३५ जना बिभूषित हुँदैं


३५ जना बिभूषित हुँदैं

नेपालगन्ज : प्रदेश पाँच सरकारले विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका ३५ जनालाई पदक दिने घोषणा गरेको छ ।

मन्त्रिपरिषद वैठकले स्वीकृत गरेका पदक पाउने व्यक्तिहरुको नामावली पाँचौं संविधान दिवसका अवसरमा सार्वजनिक गरिएको हो ।

पदक पाउनेहरुमा क्रिकेट खेलाडी सोमपाल कामीदेखि लुम्बिनीमा हत्या गरिएका जापानका भिक्षु नावातामे समेत परेका छन् ।

लुम्बिनीको विकासमा योगदान र्पुयाएका र लुम्बिनीमा शान्ति स्तुपा बनाउँदै गर्दा हत्या गरिएका जापानी भिक्षु नावातामेलाई बुद्ध शान्तिपदक (मरणोपरान्त) दिने निर्णय भएको छ ।

त्यसैगरी प्रदेश प्रमुख जनसेवा प्रथम पदक साहित्यकार मोदनाथ प्रश्रित, प्रदेश प्रमुख जनसेवा पदक द्वितीय पत्रकार एवं साहित्यकार कृष्ण सेन ईच्छुक (मरणोपरान्त) र प्रदेशको प्रथम आवधिक योजना तर्जुमा गर्न योगदान गरेका प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष डाक्टर प्रकाशकुमार श्रेष्ठलाई दिइने भएको छ ।

संघीयता र गणतन्त्र प्राप्तिको आन्दोलनमा उल्लेख्य योगदान गरेवापत दाङका भगौता थारुलाई प्रदेश प्रमुख जनसेवा पदक तृतीय तथा पूर्वी रुकुमका सूर्यप्रकाश पुन र परम्परा गौतम श्रीमान श्रीमतीलाई मरणोपरान्त प्रदेश प्रमुख जनसेवा तृतीय दिने निर्णय गरिएको छ ।

प्रदेशको विकासमा योगदान गरेको भन्दै दाङका स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार ओलीलाई मुख्यमन्त्री प्रज्वलद्वीप पदक प्रथम दिने निर्णय भएको छ ।

प्रदेशको प्रमुख सचिवको रुपमा उत्कृष्ट काम गरेका डा. तीर्थ ढकाललाई प्रदेश सेवा समर्पण प्रथम र प्रदेशसभा सचिवको रुपमा काम गरेका सुरेन्द्र अर्याललाई प्रदेश सेवा समर्पण पदक द्वितीय दिने निर्णय भएको छ ।

समाजसेवाश्री प्रथम पत्रकारितामा योगदान गरेका दाङका नारायणप्रसाद शर्मा, समाजसेवाश्री द्वितीय गुल्मीका शमशेरबहादुर खत्री (मरणोपरान्त), संस्कृत शिक्षा विकासको क्षेत्रमा विशिष्ट योगदान गरेकी दाङकी हिमा उपाध्याय (मरणोपरान्त) र प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गरेको भन्दै बाँकेका अशोककुमार क्षेत्रीलाई दिइने भएको छ ।

समाजसेवाश्री पदक तेश्रोबाट दुर्गम क्षेत्रमा रहेर स्वास्थ्य सेवामा उल्लेखनीय योगदान गरेका डा. लेखराज सुवेदी, समाजसेवाको क्षेत्रमा विशिष्ट योगदान गरेका पाल्पाका घण्टप्रसाद अर्याल, स्वास्थ्य क्षेत्रमा उल्लेखयनीय योगदान गरेका गौतमबुद्ध मुटु अस्पताल बुटवलका अध्यक्ष एजाज आलमले पाउने भएका छन् ।

थारु भाषा साहित्यको क्षेत्रमा उत्कृष्ट योगदान गरेवापत दाङका महेश चौधरीलाई प्रदेश रत्न प्रथम, शिक्षा र सामाजिक क्षेत्रमा विशिष्ट योगदान गरेका गुल्मीका परमानन्द भण्डारीलाई प्रदेश रत्न द्वितीय (मरणोपरान्त), कृषि क्षेत्रमा विशिष्ट योगदान गरेका रुपन्देहीका सिपी शर्मा र शशीधर पौडेलले प्रदेश रत्न द्वितीय पाउने भएका छन् ।

प्रदेश रत्न तृतीय पदक पाउनेमा भाषा साहित्यबाट कपिलवस्तुका डा. विष्णुराज आत्रेय, चित्रकला र मूर्तिकला क्षेत्रबाट रुपन्देहीका नर्वु लामा, शिक्षा क्षेत्रबाट अर्घाखाँचीका बुद्धिबहादुर रायमाझी, अल्लो उद्यम व्यवसायमा उल्लेखनीय योगदान गरेकी चित्रकली बुढा, खेलकुद क्षेत्रमा उल्लेख्य योगदान गरेका गुल्मीका सोमपाल कामी रहेका छन् ।

पुथाश्री शिखर द्वितीय पदक पर्यटन क्षेत्रमा योगदान गरेका बांकेका कृष्णलाल चौधरीले पाउने छन् । नेकपाका नेता एवं पुर्व सांसद नेत्र पन्थी संयोजक रहेको समितिले पदक पाउने व्यक्तिहरु छनोट गरी सरकारलाई सिफारिस गरेको हो ।