विचौलियाद्वारा यात्रुमाथि दुर्व्यवहार


विचौलियाद्वारा यात्रुमाथि दुर्व्यवहार

नेपालगन्ज : भारतबाट फर्किँदै गरेका नेपालीलाई तानातान गर्ने ११ जनालाई इलाका प्रहरी कार्यालय जमुनाहाले सीमा नाका जमुनाहाबाट बुधबार एकाविहानै नियन्त्रणमा लियो ।

नेपालगन्जका होटल व्यवयासीका विचौलियाले भारतबाट फर्किँदै गरेका नेपालीलाई तानातान गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
आफ्नो होटलमा ग्राहक ल्याउन भन्दै यहाँका होटल व्यवसायीले कमिसनमा एजेन्ट राखेर सीमा नाकामा भारतबाट फर्किँने नेपालीलाई दुख दिँदै आएका छन् । बसको टिकट मिलाइदिने र होटलमा लाग्ने खर्चमा छुट दिने भन्दै विचौलियाहरुले जमुनाहामा भारतबाट फर्किएका नेपालीहरुलाई दुख दिन थालेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी नायव निरीक्षक माधव रिजालले भने, ‘यसअघि धेरै पटक सम्झाईबुझाई गर्दा अटेरी गरेपछि नियन्त्रणमै लिनुपरेको छ । होटल व्यवसायीले एजेन्ट राखेर दशैं मनाउन भारतबाट फर्किएका नेपालीहरुलाई दुख दिन थालेपछि आज विहानै ६ बजे १० जनालाई नियन्त्रणमा लिएका छौं ।’

उनका अनुसार चाडपर्वका बेला नेपालगन्जका होटल व्यवसायीहरुले एजेण्ट राखेरै सीमामा नेपालीहरुलाई दुख दिने गरेका छन् । होटलहरुले कमिसनमा त्यस्ता एजेन्ट राखेर चाडपर्वका बेला नेपालीहरुलाई दुख दिने गरेका छन् । यस्ता अपराध र ठगी नियन्त्रण गर्न सबैतिर प्रहरी परिचालन गरिएको छ ।

एकाविहानै होटलबाट खटाइएका विचौलियाहरु जमुनाहामा पुग्ने र भारतबाट आएका नेपालीहरुलाई तानातान गर्न थालेपछि हैरानी व्यहोर्नुपरेको छ । आफ्नो होटलसम्म पुर्याउनका लागि विचौलियाहरुले भारतबाट फर्किँदै गरेका नेपालीहरुलाई तानातान गर्दै आजित बनाउने गरेका छन् ।
भारतबाट फर्किएका एक नेपालीले भने, ‘कुन होटलमा गएर बस्ने भन्ने हामीलाई थाहा हुँदाहुँदै होटलवालाहरुले तानेर सताउँछन् ।’

प्रहरी नायव निरीक्षक रिजालले भने, ‘भारतबाट मजदुरी गर्ने नेपालीहरु फर्किरहेका छन् । होटलबाट खटिएका व्यक्तिहरुले जमुनाहामै पुगेर अभद्र व्यवहार गरिरहेका छन् ।’ भारतबाट फर्किँदै गरेका नेपालीलाई आफ्ना होटलसम्म पु¥याउन विचौलियाबीच बाझाबाझ नै हुने गरेको प्रहरी नायव निरीक्षक रिजाल बताउँछन् ।

चाडपर्वकै बेला भारतबाट स्थलमार्ग हुँदै नेपाल भित्रिने नेपालीहरुलाई लुटिने र ठगिने समस्याबाट पीडित भइरहेकै बेला नेपाली भूमीमै यहाँका होटलवालाले थप दुख दिने गरेको भारतबाट फर्किँदै गरेका गुर्भाकोट नगरपालिका–३ सुर्खेतका धनबहादुर पुनले बताए ।

उनले भने, ‘नेपाल–भारत सीमानाका जमुनाहामा भने भारतबाट मजदुरी गरेर फर्किँदै गरेका नेपालीहरु यहाँका होटल व्यवसायीहरुबाट पीडित छन् ।’

यतिबेला दैनिक करिब ५०० नेपालीहरु भारतबाट दशैं मनाउन नेपाल फर्किरहेका छन् । भारतबाट आउने नेपालीहरु विहान र साँझको समयमा हुल बाँधेर आउने गरेका छन् ।

यही मौका छोपेर होटलका विचौलियाहरु एकाविहानै सीमा नाका जमुनाहामा पुगेर ग्राहक तानातान गर्ने गर्छन् । यस विषयमा होटल व्यवसायी संघ बाँकेले भने मौनता देखाउँदै यसलाई रोक्न कुनै सक्रियता देखाएको छैन ।

यहाँका होलटबाट ग्राहक तान्नकै लागि जमुनाहा पुग्ने विचौलियालाई प्रहरीले यसअघि लखेट्दै आएको थियो । होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कँडेलले नेपालगन्जका होटल व्यवसायीहरुलाई त्यसो नगर्न आग्रह गरिएको बताउँछन् । तर, व्यवसायीले यस्तो गैरकानूनी धन्दा गर्न छोडेका छैनन् ।

जमुनाहाबाट नियन्त्रणमा लिइएका ११ जनालाई सचेत गराएर बुधबार साँझ मात्रै छाडिएको बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक बीरबहादुर ओलीले बताए ।

‘नियन्त्रणमा लिएकाहरुलाई सम्झाईबुझाई गरि र आगामी दिनमा भन्सार र सीमा क्षेत्रमा यस्ता गतिविधि नगर्ने प्रतिवद्धता गर्न लगाएर बुधबार साँझ मात्रै छाडिएको एसपी ओली बताउँछन् ।

एकपटकलाई सम्झाइबुझाई त्यसो नगर्न प्रतिवद्धा जनाएर छाडेका छौं, पुनः सोही कार्यमा लागेको पाइएमा कानूनी कारबाही चलाउने एसपी आलीले बताए ।