नेपालगन्ज : संसदीय टोलीले शुक्रबार ताल्चा विमानस्थलमा बिरामी परेका दुईजनाको उद्दार गरेको छ ।
ताल्चादेखि नेपालगन्ज उपचार गर्न आउने क्रममा तारा एयरलाइन्समा सिट नपाएका ५ वर्षे प्रिन्स बोहरा र १८ वर्षे हस्तबहादुर सैजुवाललाई संसदीय टोलीले मानवीयताका आधारमा उद्दार गरेका हुन् ।
संसदीय टोली मध्ये एकजना सदस्य निस्किएर बिरामीलाई स्थान दिएको कालीकोट सांसद जीवन बुढाले बताए । उनका अनुसार छायाँनाथ नगरपालिका–१३ का बोहरा ऐपेन्डीसाइटिसले छटपटिएका थिए । त्यस्तै, १८ वर्षका हस्तबहादुर पनि गम्भीर बिरामी थिए ।
सांसद बुढाका अनुसार हस्तबहादुर भने एक समुह कुटपीटमा परेर घाइते थिए । एकजना नानीलाई रेप गर्न लागेको देखेर त्यसको प्रतिकार गर्न खोज्दा हस्तबहादुर कुटिएका थिए ।
संसदीय टोलीका फोटोग्राफर सालीग्राम तिवारीलाई त्यही छाडेर बिरामीलाई नेपालगन्ज ल्याइएको हो ।
बिरामीका छिमेकी सुर्यबहादुर सावतले समयमै अस्पताल आउन नपाएको भए उनीहरुको ज्यानै जाने खतरा रहेको बताए । शुक्रबारदेखि दुवै जनाको नेपालगन्जमा उपचार भइरहेको छ ।
राष्ट्रिय सम्पदा र पिछडिएको क्षेत्रको सम्पत्तिकको संस्थगत अध्ययनका लागि ६ गते देखि जुम्ला, सिन्जा हुँदै मुगु पुगेको संसदीय टोलीले बिरामी उद्दार गरेको हो ।
उक्त टोलीमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायतकाहरुको सहभागीता थियो ।