‘गाई मर्दा बोल्ने मन्त्री राई, गाई काट्दा किन मौन रहे’


‘गाई मर्दा बोल्ने मन्त्री राई, गाई काट्दा किन मौन रहे’

नेपालगन्ज: सुर्खेतको कट्कुवामा ३५ गाई मरेको घटनाप्रति प्रतिक्रिया जनाएका शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईको यतिवेला चर्को आलोचना भइरहेकोछ ।

केही दिन अघि बाँकेको खजुरा गाँउपालिका वडा नम्बर ७, बठुवामा गाई काटेर खाएको घटना सार्वजनिक भएसंगै मन्त्री राईको चर्को आलोचना भएको हो ।

बाँकेको खजुरागाउँपालिका वडा नम्बर ७ बठुवामा गाई काटेको विषयलाई लिएर नेपालगन्जका विभिन्न हिन्दु सनातनी संगठन तथा समूहले यस्तो बताएका हुन् ।

सुर्खेतको कट्कुवामा मरेका गाईगोरुको विषयमा दुख लाग्यो भन्दै अभिव्यक्ति दिएका ईस्तियाक राईले बाँकेको खजुरा गाँउपालिकामा गाई काटेरै खाएको विषयप्रति आफ्नो धारणा सार्वजनिक गर्न नसक्नु मन्त्री राईको नियत ठिक नभएको जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापन पत्र बुझाउन पुगेका यूवाहरुले बताएकाछन् ।

उनीहरुले गाई काटेको घटनामा संलग्न ब्यक्तिहरुको पहिचान गरि हदैसम्मको कानूनी कारबाहीको माग समेत गरेकाछन् ।

खजुराको घटनाले राष्ट्रिय जनावर गाईको हत्या गरि हिन्दुहरुमाथिको धार्मिक भावनाथि प्रहार गरिएको उनीहरुले बताएका छन् । यस्तो कार्य नरोकिए आफुहरु चुप लागेर नबस्ने समेत उनीहरुले चेतावनी दिएका छन् ।

बाँकेका हिन्दु सनातनीहरुको विभिन्न समुहले ४ बुदेँ माग राख्दै जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रालय, प्रदेश ५ का मुख्यमन्त्री कार्यालय, प्रदेश नम्बर ५, गृहमन्त्रालयामा ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय बाँकेलाई समेत ज्ञापन पत्र बुझाएकाछन् ।

बाँकेमा रहेको हिन्दु सनातनीहरुको छाता संगठन नेपाल आर्य समाज, नेपाल शिव सेना, विश्व बैदिक सनातन धर्म सं¬स्था, हिन्दु स्वयमसेवक संघ र पतञ्जली योग पिठ बाँकेले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउदै नेपाल शिव सेनाका किशोर लामाले भने–‘सुर्खेतको कट्कुवामा गाई मरेको विषयमा दुख ब्यक्त गर्दै दोषीलाई पहिचान गरि कारबाही गर्न शनिबारको दिनमा पनि सिफारिस गर्ने शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राई बाँकेमै गाई काटी भाग लगाएर खाएको विषय सार्वजनिक हुदाँ सम्म मौन हुनुमा उनको नियत ठिक छैन ।’

यसरी पटक–पटक गाई र हिन्दुधर्मावलम्बिहरुमाथि गरिने प्रहारलाई हामी चुप लागेर नबस्ने यसका लागि सशक्त आन्दोलन समेत गर्ने लामाले चेतावनी समेत दिए । उनले–‘यहाँको सद्भाव र शान्ति सुरक्षामा कसैले पनि खेलवाड गर्न पाउदैन । कानूनले त्यस्ता ब्यक्तिलाई पहिचान गरि कारबाही गरोस होइन भने हामी सडकमा उत्रिन्छौं ।’

संविधानले गाईलाई नेपालको राष्ट्रिय जनावर मानेकोछ । गाई हिन्दुहरुको पुजनिय जनावर हो । खुलेयाम गाई काटी भाग लगाएर खाइरहेको अवस्थामा पनि जिल्लाका प्रहरी कार्यालय तथा प्रशासनले चाल नपाउनु, थाहा पाएर पनि केही नगर्नु र दोषीलाई कानूनी कारबाहीमा ल्याउन नसक्नु दुखको कुरा भएको विश्व वैदिक सनातन धर्म संस्थाका दिपक लोधले बताए ।

