नेपालगन्ज : नेपालको संबिधान २०७२ ले सबै जात जाती, धर्म, लिंग, वर्गको अधिकारलाई सुनिश्चित गरे पनि कार्यान्वयन पक्ष फितलो भएको बाँकेको खजुरामा आयोजित एक कार्यक्रममा सहभागीले औल्याएका छन् ।
संविधान दिवसको सन्दर्भ पारेर खजुरा गाउँपालिकाले शनिवार आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै सहभागीले संविधान कार्यान्वयनको पक्षमा भएका त्रुटी सच्याउदै जनतासंग पुग्नुपर्ने बताए ।
खजुरा क्षेत्रका सबै राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, महिला, मधेशी, मुस्लिम, पेशा, वर्ग क्षेत्र सबैको प्रतिनिधित्वमा गरिएको संवादमा अधिकांशको धारणा संविधानले सबैको अधिकार र भावना समेटे पनि कार्यान्वयन पक्ष फितलो भएकोमा एकमत देखिएका थिए ।
उनीहरुले संविधानले दिएका अधिकारको सही सदुपयोग गर्दै नागरिकले आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए । खजुरा गाउँपालिका कार्यवाहक प्रमुख एकमाया बिकले कानून पूर्णरुपमा नबनेकाले संविधान कार्यान्वयनमा समस्या आएको बताईन् ।
उनले स्थानीय तहलाई दिएको २२ वटा अधिकार कार्यान्वयनमा पनि कानून बनाएर अगाडि बढ्न समस्या र ढिलाई भएको बताउदै आएका सुझाबहरु प्रदेश सरकारलाई प्रतिबेदनको रुपमा दिएको बताईन् ।
कार्यक्रममा नेकपा खजुराका अध्यक्ष राजकुमार बिक, नेपाली काँगे्रस सभापति शेरबहादुर गुरुङ, राजपाका अब्दुल काँदार, राप्रपाका मोहन बहादुर खड्का, खजुरा गाउँपालिका राजनीतिक सल्लाहकार भीम ओली, बिज्ञ समूह सदस्य भक्त बहादुर केसी, पूर्णचन्द्र उपाध्याय, कार्यपालिका सदस्य भागीरथ सुनार, शिक्षक महासंघ खजुरा गाउँपालिका अध्यक्ष केशब लामिछाने, कर्मचारी संगठनका कृष्ण थापा, महिला प्रतिनिधि शोभना मिश्रा, मुस्लिम धर्मगुरु मो. साद्दिक अली, किसान अगुवा गेहेन्द्र धिताल, सहकारी सञ्जाल खजुरा अध्यक्ष यामबहादुर महतारा लगायतले संविधान कार्यान्वयन पक्षलाई मजबुत पार्न सकारात्मक ढंगले आ–आफ्नो कर्तब्य पालना गर्दै जिम्मेवार बन्नुपर्ने बताए ।
खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले संविधानको अध्ययन गरेर मात्र आफ्ना धारणा सार्वजनिक गर्दा राम्रो हुने बताए ।