नेपालगन्ज : कोहलपुर बसपार्कमा सोमबारदेखि यात्रु सहायता कक्ष स्थापना गरिएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुर र कोहलपुर सामुदायिक सेवा केन्द्रको समन्वयमा बसपार्क क्षेत्रभित्र यात्रु सहायता कक्षा स्थापना गरिएको हो ।
नगरपालिकाका प्रमुख लुटबहादुर रावत, ईलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख हेमबहादुर शाही, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारी, कोहलपुर सामुदायिक सेवा केन्द्रका अध्यक्ष नारायण गौडेल, यातायात ब्यवसायी समितिका प्रतिनिधि विश्वराज खनालले संयुक्त रूपमा सहायता कक्षको उद्घाटन गरेका छन ।
पश्चिम नेपालको मुख्य प्रवेशद्वारा कोहलपुर रहेको र यहाँबाट देशैभर यात्रा गर्ने यात्रुहरुके सहजताका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको कोहलपुर नगरपालिकाका मेयर रावतले बताए ।
नगरप्रमुख रावतले नगर विकासको लगानीमा निर्माण गरिएको बसपार्कलाई ब्यवस्थित रूपमा सञ्चालन गर्न यात्रायात ब्यवसायीलाई आग्रह गरेका छन् ।
कार्यक्रमका सहभागीहरुले सुरक्षित र भरपर्दो यात्राकालागि यात्रु सहायता कक्षले सहजता प्रदान गर्ने विश्वास ब्यक्त गरेका थिए । कार्यक्रममा बडा दशैं तथा शुभ दिपावलीको समेत शुभकामना आदानप्रदान गरिएको थियो ।
यसैबीच, नेपाल भारत सीमा जमुनाहमा यात्रु सहायता कक्ष सुरु गरिएकोछ । चाडपर्वका बेला सीमा नाकामा हुने विभिन्न अपराध तथा ठगी नियन्त्रण र पीडितलाई तत्काल सहयोग गर्न जमुनाहा नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
त्यस्ता आपराधिक घटनालाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका जमुनाहामा सावधानी अपनाइएको छ । यस्ता घटना नियन्त्रण गर्न जमुनाहा नाकामा प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन गरेको छ ।
‘चाडपर्व सुरु हुन थालेपछि नाकामा थामिनसक्नु यात्रु र सवारी साधनको भीड लाग्न थाल्छ,’ ईलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी नायव निरीक्षक माधव रिजालले भने, ‘सीमा क्षेत्रमा भीडभाडका बेला हुने विभिन्न ठगी र अपराधबाट सर्वसाधारणलाई सुरक्षित बनाउन कक्षको स्थापना गरिएको हो ।’