको कार्यान्वयन, कानूनी शासन, स्वतन्त्र न्यायपालिका प्रति प्रतिवद्ध रहँदै सामाजिक न्याय, न्यायमा सहज पहुँचका लागि बार एशोशिएशन सदैव सम्बन्धित सरोकारवालाहरुसगँ सहकार्य गर्ने जनाएकोछ ।

घोषणापत्र मस्यौदा समितिका संयोजक अधिवक्ता प्रह्लाद बहादुर कार्की, सदस्य अधिवक्ताहरु तेज कुमार धिताल, बासुदेव ज्ञवाली र लक्षीराम सापकोटाद्वारा जारी गरिएको नेपालगन्ज घोषणा पत्रको सातौं बुदाँमा स्वतन्त्र, निष्पक्ष न्याय सम्पादन गर्ने निकायसँग सम्बन्धीत विषयमा दवाव सृजना गरी न्याय, न्यायीक अनुसन्धानलाई प्रभाव पार्ने गरी गरीने समचार सम्प्रेषण प्रति यो बारको गम्भीर ध्यानाकर्षण भएको जनाएकोछ ।

स्वतन्त्र पक्षका समचार मध्यमबाट सम्प्रेषित हुने सूचना, समचारहरु पत्रकारिताको मूल्य, मान्यता र आदर्श बमोजिम सम्प्रेषण गर्न गराउन सम्पूर्ण जिम्मेवार सञ्चार संस्था तथा संचारकर्मीहरुमा आग्रह समेत गरेकोछ ।

नेपाल बार एशोशिएशन, नेपालगन्ज उच्च अदालत बार एशोशिएशनले वर्तमान संविधानका केही प्रवधान प्रति असन्तुष्टी राख्ने विभिन्न वर्ग, समुदाय, राजनितीक दलसँग वर्ता र सम्बादको माध्यमबाट संविधान प्रति अपनत्व ग्रहण गर्ने विश्वसनीय वातावरण सृजना गरी संविधानको पूर्ण कार्यान्वयन को आधार तयार गर्न नेपाल सरकार प्रति गम्भीर ध्यानाकर्षण गराएकोछ ।

यस्तै संविधान दिवसका अवसरमा नेपालगन्जमा बृहत रक्तदान समेत गरिएकोछ । रक्तदान जीवनदान, आत्माज्ञान अति महान सेवा गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ नेपाल मानव धर्म सेवा समिति राप्ती भेरी आश्रम नेपालगन्जले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

सो क्रममा विश्व शान्ति दिवस तथा सदगुरु देव श्रीसतपाल जि महाराजको ६९ औ जन्मउत्सव समेत आश्रमले मनाएको छ । आश्रमद्वारा गरिएको वृहत रक्तदान महिला ११ र पुरुष ९२ जना गरी कुल १०३ जनाले रक्तदान गरेको आश्रमका तेजनारायण कडेलले बताए ।