नेपालगन्ज: गत वर्ष असारमा सडक र नाला निर्माण गर्ने निहुँमा हटाईएको वसन्त मल्ल चोकको होर्डिङ्गबोर्ड पुनःस्थापित गरिएकोछ । उपमहानगरमा आरयुडिपी आयोजना अन्र्तगत सडक र नाला निर्माणका क्रममा ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सन प्रालिले उपमहानगरपालिकासँग समन्वय नै नगरेर उक्त बोर्ड उखलेको थियो ।
बोर्ड उखलेर अलपत्र पारेको एक वर्ष भन्दा बढि समयपछि कालिका निर्माण कम्पनीले मङ्गलबार सोही स्थानमा पुनः मल्लको बोर्ड जडान गरेको हो । ठेकेदार कम्पनी कालिकाले गत वर्ष असार महिनामा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ स्थित वसन्त मल्ल चोकको बोर्ड उखेलर फ्याकेको थियो ।
साविक पुरैना गाविस वडा नम्बर–२, निवासी स्वर्गीय वसन्त मल्लको २०६६ भाद्र २२ गते भूमिगत (तराई जनतान्त्रिक ज्वाला) समूहले अपहरण गरि हत्या गरेपछि उनको सम्मान स्वरूप गाविसको निर्णय अनुसार उक्त स्थानलाई चोकमा नामाकरण गरि बोर्ड राखिएको थियो ।
स्थानीयका अनुसार सडकको नाला खन्ने निहुँमा स्थानीय बासिन्दालाई सोधपुछ नगरि जबरजस्ती स्काभेटर लगाएर चोकको बोर्ड फ्याकेको थियो ।
सेतोखरीमा समाचार आएपछि अलपत्र अवस्थामा फ्याकेको एक वर्ष ३ महिनापछि ठेकेदार कम्पनी कालिकाले पुनः वसन्त मल्ल चोकको होर्डिङ्गबोर्ड जडान गरेको स्वर्गीय वसन्तकी आमा धनसरा मल्लले जानकारी दिइन् ।

उनले भनिन्–‘ढिलै भएपनि सडक तथा नाला निर्माणका क्रममा आफूखुसि नाला खनि बोर्ड हटाएको ठेकेदार कम्पनीले पुनः बोर्ड जडान गरेको हो ।’
यता ठेकेदार कालिका कन्स्ट्रक्सनका साईड इन्चार्ज सुरेश पाण्डेले काम गर्नेक्रममा भूलबस भएको गल्ती स्वीकारेकाछन् । उनले बोर्ड ढिलो जडान गर्नुमा आफुहरुको कुनै बदनियत नभई कार्य व्यस्ताताका कारण ढिलो भएको बताए ।
लामो समयसम्म बोर्ड विना वसन्त मल्ल चोक कुरुप देखिएको थियो । ठेकेदारको यस किसिमको कार्यप्रति स्थानीयबासी रूष्ट भएका थिए ।
थप समाचार