हैरानीमा अख्तियारः स्टिङ अप्रेशन नक्कली घटना

जर्बरजस्ती घुस दिंदाको रकम अझै गायब


हैरानीमा अख्तियारः स्टिङ अप्रेशन नक्कली घटना

नेपालगन्ज : भ्रष्टाचार निवारण गर्दै निर्मूल गर्ने जिम्मेवारी लिएको संवैधानिक निकाय मानिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेशनका नाममा आफ्नो अस्तित्व जोगाउन खोजिरहेको छ । स्टिङ अपरेसन भनेको नक्कली घट्ना हो जहाँ यसका रचयिताले आफूले जबरजस्ती घूस दिन्छन र लिनेलाई समाउँछन् ।

अर्थात अख्तियारको मान्छेले आफूले पैसा दिन्छ र आफै सेवाग्राही बनेर वा सेवा लिन आएका कुनै सेवाग्राहीलाई कर गरेर सेवाप्रदायक निकायका कर्मचारीलाई सो रकम लिन लगाउँछ । नजिकै गएका अख्तियारका अरू कर्मचारीले रकम लिएपछि समात्छन् । यसो हेर्दा एक हजारको घुस खानेलाई पनि समातेर अख्तियारले ठूलै काम गरेको भान पर्छ । तर, यथार्थ त्यस्तो छैन् ।

नेपालको सार्वजनिक खरिदको ईतिहासमा प्रचलित नियम कानूनको बलात्कार गर्दै ६ अर्ब ५९ करोडभन्दा बढी भ्रष्टाचार गरिएको वाइडबडी काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी समेत मुछिन पुगेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी र अनुसन्धान अधिकृत तथा प्रशासकीय प्रमुख अर्थात सचिव पनि मान्छे भएको र उनीहरु ठूलाबडाको प्रभाव, दवाव, आश र त्रासमा मात्र हैन माफियाहरुको प्रभावमा पनि परेको पुष्टि राजनारायण र सोलु प्रकरणले स्पष्ट गरिसकेको छ ।

अख्तियारको पैसा लिएर भागेका नेपालगन्जका कृष्णकुमार पाठक पुत्र विपिन पाठक अझै फेला पर्न सकेका छैनन् । विपिन फेला नपर्दा अख्तियारलाई टाउको दुखाई भइरहेकोछ । यी त प्रतिनिधी घटना मात्र हुन् ।

अख्तियारकै थुप्रै कर्मचारी आर्थिक अनियमितता मात्रै होइन जर्बरजस्ती करणी घटनामा समेत पक्राउ परेका छन् । अख्तियारले उपलब्ध गराएको घुस रकम आरोपित कृष्ण कुमारका छोरा विपिनले वैशाख २१ गते लिएर भागेका थिए । घुस रकम लिएर फरार रहेका पाठक पुत्रको खोजीमा अख्तियार उदासिन रहेको छ ।

अख्तियारले नै घुस रकम दिएर कृष्णकुमार पाठकलाई रंगेहात पक्रने स्टिङ अपरेशन गरेको थियो । आफैले पैसा दिएर पक्राउ गर्न खोज्नु अख्तियारको पहिलो कमजोरी देखिएको छ ।

कानूनको उल्लंघन र आर्थिक अनियमतिता भएको अख्तियारकै फोटोकपी रकम गायब प्रकरणमा अख्तियार अनुसन्धान अधिकृत, प्रशासक र आयुक्तहरु मौन बसे भने अख्तियार भन्ने संस्थाकै हत्याको आरोप लाग्नेछ ।

आफूमा निहित अधिकारी जथाभावी प्रयोग गरेपछि संविधान निर्माताहरुले यसलाई पहिले दिएको अनुचित कार्यको अधिकार खोसेका थिए । अझै सो अधिकार चाहिने दावी गर्नेहरुले भैरहेको अधिकार कसरी सदुपयोग वा दुरुपयोग गर्दछन् यो प्रकरणले उजागर गर्नेछ ।

भ्रष्टाचारको रोकथाममा सक्रियता देखाउँने अख्तियारकै लापरवाही र कमजोरकिा कारण उक्त रकम गायब भएको हो । उक्त रकम ६ महिनासम्म पनि फेला नपर्दा नेपालगन्जस्थित अख्तियारलाई हैरानी भएकोछ । आम नागरिकमा अख्तियारकै नियमत माथी शंका उब्जिएकोछ ।

