बसपार्क सञ्चालनको डेटलाइन असोज १५


बसपार्क सञ्चालनको डेटलाइन असोज १५

नेपालगन्ज : बाँकेको नेपालगन्ज बसपार्क यही असोज १५ गतेबाट विधिवत् रूपमा सञ्चालनमा आउने भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमसेर राणाको अध्यक्षतमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।
उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित प्रहरी प्रमुख, यातायात व्यवसायी प्रालिका अध्यक्ष सहितको आईतबार बसेको बैठकले बसपार्क उद्घाटनको मिति तय गरेको हो ।

अत्याधुनिक सुविधा सम्पन्न उक्त बसपार्क सन्चालनको काम सकिए पनि सञ्चालन हुन सकेको थिएन । लामो प्रतिक्षा पछि बल्ल बसपार्क सञ्चालनको टुगो लागेको हो ।

आइतबारको बैठकले असोज १२ गतेदेखि सम्पूर्ण बस अनिवार्य रूपमा बसपाकभित्र लैजानुपर्ने र त्यहीबाट सन्चालन हुनुपर्ने निर्णय गरिएको छ । उक्त निर्णय नगर बसका हकमा भने लागु हुने छैन । बैठकले बसपार्कमा सिसिटिभी, सुरक्षा बन्दोबस्त लगायतका काम सक्ने निर्णय समेत गरेको छ ।

नेपालगन्जमा अत्याधुनिक बसपार्क निर्माणमा निर्माण कम्पनीको चरम लापरवाही र उपमहानगरपालिकाको उदासिनताले निर्माण कार्यमा ढिलाई भएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अगाडि बढाएको थियो ।

१५ महिनाभित्र निर्माण सक्ने गरी युनाइटेड बिल्डर्सले चार वर्षअघि अप्रिल महिनामा जिम्मा लिएको थियो । अब्यवस्थित रुपमा संचालित बसपार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउन १५ महिनाभित्र निर्माण सक्ने सम्झौता भएको थियो ।

तर, सम्झौताअनुरुप निर्माण सम्पन्न नहुँदा पटक पटक पुन म्याद थप गरिएको थियो । ठेकेदार कम्पनीको लापरवाहीका कारण नेपालगन्जको यातायात व्यवस्थापनमा समेत समस्या देखिएको थियो ।

निर्माण ढिलाइ भएपछि यातायात साधन पार्किङ गर्न, टिकट काउण्टर व्यवस्थापन गर्न र यात्रुलाई गाडी चढ्न तथा टिकट काट्न समस्या भएको थियो । निर्माण कम्पनीले १४ करोड ९४ लाखमा ठेक्का सम्झौता गरेको थियो । साढे चार बिघा क्षेत्रफलमा फैलिएको बसपार्कलाई आधारभूत सुविधायुक्त बनाउन निर्माण कार्य थालिएको थियो ।

बसपार्कभित्र टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र निर्माण गरिएको उपमहनागरपालिका बताउँछ । उक्त बसपार्कबाट देशभर दैनिक करिब पाँच सय साना ठूला बसहरू बाहिरिने र भित्रिने गरेको यातायात व्यवसायी राजेन्द्र गिरी बताउँछन् ।

अत्याधुनिक टर्मिनल भवनसहितको बसपार्क बनाउने योजना ठेकेदारको लापरवाहीका कारणसुस्त भएको बसपार्क निर्माणका लागि प्राविधिक रेखदेख तथा अनुगमन जिम्मा पाएको सेरा कन्सल्टेन्ट प्रालिका इन्जिनियर धर्मराज भट्टराई बताउँछन् ।

उनले भने, ‘पहिलो कुरा त ठेकेदारकै लापरवाही हो ।’ उनका अनुसार ठेक्का सम्झौताका क्रममा उपमहानगर र ठेकेदारबीच साइट क्लियर र पुराना संरचना भत्काउने विषय उल्लेख नहुँदा काम गर्ने क्रममा त्यसको जिम्मा कसले लिने भन्ने अन्यौलता भएको थियो । यसैले निर्माणमा ढिलाई भयो ।