काठमाडौं: दशैंमा भारतबाट घर फर्किने नेपालीलाई भारतीय नोटका कारणका दुःख नदिन सरकारलाई निर्देशन दिइएको छ ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।
भारतबाट दशैं मान्न घर फर्किने नेपालीले नेपालमा नचल्ने भारतीय नोट ल्याए पनि कारबाही नगर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।
हाल नेपालमा भारतको एक सय रुपैयाँमात्र प्रचलन गर्न पाइन्छ । पाँच सय, एक हजार र दुई हजार दरका भारतीय नोटको कारोबार गर्न पाइदैन । तर, भारतमा रोजगारी गर्नेले घर फर्किँदा यस्तो रकम बोक्न सक्ने गृहसचिव प्रेमकुमार राईले समिति बैठकमा बताए । उनका अनुसार नेपालमा नचल्ने भारतीय नोट किन ल्याएको भन्दै बोर्डरमा प्रहरीले दुःख दिन सक्छ । नेपालमा नचल्ने भारतीय नोट ल्याएको भन्दै दुःख नदिन यस्तो निर्देशन दिइएको हो ।
समिति सभापति शशी श्रेष्ठले गृह मन्त्रालयलाई अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँगसमन्वय गरी यो समस्या सुल्झाउन निर्देशन दिएको बताइन् ।
छलफलमा सांसदहरुले नेपाल प्रवेश गर्नुअघि भारतीय नोट उतै (बोर्डर) साट्ने ब्यवस्था मिलाउन सकिन्छ कि भन्ने प्रस्ताव समेत गरेका थिए । त्यसो गर्दा चोरी र डकैतीको सम्भावना रहेकाले नेपालीले झन् दुःख पाउने केही सांसदहरुले नै बताए ।
जवाफमा गृहमन्त्री रामबहादुर थापाले अर्थमन्त्रालयसँग कुरा गरेर नेपालमा नचल्ने भारतीय नोट लिएर आउनेहरुलाई पर्न सक्ने समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएकाछन् ।
उनले भने, ‘भारतीय ठूला नोटहरु नेपालमा नचल्ने विषयले समस्या आउने देखिन्छ । यसका विषयमा अर्थमन्त्रालयसँग छलफल गरेर यो समस्या सकेसम्म छिटो समाधान गर्ने तिर जोड दिन्छौं ।’
यस्तै राज्य समितिले दशैं तिहार, छठ लगायतका पर्वमा सीमानाकामा हुन सक्ने आपराधिक क्रियाकलाप (चोरी/डकैती, लुटपाट) रोक्नका लागि पूर्व तयारी गरी शान्ति सुव्यवस्था कायम गर्न पनि गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
दशैंका बेला चाडपर्व मनाउन काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा मानिसहरु बाहिरिन्छन् । त्यही मौकमा चोरीका घटनाहरु हुन सक्ने भन्दै समितिले उपत्यकामा हुन सक्ने चोरी नियन्त्रण विषेश सुरक्षा ब्यवस्था कायम गर्न गृहलाई भनेको छ ।
चाडबाडका बेला मनपरी सवारी भाडा लिने कार्यलाई समेत रोक्न समितिले निर्देशन दिएकोछ । लामो दुरीका सवारी साधनलाई व्यवस्थित गर्न, सवारी भाडादरलाई सरकारी मापदण्ड अनुरुप लिने ब्यवस्था गर्ने गरी ब्यवस्था मिलाउन समेत समितिले भनेको छ ।
यसैगरी समितिले चाडबाडमा अत्याधिक उपयोग हुने दैनिक उपभोग्य सामग्रीहरुको पर्याप्त आपुर्ति गर्न र कालो बजारी नियन्त्रण गरी आम नागरिकलाई सहज र सुरक्षित रुपमा चाडपर्व मनाउने वातावरण तयार गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको बैठकमा गृहमन्त्री थापाले सवारी दुर्घटनारहित बनाउने गरी सरकारले सूरक्षा योजना बनाइएको जानकारी दिएका थिए । गृहसचिव राईले लामो दुरीका सवारीसाधनलाई अनिवार्य रुपमा दुई वटा ड्राइभर राख्न र बढी भाडा नलिन भनिएको उल्लेख गर्दै त्यसो गरे तुरुन्त कारबाही हुने बताएका थिए ।