बसपार्कमा यात्रु सहायता कक्ष


बसपार्कमा यात्रु सहायता कक्ष

नेपालगन्ज : नेपालीहरूको महानचाड बडादशैं, तिहार तथा छठ लगायत पर्वलाई लक्षित गरेर नेपालगन्ज बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ट्राफिक व्यवस्थापन विशेष योजना अन्तगर्त यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

नेपालगन्ज बसपार्कमा यात्रु सहायता कक्ष स्थापनाका लागि आयोजित कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलसम्शेर राणाले यात्रु सहायता कक्षलाई स्थायीरुपमै सञ्चालनका लागि उपमहानगरपालिकाको सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने, ‘पश्चिम नेपाकै ठूलो बसपार्कमा स्थायीरुपमै सहायता कक्ष आवश्यक छ, यसका लागि उपमहानगरले आवश्यक सहयोग गर्नेछ ।’

बाँकेका प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्काले चाडपर्वमा हुने ठगी र लुटपाटजस्ता घटनाहरुलाई रोक्न प्रहरीलाई संवेदनशील हुन आग्रह गर्दै नागरिक–प्रहरी सहकार्य आवश्यक रहेको बताए । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले यात्रुलाई सुरक्षितरुपमा गन्तव्यमा पु¥याउन प्रहरी, नागरिक र यातायात व्यवसायीको समन्वयमा हुनुपर्ने बताउँदै यातायात व्यवसायीलाई सुरक्षित यात्राका लागि सावधानी अपनाउन आग्रह गरेका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव डेकनाथ गौतमले यात्रुहरुको सुरक्षित याताका लागि यातायात व्यवसायीहरु पूर्ण प्रतिवद्ध रहेको बताए । उनले भने, ‘यात्रुलाई सुरक्षितरुपमा गन्तव्यमा पु¥याउनका लागि प्रतिवद्ध छौं, यसका लागि हामीलाई पनि प्रहरी र आम नागरिकको साथ चाहिन्छ । सबैको सहयोग र सहभागिताले यात्रालाई सुरक्षित बनाउन सकिन्छ ।’

कार्यक्रममा बाँकेका प्रहरी प्रमूख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले विशेषगरी चाडपर्वमा हुने अराधजन्य घटना हुन नदिन प्रहरी सक्रिय रूपमा लागिरहेको बताए । उनले भने, ‘चाडपर्वमा हुने चोरी, लुटपाट, ठगी जस्ता घटनाहरु हुन नदिन हामीले सादा पोसाकमा प्रहरी परिचालन गरेका छौं ।’

बाँकेमा पूर्व–पश्चिम महेन्द्र राजमार्ग र रत्न राजमार्गमा मापसे चेकिङमा कडाइ गरिने पनि प्रहरी उपरीक्षक ओलीले बताए । ‘चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रण र यात्रुहरुको सहजताका लागि यात्रु सहायता कक्ष सञ्चालन गर्न लागिएको हो,’ प्रहरी उपरीक्षक ओलीले भने, ‘भीडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी नियन्त्रण गर्न सहायता कक्ष सञ्चालन गर्न लागेका हौं ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी निरीक्षक पबिन्द्र बमले जिल्लाका विभिन्न नाका तथा बसपार्क क्षेत्रमा थप जनशक्ति परिचालन गरिएको बताएका छन् ।

सुविधा सम्पन्न नेपालगन्ज बसपार्क आइतबारदेखि सन्चालनमा आएको छ । यद्यपी बसपार्कको उद्घाटन असोज १८ गते औपचारिक रूपमा गर्ने तयारी भइरहेको नेपालगन्ज उपमहानगरपालिकाले बताएको छ । आईतबारदेखि सम्पूर्ण बसहरु बसपार्कमा स्ट्याण्डबाई राखिएका छन् । टिकट बसपार्कबाटै काट्न शुरु भएको छ ।