उनले भने–सुर्खेतमा भएको घटनामा चासो दिनु र आफ्नै जिल्लामा गाई काटी भाग लगाएर खाँदासम्म मौन बस्नु मन्त्री राईको ठूलो कमजोरी हो वा जाना जान उनी अनजान बनेका हुन् यस विषयमा उनले जवाफ दिनुपर्छ ।

नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेदेखि हिन्दुहरुको आस्थामाथि पटक–पटक आक्रमण हुदै आएको कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको हिन्दु स्वयमसेवक संघका राजकृष्ण कडेँलले बताए ।

उनले भने –‘हिन्दुहरुको महान पर्व बडादशैंको मुखमै असोज ९ गते खजुरा गाँउपालिका वडा नम्बर–७, बठुवा गाँउमा विदेशी धर्मका अनुयाइहरुले समाजमा धार्मिक द्वन्द्व निम्त्याउन हिन्दु सनातनीले पुज्दै आएको तथा नेपालको राष्ट्रिय जनावर गाई काटि खानुको घट्नाले संवेदनशीलताको विन्दु पार गरेको प्रष्ट पारे ।

गाई काट्नु, मार्नु, चोट पु¥याउनु लगायतका विषयमा नेपालको संविधान र कानूनले बर्जित गरेकोछ । यति हुदाँहुदै पनि पटक–पटक बाँकेमा गाई काटेर खाएको घटना बाहिर आउँछ । यसले नेपालको कानूनको धजिया उडानुका साथै प्रहरी असक्षमताको पराकाष्ट पारेको पतञ्जली योगपिठ बाँकेका मंगल जिएमले बताए ।

गाई काट्ने घटनामा संलग्न जो सुकै ब्यक्ति भएपनि पहिचान गरि कानूनी कारबाहीमा ल्याउनुपर्ने उनले जोड दिए । गाई र हिन्दु आस्थामाथि गरिने प्रहार सहेर नबस्ने उनले बताए ।

देशको राष्ट्रिय जनावरमाथि नै धावा बोलिन्छ भने राष्ट्रियता कसरी बच्छ । नेपाली हो भने नेपालको कानून र संविधानले व्यवस्था गरेको परिधी भित्र बस्नु प¥यो होइन भने हिन्दु समाज चुप लागेर नबस्ने नेपाल आर्य समाजका राजुमान आर्यले बताए । उनले भने– जिल्लाको शान्ति सुरक्षा र सद्भाव विगार्न उछृङ्खल र अराजक तत्वको पछिल्लो समय ज्यादती बढ्दै गएको छ ।’

हिन्दु आश्थामाथि गरिने आक्रमणलाई धेरै दिन सहेर नबस्ने र यसको ठूलो मूल्य चुकाउन समेत आफूहरु तयार रहेको आर्य समाजका राजुमानले बताए ।

हिन्दु सनातनीहरुले गाई काटेको घटनाको विरोध जनाउदै बाँकेका प्रमुख जिल्ला अधिकार लाई ४ बुदेँ मागसहितको ज्ञापन पत्र बुझाएका छन् ।
उनीहरुले कुनैपनि बहानामा अपराधीहरुलाई बचाउने काम नहोस्, अपराधको छानबिन चुस्त र भरपर्दो होस्, अबिलम्ब फरार अपराधीहरुलाई कानूनी दायरामा ल्याइयोस् र गाई काट्ने अपराधीहरुलाई कडा सजाय दिनुपर्ने माग सहितको ज्ञापन पत्र बुझाएकाछन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले ज्ञापनपत्र बुझ्दै गाई काटि खाएको घटना प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । उनले दोषीको पहिचान गरि कानूनी कारबाहीमा कुनै कसर बाँकी नराख्ने बताउँदै जिल्लाको शान्ति सुरक्षा र सद्भाव कायम राख्न सवैलाई आग्रह समेत गरे ।

नेपालगन्जका अधिकांश होटलहरूले खसी र रागाँको मासुमा गाईको मासु मिसावट गरि बिक्री गर्ने गरेका छन् । मःम पसलमा पनि खसी, राँगाको मःममा गाईको मासु मिसाएर मःम बिक्री गर्ने गरेको भेटिएको प्रहरी नै बताउँछ ।

प्रहरीका अनुसार करिब दुई वर्षअघि नेपालगन्जका विभिन्न होटलमा गाईको मासु भेटिएको थियो । अहिले पनि यहाँका होटलमा खसी, रागाँसँगै गाईको मासु पनि बिक्रि हुँदै आएको खुलेको छ ।