काठमाण्डौं: दशैं, तिहार तथा छटमा राजधानीबाट बाहिरिने यात्रुका लागि सार्वजनिक यातायातको टिकट बुकिङ आजदेखि खुलेको छ ।
दसैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि यातायात व्यवसायी महासंघले आजदेखि अग्रीम टिकट बुकिङ सुरु गरेको हो ।
गत भदै २६ गते यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र महासंघसँग भएको सहमतिअनुसार बुकिङ खोलिएको छ ।
महासंघकाअनुसार काठमाडौंमा कोटेश्वर, चाबहिल, गौशाला, पुरानो बसपार्क, नयाँ बसपार्क, कलंकी र सुन्धारा गरी सात ठाउँका काउन्टरबाट टिकट बुक गर्न सकिनेछ । दशैं र तिहारमा करिब २५ लाख मानिस राजधानीबाट बाहिरीने गरेका छन् ।
यत्तिका संख्यामा मानिस बाहिरीने भएपछि सरकारले प्रत्येक वर्ष अग्रिम टिकट खुलाउने गरेको छ । यस वर्षको टिकट बुकिङ सुरु गर्नुभन्दा अघिल्लो दिन सवारीसाधनको प्राविधिक पक्षको चेकजाँच गरिएको थियो ।
दसैं–तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने विभागले जनाएको छ । यस पटकको दसैं तिहारका लागि भनेर नयाँ यातायात भने थपिएको छैन ।
यस्तै यातायात व्यवसायी राष्ट्रिय महासंघले टिकट काउण्टरमा बस्ने कमर्चारीलाई एउटै ड्रेस लगाउनुपर्ने नियम पनि लागू गरेको छ । महासंघले उपलब्ध गराएको पोशाक लगाएका र परिचयपत्र बोकेका कर्मचारीसँग मात्र टिकट लिन आग्रह गर्दै तोकिएको स्थानमा यातायातका कर्मचारीबाट मात्र टिकट लिन आग्रह गरिएकोछ ।