File Photo
नेपालगन्ज : आज घटस्थापना । दशैको पहिलो दिन । नेपालीको घरघरमा जमरा राखेर मनाइएको छ ।
विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आईतबारको दिनलाई घटस्थापना भनिएको हो ।
प्रत्येक वर्ष आश्विन शुल्क प्रतिपदादेखि सुरु हुने नेपालीको चाड दशैं घरघरमा जमरा भित्राएसँगै सुरु हुने गर्दछ ।
आईतबार स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिनेछ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुने मान्यतासंगै आईतबार बिहानैबाट नुहाएर घरहसफा गरेर गाईको गोबरले लिपपोत गरि शुद्ध बनाएर सजाउने गरिन्छ । यो प्रक्रिया पश्चात नवरात्री शुरु भएको मानिन्छ ।
घटस्थापनाको दिन बिशेष बिधि संगै जौ, गहु र मकैलाइ माटोमा छरिन्छ र टिकाको साईतमा फूलको रूपमा प्रयोग गरिन्छ । घटस्थापनाको उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन मान्यता रहेको छ ।
यसबीच आईतबार घटस्थापनाको दिन नेपालगन्जको बागेश्वरी मन्दिरमा भक्तजनको बाक्लो भीड लागेको थियो । बागेश्वरीसहतिका शक्तिपीठमा पूजापाठका लागि बिहानैदेखि दर्शनार्थीको भीड लागेको थियो ।
भक्तजन पूजापाठ गर्न बिहानैदेखि लाइनमा लागेका थिए । भारतबाट समेत बागेश्वरीमा दर्शनार्थी आएका छन् । घटस्थापनाका दिन गहुँ, जौको जमरा राखी माता भगवतीलाई अपर्ण गरी प्रसादका रुपमा लगाइन्छ । गहुँ तथा जौको नवअङ्कुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने पौराणिक मान्यता रहेको छ । जमराको रस खाए विभिन्न रोग निको हुने मान्यता छ ।