नेपालगन्ज: जर्मन सरकारको उच्चस्तरीय टोलीले बुधवार नेपालगन्ज उपमहानगरपालिकाका पदाधिकारीसँग भेटघाट गरेको छ ।
जर्मन सरकारको सङ्घीय मामिला तथा आर्थिक विकास मन्त्रालयका प्रमुख निर्देशक गिसेला हम्मरस्कमिटको नेतृत्वमा रहेको टोलीले उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर र प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलसँग उपमहानगरपालिकाले सञ्चालन गरिरहेका विभिन्न कार्यक्रममा बारेमा जानकारी लिएको छ ।
टोलीले नेपालगन्जमा थप कार्यक्रम संचालनका लागि सकारात्मक भएको जनाएको छ । टोली प्रमुख हम्मरस्कमिटले नेपालगन्जलाई जर्मन सरकारले प्राथमिकता दिएको बताउँदै नयाँ क्षेत्रमा समेत सहयोग गर्न सकिने बताए ।
जर्मन टोलीलाई स्वागत गर्दै मेयर राणाले नेपालगन्ज शिक्षा, स्वास्थ्य र आर्थिक विकासको क्षेत्रमा हब भएको भन्दै जर्मन सरकारबाट थप सहयोगको अपेक्षा राखिएको बताए ।
प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले नेपालगन्जलाई आगामी ५ वर्षभित्र मुलुककै उत्कृष्ट नगर बनाउने लक्ष्य राखिएको भन्दै लक्षित वर्गका लागि नेपालगन्जले गरेका कार्यहरु जर्मन टोलीलाई अवगत गराएका थिए ।