नेपालगन्ज: यतिवेला बाँके सहित देशभर वर्षा भइरहेकोछ । मौसममा केही सुधार आएको भए पनि अझै पूर्ण रुपमा भने सफा भएको छैन ।
हाल देशका अधिकांश क्षेत्रमा सामान्य बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आईतबार दिनभरि देशभरि सामान्यदेखि पूर्ण बदली हुने मौसमविदले बताएका छन् । मनसुनी गतिविधि सक्रिय नै रहेकाले केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।
यसैगरी राति देशभरि सामान्यदेखि पूर्ण बदली हुने र केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।
भदौको अन्तिम साताबाट सक्रिय भएको मौसमि प्रणालीका कारण वर्षा भइरहेकोहो ।
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको कारण देशभर मौसममा बदली भइरहेको छ । साथै, भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली रहेकाले पनि त्यसको प्रभावले नेपालमा पानी परिरहेको छ ।
हाल देशका अधिकांस भागहरुमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्य वर्षा भइरहेको छ ।
नेपालगन्जमा गत बुधबार परेको पानीका कारण नगर जलमग्न भएको थियो । यस्तै जिल्लाका विभिन्न स्थानमा डुवानको समस्या झेल्नु परेको थियो ।
सामान्यतया नेपालमा जुन १० तारिखदेखि मनसुन सुरु भएर सेप्टेम्बर २३ तारिखमा सकिन्छ । यस वर्ष नेपालमा १० दिन ढिलो मनसुन भित्रिएको थियो । विगतलाई हेर्दा मनसुनको अवधि लम्बिएको छ ।
गत वर्ष अक्टुबर ५ बाट नेपालमा मनसुन अवधि सकिएको थियो भने सन् २०१३ मा त अक्टुबर १९ मा मात्र मनसुन अन्त्य भएको थियो । यस वर्ष पनि मनसुन लम्बिने अनुमान मौसमविदको छ ।