बर्दिया स्थित सतखलुवा ताल । तस्विरः विजय मल्ल/ सेतोखरी
नेपालगन्ज : माछापालनको उर्वर भूमि मानिएको बाँके र बर्दियाका स्थानीय तहले प्राकृतिक जलाशयलाई माँस्ने अभियान शुरु गरेका छन् ।
प्राकृतिक जलाशयलाई मासेर ती ठाउँमा पर्यटकीयस्थल बनाउन स्थानीय तह लागि परेका छन् ।
यसरी जलाशय मासिदै गएपछि यस बर्ष यी जिल्लामा माछाको उत्पादन २५ प्रतिशत घट्ने पशु ज्ञान केन्द्र बाँकेको अनुमान छ । यहाँ उत्पादन भएको माछा स्थानीय बजारमा मात्र नभई जिल्ला बाहिर समेत खपत हुँदै आएको ज्ञान केन्द्रका बरिष्ठ मत्स्य विकास अधिकृत बसिर अहमद खाँ बताउँछन् ।
सरकार र कृषको मेहेनत पछि माछाको उत्पादन बढ्न थालेका बेला स्थानीय तहले पकेटक्षेत्रकै जलाशयमा माछा उत्पादन बन्द गरी पर्यटकीयस्थल बनाउन शुरु गर्दा माछा पालन व्यवसायीहरु समस्यामा परेका छन् ।
मिसन फिस कार्यक्रम मार्फत साविकको कृषि विकास कार्यालय मार्फत माछाको उत्पादन बढाउन बिभिन्न कार्यक्रम गरिएको उनी बताउँछन् ।
बाँकेमा कुल तीन सय ४० हेक्टरमा माछापालन व्यवसाय भइरहेको एक तथ्याकंले देखाएको छ । जसमा वार्षिक ११ सय ९६ मेटिूकटन माछा उत्पादन हुने गरेको उक्त तथ्याकं बताउँछ ।
करिब १६ हेक्टरको पुरैना–पुरैनी (कान्ति) ताल र ६ हेक्टरको वाटरपार्कमा माछा उत्पादन हुँदै आएकोमा यी दुबै ताललाई नेपालगन्ज उपमहानगरपालिकाले पर्यटकीय क्षेत्र बनाउँन थालेको छ ।
प्रदेश सरकारको सहयोग समेत रहेको पुरैना–पुरैनी ताललाई पर्यटकीयस्थल बनाउन काम भइसकेको नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेल बताउँछन् ।
प्राकृतिक जलाशयमा पर्यटकिय क्षेत्र निर्माणको काम थालनी भएको छ सूचना अधिकारी पौडेलले भने ‘यसैले चालु आर्थिक वर्षमा हामीले माछापालनको ठेक्का दिएका छैनौ ।
उनका अनुसार यसअघि ठेकेदार मार्फत ती प्राकृतिक जलाशयमा माछापालन हुँदै आएको थियो । बाँकेस्थित कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार बढैयताल प्राकृतिक जलाशयमा यस वर्षदेखि माछा उत्पादन बन्द गरिएको छ । बढैयाताल गाउँपालिकाले त्यहाँ पर्यटकीयस्थल निर्माणको काम शुरु गरेको उनी बताउँछन् ।
करिब ८४ हेक्टरको बढैयाताल र ४० हेक्टरको सत्खोलवातालमा माछा उत्पादन हुँदै आएको थियो । बर्दियामा गत वर्ष १५ सय मेट्रिक टन माछा उत्पादन भएको थियो ।
बढैयाताल गाउँपालिकाका सूचना अधिकारी कमल खड्काले पर्यटकीयस्थलका रूपमा बढैयाताललाई बिस्तार गर्न लागिएको बताए ।
माछाका लागि प्राकृतिक जलाशय सबैभन्दा उत्तम भएकाले बाँके र बर्दियालाई पकेट क्षेत्र मानिएको हो ।