नेपालगन्ज : आज दशैको दोस्रोे दिन । माता ब्रह्माचारिणीको पूजा अर्चना गरि धुमधाम मनाइदैछ । ब्रह्मचारिणीको अर्थ हुन्छ जो असीम अनन्तमा विद्यमान वा गतिमान छ ।
ब्रह्मचर्यको शब्दले गतिमान हुनु र विद्यमानलाई जनाउने गर्दछ । अर्थात, तुच्छता वा निम्नतामा नरहनु नै ब्रह्मचर्य हो । ब्रह्मचारिणीलाई शाब्दिक रुपमा भन्दा यो सर्व व्यापक चेतान हो भन्न सकिन्छ । अर्कोतर्फ ब्रह्मको अर्थ तपस्या र चारिणीको अर्थ आचार गर्नु भन्ने हुन्छ ।
तसर्थ तपको आचरण गर्ने देवी नै ब्रह्मचारिणी हुन् । स्वरुपको आधारमाभन्दा दाहिने हातमा जपको माला एवं बायाँ हातमा कमण्डलु लिएकी देवी ब्रह्मचारिणी देवी हुन् ।
नवदूर्गाहरुमध्ये भक्तहरुलाई सिद्ध र अनन्त फल दिने देवी नै ब्रह्मचारिणी देवी हुन् । धार्मिक मान्यता अनुसार यी देवीको उपासनाबाट मनुष्यहरुमा तप, त्याग र वैराग्य, सदाचार, संयमको समेत बृद्धि हुने गर्दछ । यी देवीको ध्यान गर्नाले जीवनको कठिन परिस्थितिमा समेत मानिसहरुको मन कर्तव्यपथबाट विचलित हुनेछैन ।
हिजो आईतबार नेपालीको घरघरमा जमरा राखेर मनाइएको छ । विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आईतबारको दिनलाई घटस्थापना भनिएको हो ।
प्रत्येक वर्ष आश्विन शुल्क प्रतिपदादेखि सुरु हुने नेपालीको चाड दशैं घरघरमा जमरा भित्राएसँगै सुरु हुने गर्दछ । आईतबार स्थापना
गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिनेछ ।
घर शुद्ध भएपछि मात्र देवीको आगमन हुने मान्यतासंगै आईतबार बिहानैबाट नुहाएर घरहसफा गरेर गाईको गोबरले लिपपोत गरि शुद्ध बनाएर सजाउने गरिन्छ । यो प्रक्रिया पश्चात नवरात्री शुरु भएको मानिन्छ ।
घटस्थापनाको दिन बिशेष बिधि संगै जौ, गहु र मकैलाइ माटोमा छरिन्छ र टिकाको साईतमा फूलको रूपमा प्रयोग गरिन्छ ।
घटस्थापनाको उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन मान्यता रहेको छ ।
यसबीच सोमबार दशैंको दोस्रो दिन नेपालगन्जको बागेश्वरी मन्दिरमा भक्तजनको बाक्लो भीड लागेको छ । बागेश्वरीसहतिका शक्तिपीठमा पूजापाठका लागि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।
नेपालगन्जका विभिन्न स्थानमा भगवतीको मुर्ती राखेर पूजाअर्चन भइरहेकोछ । नेपालगन्ज पुरै दुलही सिंगारिएझै सिगारिएकोछ । दशैंको रौनकताले नेपालगन्जलाई छपक्क छोपेकोछ ।
नेपालगन्जका मुख्य बजार, सदरलाई, त्रिभुवनचोक, धम्बोझी चोक, घरबारीटोल, न्यूरोड, एकलैनी लगायतका स्थानमा मानिसहरुको चहलपलह बाक्लिएकोछ ।
अत्यावश्यक सामाग्री सहित विभिन्न सामान किनमेल गर्नेको यतिवेला नेपालगन्जमा देख्न सक्छौं । तर, नेपालगन्जको भन्दा बढी छिमेकी राष्ट्र भारतको रुपैडिहा बजारमा नेपालीहरुको भीड देख्न सकिन्छ । गत वर्ष नेपालगन्ज उद्योग बाणिज्य संघको पहलमा नेपालगन्ज स्थित बागेश्वरी मन्दिर प्राङ्गणमा सस्तो बजार राखिएको थियो । यस वर्ष भने उपभोक्ताका लागि संघले सो बजार लगाउन सकेन ।