घुस लेनदेन भईसकेपछि पाठकका छोरा विपिन अख्तियारले सेवाग्राहीमार्फत बुझाएको तीन लाख घुस रकम लिएर फरार भएका थिए । घुस रकम लिएर फरार भएको भनिएका विपिन फेला नपर्दासम्म यो विषयको सहज निप्टारा लाग्ने देखिँदैन ।

मुद्दा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीबाट लिएको अख्तियारकै तीन लाख घुस रकम गायब भएको हो । आफ्नो कार्यकुसलता र क्षमतामाथि उठेको प्रश्नलाई ढाकछोप गर्दै फरार भनिएका पाठकको खोजविन भइरहेको र फेला परेलगत्तै आफ्नो नियन्त्रणमा लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्र्पक कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरे बताउँछन् ।

मुद्दा अदालतमा पुगीसकेकोले अख्तियारले यसमा केही गर्न नमिल्ने भन्दै गैरे लगायतका अख्तियार कर्मचारी गायब भएको रकम खोज्ने जिम्मेवारीबाट पन्छिदै छन् ।

गैरेका अनुासर फरार रहेका विपीनको खोजी र मुद्दाका विषयमा के भइरहेको छ त्यस विषयमा फ्लोअप भने अख्तियारले गरिरहेकोछ । बैशाख २१ गते साँझ नेपालगन्ज चारबाहिनीस्थित श्री लयर्स च्याम्बरमा घुसको लेनदेन भइरहेको सूचना र उजुरी पाएलगत्तै स्टिङ अपरेशन गरेको थियो ।

आयोगकको स्टिङ अपरेशनले उच्च अदालत तुलसीपुर नेपालगन्ज ईजलासका टाइपिष्ट सुब्बा कृष्णकुमार पाठकलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

अख्तियारले जारी गरेको विज्ञप्तीमा पाठकलाई तीन लाख घुससहित रंगेहात समातेको उल्लेख भनिएपनि तीन लाख रुपैयाँ पाठकबाट बरामद नभएपछि यसको रहस्य बाहिरिएको थियो । खबर बाहिर आएसगैं अख्तियारलाई टाउको दुखाई हुनुका साथै उसमाथिको चौतर्फी शंका उब्जएकोछ ।

यसरी गायब भयो घुस रकम

बैशाख २१ गते शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने कर्मचारीविरुद्ध ‘स्टिङ अपरेशन’ गर्दै भ्रष्टाचार मुद्दा चलायो ।

घुस माग्ने कर्मचारीलाई मुद्दा चलाउन उसले सेवाग्राहीलाई घुस रकम उपलब्ध गराउने गर्छ । जुन रकम सेवाग्राहीले कर्मचारीलाई बुझाउँछन् ।
ति नोटहरुको फोटोकपी यसअघि नै अख्तियारले राखेको हुन्छ । यसप्रकार घुस माग्ने कर्मचारीलाई उजुरीकर्ताको सहयोगमा रकम दिएर गरिने कारबाही नै ‘स्टिङ अपरेशन’ हो ।

उच्च अदालतका कर्मचारी पाठकलाई पक्राउ गर्न पनि यही विधि अपनाएको थियो अख्तियारले । तर, अख्तियार त्यो पटक भने चुक्यो । सेवाग्राहीलाई उपलब्ध गराएको घुस रकम नै गायब भएको छ । अर्थात पक्राउ परेका अभियुक्तबाट रकम फेला परेको थिएन् ।

घुस रकम लिएर सेवाग्राही घटना स्थलतिर लागे, उनीसंगसगैं अख्तियार टोली रंगेहात समात्ने भनेर पछिपछि लाग्यो । तर, अख्तियारको टोलीले पाठकलाई आफ्नो नियन्त्रणमा लियो ।

घुस रकम भने लिन पाएन । घुस रकम नभेटिदा पाठक कसरी दोषी भए ? अहिले अख्तियारमाथि यो प्रश्न तेर्सिएको छ । तर, यो प्रश्नको जवाफ अख्तियार नेपालगन्ज प्रमुख गणेश गैर र अख्तियारसँग छैन् ।