आर्थिक विकास परियोजना कार्यान्वयनमा


आर्थिक विकास परियोजना कार्यान्वयनमा

नेपालगन्ज : स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजनाको कार्यान्वयनका लागि सरोकारवालहरुबीच सोमबार नेपालगन्जमा अन्तरक्रिया गरिएको छ ।

जर्मन विकास नियोग जिआईजेडले नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालन गर्न लागेको कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको हो ।

कार्यक्रम सन् २०१९ को जुन १ देखि सुरु भई २०२२ को मे १ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणाले उपमहानगरपालिकाले उद्योग ब्यापार, शिक्षा, स्वास्थ्य र पर्यटन गरि चारक्षेत्रमा विशेष प्राथमिकता दिएको भन्दै नयाँ कार्यक्रमले गाउँ र शहरलाई जोड्ने बताए ।

प्रदेशसभा सदस्य तथा नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले सरकार र जनताको आवश्यकता अनुसार दातृ निकायका कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिए । उनले विकासको काममा विरोध भन्दा पनि सामुहिक सहयोग आवश्यक पर्ने बताए ।

जिआईजेडका प्रमुख प्राविधिक सल्लाहकार भोल्केव स्टाइजरवडले यो कार्यक्रमले नेपालगन्ज उपमहानगरपालिकाले लाभ लिन सक्ने बताए । उपमहानगरपालिकाले कार्यक्रम सञ्चालनका लागि प्राथमिकता तोकेपछि जिआईजेडले कार्यक्रम र बजेटबाट निर्णय गर्नेछ ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, जिआईजेडका रोशन श्रेष्ठ, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदी, होटल ब्यवसायी संघ नेपालगन्जका अध्यक्ष भिमलाल कँडेल, शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा, सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी लगायतको सहभागीता थियो ।