नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिकाले बैंकबाट दिँदै आएको सामाजिक सुरक्षा भत्ता अब घरघरमै गएर दिने भएको छ ।
सामाजिक सुरक्षा कार्यक्रमको स्थानीय स्तरको अनगुमन तथा सुपरीवेक्षण समितिले नगरपालिका भित्र सामाजिक सुरक्षा भत्ता घरघरमै उपलब्ध गराउन लागेको छ ।
कोहलपुर नगर भित्र रहेका जेष्ठ नागरिक, जेष्ठ नागरिक दलित, एकल महिला, विधवा, लोपोन्मुख आदिवासी÷जनजाती, पूर्ण अपाङ्गता, अति अशक्त अपाङ्गता, बालबालिका सुरक्षा र जेष्ठ नागरिक औषधी उपचार भत्ता छ हजार तीन सय ३६ जनालाई घरमै रकम पु¥याउन लागेको नगरपालिकाका कार्यकारी प्रमुख वीरेन्द्रदेव भारती बताउँछन् ।
अहिले कोहलपुर नगरपालिकाले एक चौमासिकमा पाँच करोड ५६ लाख ७४ हजार रुपैयाँ वितरण गरिरहेको उनी बताउँछन् । सामाजिक सुरक्षा भत्ता लिन बैंकमा लाईन लाग्नुपर्ने झन्झटिलो भएको, दिनभर लाईनमा बस्नुपर्ने तथा कतिपय अवस्थामा बैंकले सामाजिक सुरक्षा भत्ता लिनेलाई फिर्ता पठाउने गरेको र बैंकमा बस्ने ठाउँ समेत नभएकोले बैंकको सहकार्यमा बैंकका प्रतिनिधि र वडाका जनप्रतिनिधिको उपस्थितिमा घरघरमै सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरिएको हो ।
कोहलपुर नगरपालिका भित्रको सामाजिक सुरक्षा भत्ता यहि असोज १६ र १७ गते सम्म वितरण गरिसक्ने नगरउपप्रमुख सञ्जुकुमारी थारू बताउँछिन् ।
बाँकेको कोहलपुरमा रहेका ११ वटा बैंकले सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा सहकार्य गरिरहेका छन् ।