File Photo
नेपालगन्ज : मुख्य चाडपर्वको समयमा बाँकेको नेपालगन्ज, कोहलपुर लगायतका बजार अनुगमन प्रभावकारी नहुँदा उपभोक्ता मारमा परेका छन् ।
खाद्यान्न, कपडा, तरकारी, रंगरोगनका सामग्रीको मूल्य अत्याधिक वृद्धि हुदाँ उपभोक्ता मारमा परेका हुन् । चाडपर्वमा किनमेलका लागि चहलपहल बढी हुने भएकाले व्यापारीले मनलाग्दी मूल्य तोकेर उपभोक्तालाई ठगिहेका छन् ।
तर, सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उपभोक्ता ठगिनबाट बचाउँ गर्ने निकायका रूपमा गठित सरकारी अनुगमन समिति मात्रै नभई उपभोक्ता हकहित संरक्षण समिति समेत उदासिन छ ।
सम्भावित कालोबजारी र मूल्यवृद्धि नियन्त्रणका लागि अनुगमनलाई तिव्रता दिएको सरकारी दाबी भएपनि बाँकेको हकमा सरकारी तथा गैरसरकारी वा स्थानीय निकायमा गठित अनुगमन समिति प्रभावकारी हुन सकेको देखिदैन् ।
बेमौसमी रूपमा कहिले काँही हुने अनुगमन अघिअघि र कालोबजारी तथा महंगी पछिपछि हिंडिरहेको अवस्था बाँकेका नेपालगन्ज, काहेलपुर लगायतका बजारमा छ । बजार अनुगमन गर्दा मूल्य सूची नराख्ने, बिल नदिने, खरिद बिल नदेखाउने, दर्ता नभइ सञ्चालन, म्याद नाघेका, बढि मूल्य तिर्नुपर्ने लगाएतका पसल भेटिने गरेका र उपभोक्ता दैनिक ठगिदै आएका प्रमाणहरु भेटिएका छन् ।
तर, पनि कार्वाही भने कसैमाथि हुन सकेको छैन । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन चाडपर्वका अवधिभर सक्रिय रहने अघिपछि समितिकै अत्तोपत्तो नहुने गरेको नागरिक समाजका अगुवा प्रकाश उपाध्याय बताउँछन् ।
गाउँका पसलबाट पनि उपभोक्ताहरु ठगिइरहेका छन् । महंगीका कारण दसैंको खुसियाली घरघरमा भित्रिन नसकेको उपभोक्ता स्मृति डिसी बताउँछिन् । निर्वाचित स्थानीय सरकार गठन भएको ३ वर्ष पुग्नै लाग्दा पनि अनुगमन गर्ने निकाय र अधिकार सहितको स्थानीय सरकार गठन भए पनि बजार अनुगमन हुन सकेको छैन ।
जसले गर्दा अहिले बजारमा दर्ता बिनानै पसल संचालन भईरहेका छन । व्यवसायीहरुले मनोमानी मूल्य निर्धारण गर्ने गरेको छन । चाडपर्वको समय नजिकिदै गर्दा अहिले हरेक सामानको मुल्य बृद्धि भएको उपभोक्ता दिपक बोहराले बताउँछन् ।
चाडपर्वलाई मध्नजर गरी नेपालगन्ज र केही गाउँपाकिलामा सामान्य बजार अनुगमन भइरहेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय बताउँछन् ।
नियमित बजार अनुगमनका लागि जिल्ला प्रसासन कार्यलयले योजना बनाईरहेको उनको भनाई छ । तर, यसअघिका अधिकांश योजना कागजमै सीमित रहेका छन् । अनुगमनले दुर्तरूप लिन सकेको छैन्।