होटलका पनि विचौलिया


होटलका पनि विचौलिया

नेपालगन्ज : दशैं नजिकिएसँगै शहरबाट गाउँ फर्किनेको जमुनाह नाकामा दैनिक भीड बढेको छ । बैदेशिक रोजगारीका लागि भारत गएका नेपालीहरू घर फर्किँदैछन् ।

खासगरी चाडपर्वकै बेला भारतबाट स्थलमार्ग हुँदै नेपाल भित्रिने नेपाली भारतको रूपैडिहा र नेपाली साीमानाकामा लुटिने र ठगिने समेत गरेका छन् । यतिबेला नेपाल–भारत सीमानाका जमुनाहामा नेपालगन्जका होटल व्यवसायीले आफनो अड्डा नै जमाएर विचौलियाको काम गर्दै आएको खुलेको छ ।

भारतबाट घर फर्केका तमाम नेपाली नेपालगन्जका होटल व्यवसायीहरूबाट पीडित बन्दै आएका छन् । यतिबेला दैनिक करिब पाँच सय नेपाली भारतबाट नेपाल फर्किने गरेका छन् । भारतबाट आउने नेपालीहरु विहान र साँझको समयमा हुल बाँधेर आउने गरेको जमुनाह प्रहरी यूनिटका प्रमुख सई माधव रिजाल बताउँछन् ।

यहाँका होटल व्यवसायीले जमुनाहा नाकामा विचौलिया खटाएका छन् । एकाविहानै होटलबाट खटाइएका विचौलिया जमुनाहामा पुग्ने र भारतबाट आएका नेपालीलाई तानातान गर्न थालेपछि हैरानी व्यहोर्नुपरेको छ । यसो गरी सम्बन्धीत होटलसम्म पु¥याए विचौलियाले कमिशन पाउने गरेका छन् ।

बैदेशिक रोजगारीमा भारत गई एक बर्षपछि घर (दैलेख) जान जमुनाह नाका आइपुगेका दैलेख भूर्तिगाउँका नवराज नेपालीले भने ‘कुन होटलमा गएर बस्ने भन्ने हामीलाई थाहा हुँदाहुँदै होटलवालाले तानेर सताउँछन् ।’

भारतबाट आउने नेपालीलाई दुख दिन थालेपछि प्रहरीले सीमानाका जमुनाहामा कडाई गर्न शुरू गरेको सई रिजाल बताउँछन् । उनकाअनुसार आजभोली विहानै ग्राहक खोज्दै जमुनाहा पुग्ने १०/१५ जना विचौलियालाई दैनिकजसो प्रहरीले लखेट्नुपरेको छ ।

उनले भने, ‘होटल सञ्चालकहरु सचेत नभए हामी कारबाही गर्छौ, अहिलेसम्म हामीले सम्झाईबुझाई गरेरै पठाएका छौं ।’ छेडागाड नगरपालिका–४ जाजरकोटका दलबहादुर पुनले कतिपय होटलवालाले बोकेका सामान नै समाएर तान्ने गरेको बताए । उनले भने, ‘रिक्सामा फर्किँदै गर्दा होटलवालाले हैरान पार्छन् ।’ यसलाई रोक्न प्रहरी प्रशासनले बेवास्ता गरेको उनको आरोप छ ।

जमुनाहामा पुग्नेबित्तिकै आफ्नो होटलसम्म ग्राहकलाई लैजान जबरजस्ती तानातान हुन्छ । भारतबाट फकिँदै गरेका हूम्लाका जगदिश रोकायले भने ‘होटल व्यवसायीले अभद्र व्यवहार समेत गर्दै आएका छन् । यात्रुहरुलाई तानातान गरेर अभद्र व्यवहार गरे मुमद्दा चलाउनेसम्मको कारबाही गरिने बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली बताउँछन् ।

व्यवसायीले जर्बरजस्ती विचौलिया मार्फत नागरिकलाई सताउँने गरेको गुनासो आएपछि नेपालगन्जका होटल व्यवसायीलाई त्यसो नगर्न आग्रह गरिएको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कँडेल बताउँछन् ।

बैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई मात्र होइन्न बसपार्क पुस्पलालचोक लगायतका स्थानमा भेटिने यात्रुलाई समेत अभद्र व्यवहार गर्ने होटल व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाई छ ।